Comments Add Comment

बुटवलमा एक वन एक पोखरी अभियान, सातवटा वनमा खनिए पोखरी

८ असार, बुटवल । पर्यावरण जोगाउन बुटवलमा ‘एक वन एक पोखरी निर्माण’ अभियान सुरु गरिएको छ । चुरे पहाड र यसको फेदीमा रहेका सामुदायिक वनहरुमा पोखरी निर्माण सुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

चुरे क्षेत्रमा पोखरी निर्माण गरी चुरेभन्दा तल्लो क्षेत्रको पानीको मूलमा सुधार ल्याउने उनको भनाइ छ । ‘वनमा निर्माण गरिएका पोखरीले वन्यजन्तु तथा पशुपन्छीका लागि पानीको आपूर्ति हुन्छ, त्यहाँबाट सिर्सिने पानीले जमिन मुनीको पानीलाई रिचार्ज गर्छ’ उनले भने ।

वातावरण जोगाउन र त्यो अभियानमा समुदायलाई पनि सरिक बनाउन वनहरुमा पोखरी निर्माणलाई अभियानकै रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

२० मध्ये सात सामुदायिक वनमा पोखरी निर्माण

बुटवलमा २० वटा सामुदायिक वन छन् । यीमध्ये हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण गरी सातवटा सामुदायिक वनमा पोखरी निर्माण भइसकेको छ ।

बाँकी वन क्षेत्रमा थप अध्ययनपछि अर्कोवर्ष पोखरी निर्माण गरिने उपमहानगरपालिकाको भनाइ छ । यी सबै वनमा पोखरी निर्माणका लागि उपमहानगरले चालु आर्थिक वर्षमा २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चुरे सामुदायिक वनका अध्यक्ष कमल केसीले चिडियाखोलाको माथि रहेको चिसापानी भन्ने ठाउँमा पोखरी निर्माण गरिएको बताए । यो ठाउँमा पानीको प्राकृतिक मूल छ । त्यहाँ १५ मिटर लम्बाई र १२ मिटर चौडाईको पोखरी खनिएको छ । यो ठाउँको तलतिर पानीका मुलहरु पनि छन् ।

यही पोखरीमा झण्डै एक किलोमिटर परबाट पाइपमार्फत पानी ल्याएर खन्याइएको उपभोक्ता सिमितिका सदस्य हरिप्रसाद भट्टराईले बताए । यस्तै चारपाला सामुदायिक वनको प्रगतिनगरदेखि पानी रहेको पुरानो नर्सरीमा पोखरी खनिएको छ । त्यहाँ वर्षातको पानी संकलन गर्ने लक्ष्य रहेको वनका अध्यक्ष रामबहादुर पुनको भनाइ छ ।

शिवनगर सामुदायिक वनको आँपखोलामा पोखरी खनिएको छ । त्यहाँ नजिकै रहेको पानीको प्राकृतिक मूललाई संरक्षण गर्दै पोखरीमा ल्याइने अध्यक्ष नारायणबाबु बस्नेतले बताए ।

वन क्षेत्रमा पोखरी निर्माण गरिनु पर्यावरणमैत्री कम भएको विज्ञहरु बताउँछन् । वातावरणविद् ईन्जिनियर डा. खेटराज दाहालले ‘एक वन एक पोखरी’ को नीति पर्यावरणमैत्री रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment