Comments Add Comment

९ लाई ६९ बनाएर त्रिविमा स्वर्णपदक, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

९ असार, काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको वैचारिक एवं कार्यदिशा बहस,  त्रिविभित्रको अनियमितता, अख्तियार दुरुपयोगलगायतका विषय आजका दैनिक पत्रिकाहरुकाे प्राथमिकतामा परेको छ ।

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति दिइएकोबारे नयाँ पत्रिकाले आज प्रमुख समाचार बनाएको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुरमार सिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिइएको हाे ।

नयाँ पत्रिका लेख्छ– साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भउका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयले मेयरको शनिश्चरेस्थित साढे दुईतले घरमा ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा केही झ्यालका सिसा फुटेका थिए ।’

समाचार अनुसार मेयर सिवाकोटीले घटनापछि जिल्ला प्रशासन कार्यालयमार्फत १ करोड ४ लाख बराबरको क्षतिको विवरण बनाएर सरकारसँग क्षतिपूर्ति मागेका थिए । नातिको खेलौना गाडीको क्षतिपूर्ति मूल्य मात्रै २४ हजार मागेका थिए । झापाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले करिब १ करोड उपलब्ध गराउनुपर्ने फाइल प्रधानमन्त्री कार्यालयमा पठाएपछि प्रक्रिया अघि बढेको समाचारमा उल्लेख छ ।

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार १ साउनदेखि लागू हुनेगरी प्रहरीको रासनभत्ता बढेको हो । यसका लागि सरकारले चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याएको समाचारमा उल्लेख छ ।

मनसुनसँगै गण्डकी प्रदेशका जिल्लामा सुरु भएको बाढी पहिरोको प्रकोप र व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग पुँजीगत लाभकर असुली नगर्न यसअघि गरेको अन्तरिम आदेश हटाएकोलाई कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ । यसबाहेक नेपालीको खुसी मापन गर्न लागिएको खबर पनि छ । आर्थिक वर्ष ०७६–७७ मा जनता कति खुसी छन् भनेर तथ्यांक विभागले सर्वेक्षण गर्न लागेको हो ।

आफैंले जाँच लिएर पत्नीलाई गाउँपालिकाका शिक्षा शाखा प्रमुखले जागिर खुवाएकोसम्बन्धी खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरामा मावि तहको शिक्षकमा नियुक्त गरेका हुन् । समाचारअनुसार शिक्षक छनोटका लागि उनले नै परीक्षा लिएका थिए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल दिलाएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ ।

स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएको सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर सर्वोत्कृष्ट बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।

पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई गोल्ड मेडल दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कर्मचारीको संलग्नतामा गम्भीर अनियमितता भएको पाइएपछि गोप्य शाखाका कर्मचारी र विद्यार्थीलाई पक्राउ गरेर अख्तियारले छानबिनको तयारी गरेको छ ।

अन्नपूर्णले ‘नेकपामा चर्कियो कार्यदिशा विवाद’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । पार्टी एकताको एक वर्षसम्म दस्तावेजदेखि कार्यदिशासम्ममा चुपचाप बसेर संगठनात्मक एकतामा माथापच्ची गरिरहेका नेता अहिले कार्यदिशामा मतभेद पोख्न थालेको समाचारको सार छ ।

त्यस्तै निर्वाचन आयोगले महँगोमा खरिद गरेको डिजिटल प्रिन्टिङ मेसिन बेकामे बनेकोदेखि सीमाको काम सुस्त बनेकासम्मका खबरलाई अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको खबर नागरिकमा छ । गोरखापत्रले लोक सेवाको विज्ञापन कानुनसम्मत भनेर लालबाबु पण्डितले व्यक्त गरेको भनाइलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरेको छ भने राजधानीले नापी विभागको बोलपत्र प्रक्रिया अनियमितताबारे उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment