Comments Add Comment

विराटनगर भन्सारबाट १ खर्ब ३६ अर्बको आयात, २१ अर्बको निर्यात

९ असार, विराटनगर । विराटनगर भन्सार कार्यालयमा आयात र निर्यातबीचको अन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यातबीचको अन्तर १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ नाघेको छ ।

विरानगरबाट २०७५ साउनदेखि २०७६ वैशाखसम्म भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३६ अर्ब ११ करोड रुपैयाँको मालबस्तु आयात भएको छ । तर यस अवधिमा २१ अर्ब २१ करोड १० लाख रुपैयाँको वस्तुमात्र निर्यात भएको छ ।

आयात र निर्यातबीचको अन्तर अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भन्दा करिब ३ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्ष सोही अवधिमा आयात र निर्यातबीचको अन्तर १ खर्ब ११ करोड रुपैयाँ थियो ।

कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले अघिल्लो आर्थिक बर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको सामान आयात भएको थियो । तर निर्यात भने १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको मात्र भएको थियो ।

आर्थिक बर्ष ०७३/०७४ मा आयात र निर्यातबीचको अन्तर ९५ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ थियो । त्यतिबेला आयात १ खर्ब १७ अर्ब २३ करोड २६ लाखको र निर्यात २१ अर्ब ५५ करोड ५८ लाख रुपैयाँको थियो ।

‘आफ्नो उत्पादन नहुदा ठूलो मात्रामा आयात गर्नुपर्ने हाम्रो बाध्यता छ,’,सूचना अधिकृत पौडेलले भने ‘विराटनगर नाकाबाट पनि निर्यातको तुलनामा आयातको मात्रा प्रत्येक वर्ष वृद्धि भएको देखिन्छ ।

कार्यालयका अनुसार भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ । विराटनगर नाकाबाट ५२ प्रतिशत खाद्यान्न, ६९प्रतिशत पेट्रोलियम पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात हुने गरेको छ ।

यहाँबाट पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस विलेट, सिमेन्ट,खानेतेल लगायतका वस्तुको आयात बढेको छ । औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ ।

उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा ब्याहोर्न मुलुक बाध्य भएको अर्थविज्ञ डा अर्जुन बरालले बताए ।

‘सरकारले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनलाई बढुवा दिन सकेमात्र पनि व्यापार घाटको दरमा कमी आउनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment