Comments Add Comment

भोटे कुकुरलाई २ लाख बजेट !

९ असार, पोखरा । अन्नपूर्ण गाउँपालिकाले भोटे कुकुर संरक्षण गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार छैंठौ गाउँ सभामा आर्थिक वर्ष ०७६/७७ का लागि १७ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ, जसमा कुकुर संरक्षणका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए ।

गाउँपालिकाले असार ४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत प्रमुखताका साथ भोटे (टिबेटिएन म्यास्टिफ) जातको कुकुरलाई संरक्षण गर्ने उल्लेख गरिएको थियो ।

भोटे कुकुर संरक्षण गर्न क्याम्प नै सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
गाउँपालिका अध्यक्ष कुँवरले अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भोटे कुकुर गाउँपालिकामा पनि घटिरहेको अवस्थामा आफूहरुले संरक्षण गर्ने नीति लिएको बताएका छन् ।

गाउँपालिकाभरि अनुमानित डेढसय भोटे जातका कुकुर रहेको उनले सुनाए । नीति तथा कार्यक्रम नै समावेश गरेर अहिले ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौं,’ उनले भने ।

गाउँपालिकाले कोदो महोत्सव गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोदो उत्पादन बढाउन गाउँपालिकाले अनुदान दिने र त्यसलाई गाउँपालिकाका होटल तथा रेस्टुरेन्टमा अनिवार्य मेनुमा राख्न लगाइने अध्यक्ष कुँवरले जनाए ।

‘कोदो उत्पाददन बढाउने र त्यसबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउन कोदो महोत्सवको आयोजना पनि गर्नेछौं,’ उनले भने । गाउँपालिकाले परम्परागत खाद्य पदार्थ सिन्की र गुन्द्रुकलाई विदेशमा निर्यात गर्न आवश्यक वातावरण तयार पार्नेसमेत योजना बनाएको छ । व्यवसायिक भेडाबाख्रा, भैंसी, चौंरी तथा नशल सुधार शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले अनुभव आदानप्रदान गर्न ५ लाख, तीज कार्यक्रम गर्न २ लाख, होली मनाउन १ लाख रुपैयाँ लगायत शीर्षकमा बजेट विनियोजन गरेको छ । बजेटमा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि २० लाख, मार्दी हिमाल पदमार्ग स्तरोन्नतिका लागि ५ लाख र कुरिलो उत्पादन विस्तारका लागि २ लाख विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment