News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको ब्रोड पिक हिमालमा बेपत्ता भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको मृत्युको खबरले उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना शोकमा डुबेको छ ।
- निर्मल पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ र उनको सम्मानमा शालिक निर्माण गर्ने घोषणा गरेको छ ।
- ब्रिटिश गोर्खा पूर्वसैनिक निर्मल पुर्जाले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
१७ साउन, दाना (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाएका छैनन् ।
एउटै आँगनमा खेलेको, सँगै जोडिएको घरमा जन्मिएका छामा(सानीमा)का छोरा (भाइ) निर्मल पुर्जा (निम्सदाइ) जब पाकिस्तानको हिमाल बेपत्ता भएको खबर उनको कानमा पर्यो । त्यसयता उनका आँखा रसाइरहेका छन् ।
खबर सुन्दा एकछिन त कमलालाई यो हल्ला होलाजस्तो लाग्यो । तर, विस्तारै गाउँभरि नै यही विषय फैलियो ।
फेसबुकभरि पनि पाकिस्तानको ब्रोड पिकमा निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको खबर फैलिएपछि भने कमलाको मनमा डरले डेरा जमायो । उनको मनभरि विगतका बाल्यकालका दिन खेल्नथाले ।

‘सुरुमा पत्यार लागेकै थिएन । संसारलाई चकित पार्दै हिमालहरूसँग साइनो गाँसेको मान्छे थियो उ । त्यति सजिलै यसो होला भन्ने मनले मान्दै मानेन,’ उनी सम्झन्छिन् ।
त्यसपछि उनले बेलायतमा रहेका निर्मलका माइला दाइ कमल पुर्जालाई सोधिन । ‘उहाँले निर्मलसहित आरोहण टोलीका सदस्यहरू बेपत्ता भएको भन्नुभयो । तर, साहसी र अनुभवी भएकाले सकुशल फर्किने आशा पनि देखाउनुभयो,’ उनी भन्छिन् ।
तर, सबैको आशालाई निराश पार्दै निर्मल पुर्जाको मृत्यु भएको पुष्टि भइसकेको छ । आइतबार उनको शव पनि फेला परिसकेको छ । निर्मलको मृत्युको खबर प्राप्त भएपछि उनका आफन्त, बाल्यकालका साथी, छिमेकीसँगै सिंगो दाना गाउँ नै शोकमा छ ।
दाना गाउँमा निर्मल जन्मिएको घर अहिले भत्किएर पर्खासहितको भग्नावशेष मात्र बाँकी छ । छेउमा कमलाले भटमास र तरकारी लगाएकी छन् ।
कमलाको घरको बार्दलीमा ‘पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान समारोह’ लेखिएको ब्यानर टाँसिएको छ । त्यो ब्यानर दुई वर्षदेखि त्यहाँ टाँसिएको छ ।
२०८१ फागुन २२ मा बेनीमा हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएको भन्दै निर्मल पुर्जालाई नागरिक अभिनन्दन गरिएको थियो । त्यही कार्यक्रममा सहभागी हुन कमला पनि पुगेकी थिइन । त्यहाँबाट अन्नपूर्ण गाउँपालिकाले बनाएको ब्यानर उनले लगेर आफ्नो घरमा टाँसेकी हुन् । ब्यानरका अक्षर खुइलिएका छन् । तर, तस्वीर भने बेनी–जोमसोम सडकबाटै प्रष्टै देखिन्छ ।

‘मुस्ताङ यात्रा गर्ने विश्वभरिका मान्छे ब्यानर देखेर मलाई उसका बारेमा सोध्न आउँछन्,’ उनी भन्छिन् । कमलाका अनुसार निर्मलको परिवार ४० वर्षअघि नै बसाइँ सरेर त्यहाँबाट चितवन गएको थियो ।
‘चितवनमै गएपनि पछि आउँदा निर्मल यहाँ पनि घर बनाउँछु भन्थ्यो । अहिले बनाउन नपाइ यस्तो भयो,’ उनी भन्छिन् ।
निर्मल ०७९ फागुन २२ गते निर्मल जन्मथलो दाना आएका थिए । कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमाल आरोहणका लागि लैजाँदा दुई रात दानामा बिताएका थिए । सँगै आफ्नो भत्केको पुर्ख्यौली घर, जग्गा जमिन पनि हेरेका थिए । त्यही बेला दाजुभाइ मिलेर मौलिक शैलीको घर बनाउने योजना पनि सुनाएको कमला स्मरण गर्छिन् ।
त्यो बेला उनले स्थानीय जनप्रतिनिधी, आफन्त, गाउँका अगुवा र छिमेकीहरूसँग लामै कुराकानी गरेका थिए । त्यही बेला उनले म्याग्दी र गण्डकीका हिमाललाई विश्वमा चिनाउने योजना पनि गाउँलेलाई सुनाएका थिए ।
निम्सको बाल्यकाल र साहस
बाल्यकालदेखि नै पहाडको उकालो–ओरालोमा दौडिन रुचाउने निर्मलले सहासी र चलाख थिए ।
‘झिमरीको गोलामा हात हालेर झिक्ने र टोक्दा पनि नरोइ सहेर बस्ने निर्मलको आनीबानी देखेर हामीलाई अनौठो लाग्थ्यो,’ कमला सम्झन्छिन्, ‘रोक्दारोक्दै अक्करे भीरमा दौडन खोज्ने जिद्धी थियो ।’ आफूले सोचेको काम जसरी पनि पूरा गरिछाड्ने स्वाभाव रहेको उनी सुनाउँछिन् । कमलाका अनुसार निर्मल बाल्यकालमा कालीगण्डकी नदीमा र रुप्से खोलामा गंगटा खोज्न रुचाउँथे ।
निर्मलको जन्म २०३९ साउनको ९ गते भएको हो । उनका बुवा नन्दबहादुर भारतीय गोरखा सौनिक थिए । निर्मलका बुबा नन्दबहादुरको तीन वर्षअघि र आमा पूर्णकुमारीको केही वर्षअघि निधन भएको थियो ।

निर्मलको परिवार २०४८ मा चितवनमा बसाइँसरेको थियो । तर, दानामा रहेको पुर्ख्यौली जग्गाजमिन भने बेचेका छैनन् ।
निर्मल नन्दबहादुर र पूर्णकुमारीका कान्छा छोरा हुन् । उनका जेठा दाजु जंगबहादुरका परिवार चितवन र बेलायती पूर्वगोर्खा सैनिक रहेका साइला दाजु कमलबहादुर पुर्जाका परिवार बेलायतमै बस्छन् ।
दानाकै ज्ञानप्रकाश माविका पूर्वशिक्षक रहेका माइला दाजु जितबहादुर पनि एक दशकयता चितवनमै बसोबास गर्दैआएका छन् । उनीहरूकी एकमात्र बहिनी अनिताको परिवार पनि चितवनमै छ ।
निर्मलले २०८० कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवासीय नेपाली नागरिकता लिएका थिए ।
बेलायती पूर्वगोर्खा सैनिक रहेका निर्मलकी पत्नी सूची र एक छोरी बेलायतमै बस्छन् ।
हिमाल आरोहणका व्यस्त हुने निर्मल धौलागिरि र अन्नपूर्ण हिमालमा आउजाउ गर्ने क्रममा कहिलेकाहीँ हेलिकप्टरमै दाना आउँथे । उनका दाजुहरू पनि बेलाबेला दाना आउजाउ गरिरहने निर्मलका बाल्यकालका साथीसमेत रहेका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए ।
विद्यालयमा अक्षयकोष, हिमाल ब्रान्डिङ गर्ने धोको
निर्मलमा जन्मेको स्थान पूर्खाहरूको रोजाइँ थियो । आफ्नो पुर्खाको थलोमा केही न केही योगदान गर्ने हुटहुटी उनमा पनि देखिन्थ्यो । गण्डकीका ८ हजार मिटरमाथिका तीन वटा हिमाललाई विश्वमा चिनाउने उनको धोको थियो ।
अन्नपूर्ण प्रथम सन् १९५० मा मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेका थिए । उनैले लेखेको अन्नपूर्ण किताबले नेपाललाई विश्वमा चिनाउन सहयोग पुर्याएको थियो । यद्यपि त्यो हिमाल अझैँ पछाडि परेको निर्मलको अनुभूति थियो ।

धौलागिरि र मनास्लु हिमाल गण्डकीकै सीमाभित्र पर्छन् । संसारमा दुई देशलाई नछोएको बिरलै हिमाल छन् । तर, अन्नपूर्ण, धौलागिरि र मनास्लु भने यस्ता ८ हजार मिटरभन्दा अग्ला हिमाल हुन् जो नेपालको मात्र भूगोलभित्र पर्छन् । ती हिमालको प्रवर्द्धन गरेर गण्डकीको विकासमा योगदान पुर्याउने उनको चाहना थियो ।
निम्सले त्यसबाहेक निम्स फाउन्डेसन बनाएर दानामा विभिन्न क्षेत्रमा योगदान गरिरहेका थिए । दानाको स्वास्थ्य र शिक्षामा उनको योगदान थियो ।
तीन वर्षअघि निर्मलले घोषणा गरेको ४० लाखको अक्षयकोषबाट ज्ञानप्रकाश नमुना माविका कक्षा ८, १० र १२ मा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार पाउन थालेका छन् । दानाकै अन्य चार आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध हुँदैआएको छ ।
प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार निर्मलका दाजु कमलबहादुरको उपस्थितिमा हरेक वर्ष कक्षा ८ प्रथम हुनेलाई ५० हजार, एसईईमा प्रथम हुनेलाई ८० हजार र कक्षा १२ मा प्रथम हुनेलाई एक लाख रुपैयाँका दरले पुरस्कार वितरण हुन्छ ।
वडाध्यक्ष पुर्जासँग निर्मलले गतवर्ष म्याग्दीको अन्नपूर्ण आधार शिविरमा भरियालाई आश्रयस्थल बनाइदिने योजना सुनाएका थिए ।
‘पहिला धेरैले सुविधा पाउने ठाउँमा काम गर्नुपर्छ भावनाअनुसार सोलुखुम्बुमा पोर्टर सेल्टर बनाउनुभएको रहेछ,’ वडा अध्यक्ष पुर्जाले भने ‘अब यहाँ बनाउने भन्नुभएको थियो । तर, काम गर्न नपाउँदै बिदा हुनुभयो ।’
अन्नपूर्णमा शोक बिदा, शालिक बनाइने
निर्मलसहितका मृतकको निधनप्रति अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्यण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शोक वक्तवय जारी गरेर निर्मललगायत दिवंगत पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अध्यक्ष पुनले निर्मलको सम्मानमा शालिक बनाउने पनि घोषणा गरेका छन् । निर्मलको शवको दाहसंस्कार जन्मथलोमा नभएपनि अस्तु ल्याएर सेलाउन परिवारलाई दानाबासीको सुझाव छ ।
स्पेसल फोर्स हुँदै कीर्तिमानी आरोही
निर्मल १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका थिए । २००९ मा बेलायतको स्पेसल बोट सर्भिस(एसबीएस) विशेष फौजमा आबद्ध भए । उनलाई सन् २०१८ मा बेलायतकी रानी एलिजाबेथले एमबीई प्रदान गरेकी थिइन् ।
ब्रिटिश सेनामा १६ वर्ष सेवा गरेपछि पर्वतारोहणमा रहेको रुचिलाई उपयोग गर्न उनले जागिर छाडेका थिए ।
उसो त उनी जागिरमा रहँदै पनि पर्वतारोहण गर्न लागिसकेका थिए । सन् २०१२ मा उनी सगरमाथा आधार शिविर पुगेका थिए । त्यही बेला पर्वतारोहण सिक्न ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरेका थिए, जुन उनको पहिलो हिमाल आरोहण थियो ।

यसपटक पाकिस्तानको ब्रोड पिक सफल आरोहण गरेको भए बिना अक्सिजन विश्वका १४ आठ हजार मिटर माथिका हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमान बन्थ्यो ।
त्यसका लागि उनले आरोहण सुरु गर्नुअघि ब्रोड पिकसँग सुरक्षित माथि पुगेर फर्किनसक्ने शक्ति मागेका थिए ।
‘म ब्रड पिकसँग सुरक्षित रूपमा माथि पुगेर फर्किन सकूँ भन्ने बाहेक केही माग्दिनँ,’ उनले ब्रड पिकको आधार शिविरमा पुगेर लेखेका थिए ‘कुनै पनि हिमाललाई म कहिल्यै सामान्य ठान्दिनँ ।’
उनले यसअघि जुलाई २१ मा ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेका थिए । त्यो उनको ८ हजार मिटरभन्दा अग्ला हिमालको ५७ औँ सफल आरोहण थियो ।
निर्मलले आरोहणमा बनाएका कीर्तिमान
सन् २०१९ मा निर्मलले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठहजार माथि उचाइ भएका हिमाल ६ महिना ६ दिनमा आरोहण गरे ।
त्यसबेलासम्मको कीर्तिमान करिब आठ वर्षको थियो । उनको यो कीर्तिमान पछि सन् २०२३ मा नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा सबै १४ हिमाल आरोहण गर्दै तोडेकी थिइन् ।
जन्मथलोमा रहेको अन्नपूर्ण हिमालबाट सुरु भएको निर्मलको ‘प्रोजेक्ट पोसिबल’ यात्रामाथि आधारित ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्रीले विश्वव्यापी चर्चा पाएको थियो । १४ हिमाल आरोहण अभियान सञ्चालन गर्न उनले आफ्नै घर पुन: धितो राखेर रकम जुटाएका थिए ।
‘प्रोजेक्ट पोसिबल’पछि उनी विश्वव्यापी रूपमा चर्चित बने । त्यसपछि उनले आफ्नै पर्वतारोहण कम्पनी र आउटडोर पोसाक ब्रान्ड स्थापना गरे ।
साथै विदेशी आरोहीलाई शिखरसम्म पुर्याउन ठूलो योगदान दिने नेपाली शेर्पा र पर्वत मार्गदर्शकहरूको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान दिनुपर्ने आवाज पनि उठाउँदै आएका थिए ।
प्रतिक्रिया 4