+
+
Shares

विप्लवका सारथी बैंक र सुनचाँदी पसल लुटेरा !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते २०:०१

९ असार, विराटनगर । आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्‍यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए ।

विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपोखरी गाउँपालिका– ६ स्थित कंशको घरमा थिए । कंशसँगै को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा बेलवारी–३ स्कुलडाँडामा चन्दा उठाउन आएका राई पक्राउ परेका हुन् ।

२०६५ वैशाख २२ गते दिउँसै दमकस्थित लक्ष्मी बैंकबाट ७८ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न धिमाल २०६६ चैत पहिलो साता उर्लाबारी–७ का राम थापाको सुनचाँदी पसलबाट करिब ५० लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न थिए । दुई मुद्दामा दोषी ठहर भएका धिमालले सात वर्ष जेल जीवन बिताएर बाहिर निस्किएका थिए ।

कंशको अपराधिक पृष्ठभूमि लामो छ । सामुदायिक वनमा धम्की दिएर चन्दा असुली, अपहरण, डकैतीजस्ता घटनामा संलग्न धिमालले विप्लव समूहमा प्रवेश गरेपछि असुलीलाई तिब्र बनाएका थिए ।

२०६७ सालमा दुईवटा लुटपाटको घटनामा संलग्न धिमाल दुई वर्ष अघि जेलबाट छुटेका थिए । जेलबाट निस्किएका उनले आफ्नो बानी सुधारेनन् । विप्लव समूहका जिल्ला तहका नेतासँग उठबस भएपछि उनले आफ्नो ठगी धन्दा बढाए ।

पूर्वी मोरङका सामुदायिक बन, पसल र व्यक्तिसँग चन्दा उठाउन सक्रिय रहेका धिमालले चन्दा दिन इन्कार गरे हतियार देखाएर धम्की समेत दिने गरेको प्रहरी स्रोत बताउँछ ।

मोरङका प्रहरी प्रमुख विश्व अधिकारी विप्लव समूहका नेताले धिमाललाई चन्दा संकलन गर्न प्रयोग गरेको बताउँछन् । दुई थान हतियार ४ थान म्यागजिन र दुई थान अटोमेटिक पेस्तोल घरमा लुकाएका धिमालको अपराधको साम्राज्य फैलदै गएको प्रहरी निश्कर्ष छ ।

इमान्दार देखिन धिमाल हतियार देखाएर मानिसलाई तर्साउने व्यक्ति रहेको प्रहरी बताउँछन् । हतियारसहित पक्राउ परेकाले उनलाई तत्कालका लागि हातहतियार मुद्दामा म्याद थप गरेको प्रहरीले धिमालका अन्य गतिबिधिको पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अपराधिक पृष्ठभूमिको खोजी गरिरहेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले अन्य अपराधिक घटनाको पनि अनुसन्धान गर्ने बताए ।

अपराधिक पृष्ठभूमिबाट आएका धिमाल विप्लव समूहमा लागेपछि राजनीतिक आस्थाको बन्दी बनेका छन् । तर प्रहरी उपरीक्षक अधिकारी धिमाल विप्लव समूहका कार्यकर्ता भन्दापनि अपराधिक प्रवृद्धिका व्यक्ति भएकाले आस्थाको बन्दी भन्न नमिल्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?