Comments Add Comment

मन्थली नगरपालिकाको बजेट ६८ करोड ५३ लाख, रामेछापको ६४ करोड २६ लाख

Photo Credit : फेसबुक/रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्का बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

११ असार, रामेछाप । रामेछापका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले कृषि, पशुपालन तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/७७ को लागि ६८ करोड ५३ लाख ८६ हजारको बजेट ल्याएको छ । नगर कार्यपालिकाको बैठकले उक्त बजेट र नीति तथा कार्यक्रम पारित गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले जानकारी दिए । मन्थली नगरपालिकाको आगामी असार १६ गते पाँचौ नगरसभा एवं बजेट अधिवेशन हुने नगरप्रमुख बस्नेतले बताए ।

यस्तै रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ६४ करोड २६ लाख ७३ हजारको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार भएको नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले प्रस्तुत गरेकी हुन् । नगरपालिकाले यस बर्ष सुनकोशी र लिखु नदी किनारको सिँचाइयोग्य ठाउँमा लिफ्ट सिँचाइको लागि बजेट विनियोजन गरेको छ ।

प्रत्येक वडामा माटो परीक्षणका लागि मोबाइल माटो परीक्षण प्रयोगशालाको व्यवस्था गरी मौसमी तथा बेमौसमी तरकारी बालीका लागि कीटनाशक औषधीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने भएको छ ।

खाँडादेवी गाउँपालिकाले ६१ करोड २६ लाख ११ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सो गाउँपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा कृषि र पशुपंक्षी परेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँसभामा प्रस्तुत गरेको कार्यक्रमको दोस्रो प्राथमिकतामा पर्यटन परेको छ भने त्यस पछि क्रमशः शिक्षा, स्वास्थ्य र सफाइ, खानेपानी  लगायतका कार्यक्रमहरु परेका छन् ।

रामेछापको सबैभन्दा उत्तरी क्षेत्रमा रहेको उमाकुण्ड र त्योसँगै जोडिएको गोकुलगंगा गाउँपालिकाले पनि कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । जलश्रोतको पनि धनी गाउँपालिका भएकाले जलश्रोत र जडीबुटीलाई पनि प्राथमिकतामा राखि कार्यक्रम ल्याइएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए । सो गाउँपालिकाको बजेट ५२ करोड रुपैयाँ रहेको छ ।

पर्यटन र कृषि विकासको मूल आधार भएकाले त्यसमै आधारित नीति तथा कार्यक्रम ल्याएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । त्यसपछि शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार पनि त्यतिकै प्राथमिकतामा रहेको उनले बताए ।

जिल्लाको पश्चिमी भागका दोरम्बा र सुनापति गाउँपालिकाले पनि कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएका छन् । यस बाहेक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण अन्य प्राथमिकताका क्षेत्रको रुपमा रहेका छन् । कृषि क्षेत्रको विकास र व्यवसायीकरण पहिलो प्राथमिकतमा रहेको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।

लिखु तामाकोसी गाउँपालिको पनि प्रमुख क्षेत्र कृषि नै रहेको छ । त्यसपछि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, जलस्रोत लगायतका क्षेत्र प्राथमिकतामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment