+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

काठमाडौं उपत्यकालाई ‘खतरा सूची’मा राख्ने युनेस्कोको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते २१:५२

११ असार, काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

यूनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । युनेस्कोले तीन वर्ष अघि पनि काठमडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो तर स्वीकृत भएन ।

यूनेस्कोको ४३ औं सेसनका लागि तयार पारिएको एजेण्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो । यूनेस्कोको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दैछ ।

काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज सूचिकृत छन् । ती सम्पदामाथि भने प्रश्न उठाइएको छैन । यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत हुने सम्पदाले विश्व पर्यटन बजारमा पहिचान स्थापित गर्छ । यूनेस्कोबाट प्राप्त हुने सहयोग पनि महत्वपूर्ण रहन्छ ।

तर, एक पटक खतराको सूचिमा सूचिकृत भएपछि भने निस्किन मुस्किल पर्छ । भूकम्पपछि सम्पदा संरक्षणमा नेपालले उल्लेख प्रगति गर्न सकेको छैन । पुनर्निर्माणको गति सुस्त छ । पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्दै आएको छ । अहिले विश्वका १६७ मुलुकका १ हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचिमा सूचिकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचिमा परेका छन् ।

सन् २०१९ का लागि नेपालका काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानीया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने प्रस्ताव जाँदैछ । दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव यस सेसनमा जाँदैछ ।

नेपालको तयारी के छ ?

युनेस्कोको ४३ औं सेसनमा भाग लिन नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बाकु जाँदैछ ।

प्रतिनिधिमण्डलमा पुरातत्व विभागका महानिर्देशक तथा मन्त्रालयको संस्कृति महाशाखाका उपसचिव सहभागी हुनेछन् । ‘यस पटकको बैठक नेपालका लागि निकै महत्वपूर्ण छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले भने, ‘हामी खतराको सूचीबाट उम्कने प्रयास गर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?