Comments Add Comment

काठमाडौं उपत्यकालाई ‘खतरा सूची’मा राख्ने युनेस्कोको प्रस्ताव

११ असार, काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

यूनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । युनेस्कोले तीन वर्ष अघि पनि काठमडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो तर स्वीकृत भएन ।

यूनेस्कोको ४३ औं सेसनका लागि तयार पारिएको एजेण्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो । यूनेस्कोको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दैछ ।

काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज सूचिकृत छन् । ती सम्पदामाथि भने प्रश्न उठाइएको छैन । यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत हुने सम्पदाले विश्व पर्यटन बजारमा पहिचान स्थापित गर्छ । यूनेस्कोबाट प्राप्त हुने सहयोग पनि महत्वपूर्ण रहन्छ ।

तर, एक पटक खतराको सूचिमा सूचिकृत भएपछि भने निस्किन मुस्किल पर्छ । भूकम्पपछि सम्पदा संरक्षणमा नेपालले उल्लेख प्रगति गर्न सकेको छैन । पुनर्निर्माणको गति सुस्त छ । पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्दै आएको छ । अहिले विश्वका १६७ मुलुकका १ हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचिमा सूचिकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचिमा परेका छन् ।

सन् २०१९ का लागि नेपालका काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानीया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका छन् । यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने प्रस्ताव जाँदैछ । दुई वटा सम्पदा भने खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गरिएको छ । भारतको जयपुर सीटीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव यस सेसनमा जाँदैछ ।

नेपालको तयारी के छ ?

युनेस्कोको ४३ औं सेसनमा भाग लिन नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बाकु जाँदैछ ।

प्रतिनिधिमण्डलमा पुरातत्व विभागका महानिर्देशक तथा मन्त्रालयको संस्कृति महाशाखाका उपसचिव सहभागी हुनेछन् । ‘यस पटकको बैठक नेपालका लागि निकै महत्वपूर्ण छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले भने, ‘हामी खतराको सूचीबाट उम्कने प्रयास गर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment