 
															१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए ।
गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकलाई निर्देशन दिएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
‘गभर्नर सापले २७ गते अगाडि नै मर्जरका लागि साथी खोज्न बैंकहरुलाई भन्नुभएको छ’ अनलाइनखबरसँगको कुराकानीमा प्रवक्ता निरौलाले भने, ‘१५ दिनभित्र कुन–कुन बैंक कोसँग मर्ज हुने आफैं निर्णय गरेर आउनुहुनेछ ।’
डेपुटी गभर्नर झन् आक्रामक
छलफल कार्यक्रमबाट गर्भरन नेपाल चाँडै बाहिरिएपछि डेपुटी गभर्नर बैंकहरुप्रति झन् कडा रुपमा प्रस्तुत भए । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक साताभित्रै मर्जरका लागि साथी खोज्न बैंकहरुलाई दबाब दिए ।
‘डेपुटी गभर्नरले एक हप्ताभित्रै पार्टनर खोज्नुस् भन्नुभयो’ बैठकमा सहभागी एक वाणिज्य बैंकका अध्यक्षले भने, ‘भन्नलाई मात्रै भन्नुभयो, एक हप्तामा सम्भव हुने कुरा नै होइन ।’
भए सहमति, नत्र जर्बजस्ती
बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनका लागि ३ वर्षअघि गभर्नर नेपालले पुँजी वृद्धिको अस्त्र प्रहार गरेका थिए । तीन गुणासम्म चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएर मर्जरका लागि बाध्य पारेको भन्दै बैंकहरु गभर्नर नेपालसँग चिढिएका थिए । तर नेपाल आफ्नो निर्णयबाट पछि हटेनन्, कार्यान्वयन गराइ छाडे ।
पुँजी वृद्धिको अस्त्रले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमाथि गतिलो प्रहार भयो । जसको फलस्वरुप ६ दर्जन भन्दा बढी रहेका विकास बैंक ३० हाराहारीमा आइपुगेका छन् भने फाइनान्स कम्पनीको संख्या १९ मा झरेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार आगामी वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गर्ने नीति लिने बिहीबारको छलफलले प्रष्ट हुन्छ । सकेसम्म बैंक आफै मर्जरमा जाउन् भन्ने राष्ट्र बैंकको चाहना भएको तर मर्जरमा नगए जर्बजस्ती (फोर्स मर्जर) को नीति लिने राष्ट्र बैंक स्रोतले बताएको छ ।
गभर्नर नेपालले बैंकको संख्या अत्यधिक भएको भन्दै कम्तीमा पनि ३/४ वटासम्म बैंक मर्ज हुनुपर्ने धारणा यसअघि सार्वजनिक कार्यक्रममा नै राखेका थिए । यसरी मर्ज भए कर्जा लगानीमा समस्या नहुने गभर्नर नेपाल बताउँछन् ।
बैंकले निर्देशन नटेरे के हुन्छ ?
गभर्नर नेपालले मौद्रिक नीति अगावै अर्थात असार २६ गते सम्ममा मर्जरमा जाने साथी खोजेर राष्ट्र बैंकलाई जानकारी दिन भनेका छन् । डेपुटी गभर्नर शिवाकोटीका अनुसार त बैंकहरुले एक हप्तामै मर्जरमा जाने साथी खोज्नुपर्छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार १५ दिनभित्र बैंकले मर्जरमा जाने साथी खोज्नैपर्छ । ‘नियमनकारी निकायले दिएको निर्देशन बेवास्ता गर्ने छुट कसैलाई छैन’ उनले भने ।
नमानेमा राष्ट्र बैंकले कारबाही गर्न सक्ने उनले बताए । ‘जनताको निक्षेप उठाएर चल्ने बैंकहरुले सरकारको नीति नियम मान्नैपर्ने हुन्छ’ प्रवक्ता निरौलाले भने, ‘यदि नमानेको खण्डमा एक्सन त लिनु परिहाल्यो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4