+
+
Shares

प्रदेश ५ मा २५ हजार मेट्रिक टन डीएपी मल अभाव

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १८:४५

१५ असार, बुटवल । असार १५ का दिन देशभरि १६औं राष्ट्रिय धान दिवस र रोपाईं महोत्सवका कार्यक्रम चलिरहेका छन् । मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले खेतमा पसेर हंसिलो मुद्रामा धान रोपेका हिलाम्य तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । तर, खेती गर्ने वास्तविक किसान भने वर्षभरिको मुख्य खाद्यान्न बाली लगाउने बेला मलको अभावले पिरोलिएका छन् ।

देशमा मल उत्पादन नहुँदा देशभरका किसान भारतबाट आयात हुने डीएपी र युरिया मलमा आश्रित छन् । धान रोप्ने बेला अहिले किसानले युरिया मल पाएपनि डीएपी मल पाउन सकेका छैनन् ।

धान रोपाईका बेला डीएपी मलको माग बढी हुने गर्छ । डीएपी मल किसानलाई मल वितरण गर्ने कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङमा डीएपी मल छैन । सीमा क्षेत्रका केही किसानले भारतबाट जसोतसो कमसल मल महंगो मूल्यमा किनेर धान रोपाईं गरे पनि अधिकांश किसानले मल पाएका छैनन् । ‘मल आउला र धान रोपौंला भनेर पर्खेर बस्यौं,अहिले असारभरि मल आउँदैन भन्छन्,’ रुपन्देहीको मर्चवारका किसान देवेन्द्र पाण्डेले भने, ‘अब मलविनै रोप्नुपर्ने भयो ।’

यस्तो समस्या देवेन्द्रको मात्र हैन प्रदेश ५ का १२ वटै जिल्लाका धान खेती गर्ने किसानको साझा समस्या हो । ‘खेती गर्ने बेला जहिल्यै मल पाइन्न,सरकारले कृषिप्रधान देश भनेर थाक्दैन,’ रुपन्देही तिलोत्तमाका कृषक हरि पाण्डेले भने, ‘अहिलेको मात्रै समस्या भए त हुन्थ्यो,वर्षौं हुँदासम्म पनि कुनै सरकारले किसानलाई बेलैमा मल दिन सकेनन्, जब असार १५ आउँछ,नेताहरु खेतमा आएर हांस्दै फोटो खिचेर जिम्मेवारी पूरा भएको ठान्छन् ।’

कृषि सामग्री केन्द्र भैरहवाका शाखा अधिकृत गणेश घिमिरेले सरकारले मलका लागि न्यून वजेट छुट्टाउंदा मल अभाव भएको बताउँछन् । घिमिरेका अनुसार देशभर ५ देखि ६ लाख मेटि्रक टन मलको माग रहेकामा सरकारले साढे २ लाख टन मल किन्न पुग्ने वजेट मात्र छुट्टाउने गरेकाले वजेट अभावमा माग अनुसारको मल खरिद हुन नसकेको हो ।

सरकारले दिने अनुदानबाट कृषि सामग्री केन्द्रले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरिद गरेर किसानलाई वितरण गर्दै आएका छन् । सरकारले छुट्टाएको वजेटले माग अनुसारको परिमाणमा मल किन्न नपुगेपछि अर्थ मन्त्रालयले जेठ अन्तिमतिर थप वजेट व्यवस्था गरेपनि निकासा भइ केन्द्रमा आइनसकेको घिमिरेले बताए । ‘टेण्डर प्रकृयाबाट मल खरिद गर्दा झण्डै पांच महिना लाग्छ,सरकारी तहबाट गर्दा पनि अहिले भारतमै माग बढेकाले असारभित्र मल आउने सम्भावना देखिन्न,’ घिमिरेले भने, ‘एकातिर मनसुनी वर्षा भएको छैन, अर्कोतिर मलको उस्तै अभाव छ, यसले गर्दा यो वर्ष धान उत्पादन घट्ने देखियो ।’

रुपन्देहीलाई मात्र ५ हजार मेट्रिक टन र प्रदेश ५ का १२ जिल्लाका लागि कम्तीमा २५ हजार मेट्रिक टन मलको अभाव खड्किएको घिमिरेले बताए । प्रदेश ५ का सबै जिल्लाका लागि भैरहवाबाट मल वितरण हुने गर्छ ।

केन्द्रका अनुसार प्रदेशका करिब ४० प्रतिशत किसानले अनुदानको मल पाएका छैनन् । प्रदेश ५को मुख्य खाद्यान्न बाली धान हो । ३ लाख ५५ हजार ९ सय ५८ हेक्टरमा खेती हुँदा १३ लाख ८३ हजार ९ सय ५१ मेट्रिक टन धान उत्पादन हुन्छ ।

वर्षे धान ३ लाख ५१ हजार ९ सय ८८ हेक्टरमा खेती हुँदा १३ लाख ९९ हजार एक सय ३४ मेट्रिक टन उत्पादन हुन्छ ।

प्रदेश नम्बर ५ ले नेपालको कुल क्षेत्रफलको १७.९१ प्रतिशत धान उत्पादनको क्षेत्रफल ओगटेको छ । धान उत्पादमा प्रदेश नम्बर ५ ले १८.२६ प्रतिशत उत्पादन गर्छ । तुलनात्मक रुपमा नेपालको भन्दा प्रदेश ५ को धानको उत्पादकत्व बढी रहेको तथ्याङ्कले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?