+
+

आइफा अवार्डलाई एक रुपैयाँ दिइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

बालाजुको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ

विजय आवाज विजय आवाज
२०७६ असार १६ गते १४:४२

१६ असार, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

मन्त्री बाँस्कोटा बोल्नुअघि मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष यादव खरेलले सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाएका थिए । मन्त्री बाँस्काटोले ठट्यौली पारामा भने, ‘हुँदाहुँदै यादव खरेलजस्तो सिनियर कलाकारलाई पनि भड्काएछन्,।’ बाँस्कोटाले भोलिका दिनमा हलिउडले पनि अवार्ड गर्छु भन्यो भने गर् भन्नुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले अगाडि भने, ‘सरकारले सन् ०२० मा भिजिट नेपाल मनाउँदैछ, यसको पनि पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि हामीले मिडिया समिट पनि गर्दैछाैं । यसका लागि २०/३० करोड खर्च गर्दैछाैं । भोलि नेपालका पत्रकारलाई १० करोड नदिने, विदेशी पत्रकारलाई २०/३० करोड रुपैयाँ दिने भनेर विरोध होला !’

चलचित्र विकास कम्पनीको जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ

मन्त्री बाँस्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खोइ भनेर प्रश्न गर्दै जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए । मन्त्री बास्कोटाले भने- ‘बालाजुको जग्गा खोई ? जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ?’

मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘त्यो जग्गा खोई ? त्यो जग्गा कसले खायो ? त्यो जग्गा खानेलाई कारवाही गर्ने कि नगर्ने ? सरकारले त्यसै काठमाण्डौमा अत्याधुनिक स्टुडियो बनाउने भनेको होइन । सरकारले काम गर्न त आँटिरहेको छ त ।’

मन्त्री बाँस्कोटाले जग्गा खानेलाई पहिले घिसारेर अगाडि ल्याउने अनि स्टुडियो बनाउने बताए । आधा घन्टा लामो मन्तव्य राखेका मन्त्री बाँस्कोटाले राष्ट्रिय चलचित्र नीति ०७१ पारित गर्ने प्रतिवद्धतासमेत जनाए । उनले चलचित्रकर्मीलाई यो बिषयमा छलफल गर्न आउन आग्रह गरे । मन्त्री बाँस्कोटाले साउनदेखि बक्स अफिस देशभरि पूर्णरुपमा लागू हुने स्पष्ट पारे । साथै नेपाली चलचित्रको विकासका लागि सरकारले सधंै काम गर्ने बताए ।

क्लिन फिड जसरी पनि लागू हुन्छ

मन्त्री बाँस्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने बताए । ‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ,’ बाँस्कोटाले भने, हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’

मन्त्री बाँस्कोटाले कुनै पनि काम गर्दा विरोध आउनु स्वभाविक नै भएको बताउँदै क्लिन फिड लागू हुँदा नेपाली चलचित्रलाई पनि फाइदा बाँस्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?