Comments Add Comment

स्थानीय तहको विज्ञापनमा ४ लाख १८ हजार ४७ आवेदन, आज अन्तिम म्याद

१७ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ ।

आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका छन् ।

आयोगले गत जेठ १५ मा स्थानीय तहका प्राविधिक र अप्राविधिक पदहरुमा ९१६१ कर्मचारी माग गर्दै असार ३ सम्म ‘सिंगल’ र १० गतेसम्म ‘डबल’ दस्तुर तिरेर आवेदन दिन समय तोकेको थियो । अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज असार १७ गतेसम्मको समय दिएको छ ।

लोकसेवा आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद सुवेदीले दरखास्त दिन दिइएको समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाले आवेदन बुझाइ सकेको जानकारी दिए । आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्छ ।

‘स्थानीय तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ४ लाख १८ हजार ४७ ले आवेदन दिइसक्नु भएको छ’, उपसचिव सुवेदीले अनलाइनखबरसँग भने, ‘दरखास्त दिने म्याद आजसम्म भएकाले यो संख्या बढ्न सक्ने छ ।’

पुरुषको आकर्षण बढी

स्थानीय तहका लागि पहिलोपटक गरिएको विज्ञापनमा सबैभन्दा बढी आवेदन पुरुष उम्मेदवारकोतर्फबाट परेको छ । आयोगका सूचना अधिकारी सुवेदीका अनुसार, हालसम्म ३ लाख १८ हजार ६ सय ४७ आवेदन पुरुषको तर्फबाट मात्रै परेको छ ।

पुरुषको तुलनामा महिलाको आवेदन भने निकै कम छ । ९९ हजार ४ सय महिलाले मात्रै असार १६ सम्म आवेदन बुझाएका छन् । यो पुरुषको भन्दा २ लाख १९ हजार २ सय ४७ ले कम हो ।

समावेशीतर्फ भने आदिवासी जनजाति आवेदन बुझाउनेको पहिलो नम्बरमा छन् । आयोगका अनुसार, आदिबासी जनजातितर्फबाट ४१ हजार ८ सय ७ आवेदन परिसकेको छ । त्यस्तै मधेसीबाट २३,४४९, दलितबाट २,९७०, अपांगबाट १३७ र पिछडिएको क्षेत्रबाट ११३ जनाले स्थानीय तहको सेवा प्रवेशमा रुचि देखाउँदै आवेदन दिएका छन् ।

यो पनि पढ्नुहोस सर्वोच्चले खोल्यो स्थानीय तहमा कर्मचारी भर्नाको बाटो यो पनि पढ्नुहोस सर्वोच्चको आदेश आरक्षणविरुद्ध : आदिवासी जनजाती महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment