
१८ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रहरीको गोली लागेर सर्लाहीको इश्वरपुरमा सरोजनारायण सिंहको मृत्यु भएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएको छ ।
अध्यक्ष अनिलकुमार झासहितको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी घटनाको छानबिन गरी गोली प्रहार गर्न आदेश दिने र गोली प्रहार गर्नेमाथि कारबाहीको लागि पहल गरिदिन आग्रह गरेको छ ।
असार १५ गते पृथ्वीराजमार्गमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका १३ का २६ वर्र्षका सरोजनारायण सिंह (देवन)को मृत्यु भएको थियो ।
गिटी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै राजमार्गमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।
राजपाले उक्त घटनाले देशको सुरक्षा निकायमा मधेसी अनुहारप्रतिको घृणा र द्वेषको भाव अझै काम रहेको देखिएको बताएको छ । ‘मधेसमा सामान्य झडप र विवादमा पनि प्रहरीद्वारा ताकेर टाउकोमा गोली हानेर हत्या गर्नु राज्यको मधेसी समुदायमाथि दशकौंदेखि गर्दै आइरहेको व्यवहारको निरन्तरता नै रहेको हाम्रो बुझाई छ’ राजपाले मानव अधिकार आयोगमा दिएको पत्रमा भनिएको छ ।
नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेको राज्यको सुरक्षा निकायबाट नै पटक पटक सर्वसाधारणको हत्या गरिनु मानव अधिकारको घोर उलंघन भएको राजपाले बताएको छ ।
प्रतिक्रिया 4