Comments Add Comment

त्रिवि सेवा आयोगको परीक्षा : आफैं नम्बर थप्दै आफन्तलाई जागिर

अध्यक्षसहित १० जनाविरुद्ध अख्तियारको मुद्दा

१८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरुले ३५ वटा उत्तरपुस्तिकामा नम्बर थपघट गरेर आफन्तलाई उतीर्ण गराएको पाइएको छ ।

यसमा संलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिवि सेवा आयोगले प्राविधि र प्रशासनिकतर्फ १६ पदमा कर्मचारी मागेको थियो । त्यसमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदमा भएको लिखित परीक्षाको ३५ थान उत्तरपुस्तिकामा नम्बर थपघट गरेको पाइएको अख्तियारले जनाएको छ ।

नम्बर थपघट गरेर विभिन्न पदमा उतीणै गराइएकाहरुमा सेवा आयोगका अध्यक्ष शर्माका आफन्त, कार्यालयमा प्रशासन प्रमुख परशुराम कोइरालाकी छोरीदेखि कर्मचारी तथा नेताका श्रीमती, बहिनी, सालीसम्म छन् ।

कुन पदमा कसरी भयो बदमासी ?

२४ शाखा अधिकृतका लागि भएको परीक्षामा सहभागीमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरेको पाइएको छ ।

उनीहरू मध्ये दुई जनालाई क्रमशः ३३ र ४ अंक थप गरेर पास गराएको तथा मध्ये दुई जनालाई क्रमशः १४ र ६ अंक थपेर मेरिट लिस्टमा ल्याइएको छ । पास हुनुपर्ने एक परीक्षार्थीको भने नाम छुटाएर तथा अर्काको १४ अंक घटाएर अनुतीर्ण गराएको पाइएको छ ।

२४ लेखा अधिकृतका लागि भएको परीक्षामा ७ जनाको उत्तरपुस्तिककामा केरमेट गरिएको पाइएको छ । जसमध्ये ५ जनाको उत्तर पुस्तिकामा क्रमशः ९, १०, ३, ७, २ अंक थपेर मेरिट लिस्टमा पारिएको छ भने अर्को परीक्षार्थीको ९ अङ्क घटाई मेरिटमा तल पारिएको छ । एक परीक्षार्थीको उत्तर पुस्तिकामा भने ३ अंक थप गरेको पाइएको अख्तियारले जनाएको छ ।

सहायक कानुनी सल्लाहकारको परीक्षामा भने ३ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको छ । उनीहरू मध्ये पाँचौं नम्बरमा रहेकालाई १५ अङ्क थपेर मेरिट लिस्टको पहिलो नम्बरमा ल्याइएको छ भने पहिले नम्बरमा परेकाको ८ अंक घटाएर दोस्रोमा झारेको पाइएको छ ।

अर्का एक परीक्षार्थीको उत्तरपुस्तिकामा भने २ अंक घटाएर मेरिट लिस्टको चौथो नम्बरमा झारेको अख्तियारको अनुसन्धानमा भेटिएको छ ।

२४ जना मुख्य लेखा सहायक पदका लागि लिइएक लिखित परीक्षामा सहभागी मध्ये दुई जनाको उत्तर पुस्तिकामा नम्बर थप गरेको तथा ५ जनाको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरेको पाइएको छ ।

अख्तियारकाअनुसार तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः २८ १३, र १० अंक थप गरिएको छ भने तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः ६, १४ र १४ अंक घटाएर फेल गरिएको पाइएको अख्तियारले जनाएको छ ।

१२ मुख्य कार्यालय सहायकका लागि लिएको परीक्षामा ९ जनाको उत्तर पुस्तिकामा अंक  थपिएको भेटिएको छ भने फेल भएका एक परीक्षार्थीले पाएको अंकमा ५ पटकसम्म केरमेट गरी उत्तिर्ण गराएको भेटिएको छ । यस्तै एक परीक्षार्थीले पाएको अंकमा भने १० घटाएर मेरिटमा नपारेको पाइएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

यस्तै १४ कार्यालय सहायकका लागि लिएको परीक्षामा भने खुलामा नआएका दुई जनालाई अंक थपेर मेरिटमा पारेको पाइएको छ ।

यसरी अंक थपघट गर्ने क्रममा अधिकांश उत्तरपुस्तिकामा शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता त्रुटि भेटिएको छ ।

संपरीक्षण लगायतका अन्य प्रक्रिया पनि पुरा नगरी नतिजा प्रकाशन गरिएको पाइएको तथा  आफु वा कुनै नातेदार उम्मेदवार भए आयोगमा कार्यरत शिक्षक तथा कर्मचारी परीक्षा संचालन सम्बन्धी कामबाट अलग रहनु पर्ने आयोगको आन्तरिक कार्यविधिको दफा ३६ पालना नभएको ठहर गरेको छ ।

अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी ईन्दिरा तिवारीविरुद्ध मुद्दा हालेको छ । यस्तै  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्रीलाई पनि प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment