Comments Add Comment

प्रदेश १ का फोटा पोखरामा प्रदर्शन

Photo Credit : भरतबन्धु थापा

१९ असार, कास्की । पोखरामा प्रदेश नम्बर १ का पर्यटकीय स्थलका फोटो प्रदर्शन गरिएको छ । पूर्वाञ्चल सेवा समाजको आयोजनामा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो पत्रकार भरतबन्धु थापाका तस्वीर प्रदर्शन गरिएको हो ।

फोटो प्रदर्शनीमा विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा, मकालु हिमाल लगायतका २९ तस्वीर राखिएको थियो । धार्मिक तिर्थस्थल पाथीभरा, इलामको चिया बयान, हिन्दु, बौद्ध र किराँतहरुको धार्मिक स्थल हलेसी, प्रदेश नम्बर १ को कला र संस्कृति तथा जनजीवन झल्कने फोटो पनि प्रदर्शनीमा थिए ।

कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको सहयोगमा भएको थियो ।

प्रदेशबीच सहकार्यमा जोड

फोटो प्रदर्शनी तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले पर्यटन विकास र प्रवर्द्धनका लागि प्रदेश-प्रदेशबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

आयोजक संस्था पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिकबहादुर राईले दुई प्रदेशबीच सहकार्य गरेर पर्यटन विकासका लागि अघि बढ्न सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले उच्च हिमालहरु रहेका दुई प्रदेशबीच सहकार्य गरेर पर्यटन विकासका लागि अघि बढ्नु पर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रवन्धक सूर्य थपलियाले गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले उच्च हिमालय क्षेत्रको पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनको खाँचो औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment