Comments Add Comment

भोट माग्दै घर फर्के एनआरएन नेता 

सिड्नी । एनआरएन अस्ट्रेलियाको चुनाबी अभियानमा रहेका सामाजिक नेताहरु आ–आफ्नो अष्ट्रेलियाब्यापी प्रचार कार्यक्रम सकेर आफ्नो गृहनगर फर्केका छन् ।

बुधबार राति सिड्नीमा करिब पाँच सय अगुवाहरुबीचमा आफ्नो चुनाबी प्रतिवद्धता सार्बजनिक गरेका ती उम्मेदवारहरुले सबैभन्दा बढी मतदाता भएको सिड्नीलाई आकर्षित गर्न खोजेका थिए ।

एनआरएन अष्ट्रेलियाका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी दिएका इन्जिनियर निराजन गौली केही दिन अघिमात्रै नेपालबाट सडक दुर्घटनासम्बन्धी आफ्नो अभियान सकेर फर्केका थिए । उनले नेपालको पुलचोक इन्जिनियरिङ कलेजमा नेपालमा सडक दुर्घटना रोक्ने उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
अष्ट्रेलियाका सुख्खा पीडित किसानलाई सहयोग गर्ने अभियानको समेत नेतृत्व गरेका उनले अष्ट्रेलियाको भिक्टोरिया सरकारसँगको सहकार्यमा आप्रवासी समुदायमा भएको मानसिक समस्या तथा सडक सुरक्षा सचेतना कार्यक्रम सन्चालन गरिरहेका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भने– हामी हाम्रो यहाँको सीपलाई एनआरएनमार्फत हाम्रो मातृभूमिसँग जोड्न चाहन्छु ।

त्यस्तै साउथ अष्ट्रेलियाबाट सिड्नी आएका कपिल पाण्डे अष्ट्रेलियाको समयअनुसार बिहीबार बिहान आफ्नो गृहनगर फर्के । अष्ट्रेलियाको विद्यालय शिक्षामा शिक्षण पेशा गरिरहेका पाण्डे साउथ अष्ट्रेलियामा नेपाली समाजका दोश्रो पुस्तालाई नेपाली भाषा शिक्षणको काम पनि गर्छन् । उनले नेपाली भाषा संरक्षण, आर्थिक पारदर्शिता र अनुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएर एनआरएन अष्ट्रेलियाको आगामी शनिबार हुने चुनाबमा कोषाध्यक्षको उम्मेदवारी दिएका छन् ।

एनआरएन अष्ट्रेलियाको चुनाबमा दिनेश पोखरेलले तीन महिनाभित्र भौतिक कार्यालय खोल्ने मुख्य एजेन्डा बनाएर अध्यक्षमा उम्मेदवारी दिएका छन् भने केशव कँडेलले कार्यालय आवश्यक नहुने तर्क दिँदै अध्यक्षमै उम्मेदवारी दिएका छन् ।
संसारको ठूलो एनआरएनको अष्ट्रेलियाभरी जम्मा ११ हजार आठ सय मतदाता छन् । न्यू साउथ वेल्समा मात्रै चार हजार सात सय मतदाता छन् ।

जम्मा दुई सय बिभिन्न पदमा चार सयको उम्मेदवारी परेको छ । चुनाव आगामी शनिबार यहाँका ६ राज्य र दुई क्षेत्रमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment