+
+
Shares

एकल विन्दु सेवा केन्द्रमा प्रविधि अभाव, ढड्डा बोकेर अड्डा धाउँछन् कर्मचारी

अटोमेसनमा लैजान विभागले माग्यो दुई करोड

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ असार १९ गते ९:४४

१८ असार, काठमाडौं । एकै स्थानबाट धेरैथरी सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको एकल विन्दु सेवा केन्द्रको प्रभावकारीता प्रविधी अभावका कारण सुस्त बन्न पुगेको छ । जेठ १ गते धुमधामसँग उद्घाटन गरिएको कार्यालयले प्रभावकारी सेवा दिन सकेको छैन ।

नेपालमा उद्योग सञ्चालन गर्न चाहने उद्यमीले आवश्यक प्रक्रिया पुर्‍याउन करिब तीन दर्जन निकाय धाउनुपर्ने अवस्था एकल विन्दुले अन्त्य गर्ने भनिएको थियो । तर, ती सबै निकाय जोडिने गरी एकीकृत प्रणाली विकास हुन नसक्दा कर्मचारीलाई कार्यसम्पादनमा कठिनाई उत्पन्न भएको छ । यसअघि सेवाग्राही फाईल लिएर कार्यालय चाहार्थे भने अहिले केन्द्रका कर्मचारी आफ्नो निगरानीमा फाईल बोकेर बिभिन्न निकाय चहार्नुपर्ने वाध्यता छ

एकल विन्दु सेवा केन्द्रले प्रयोग गरिरहेको एउटा प्राविधिक संयन्त्रले उद्योग दर्ताको काम मात्रै गर्न सक्छ । उक्त प्रणालीलाई उद्योग बिभागका प्राविधिक सीएम न्यौपानेले सञ्चालन गर्छन् । प्राविधिक न्यौपाने अनुपस्थित भए भने केन्द्रमा उक्त संयन्त्र चलाउनसक्ने अर्को दक्ष कर्मचारी छैन ।

एकल विन्दु सुरुवात गर्नु पहिलेदेखि नै विभागले उद्योग दर्ता लगायतको अभिलेख राख्नका लागि प्रयोग गरिरहेको प्रणाली नै अहिले एकल विन्दु सेवा केन्द्रमा सारिएको हो । उक्त प्रणालीको क्षमताले उद्योगहरुको पूँजी बृद्धि, ठाउँसारी, शेयर सदस्य परिवर्तन लगायतका सानातिना कामसमेत गर्न सक्दैन ।

केन्द्रमा नेपाल राष्ट्र बैंकमार्फत विदेशी मुद्रा विनिमय तथा लगानी स्वीकृति, भन्सार र राजश्वको सहजीकरण, अध्यागमनको भिसा सहजीकरण, जग्गा प्रशासन, कम्पनी र उद्योग दर्ता तथा वातावरण मूल्याङ्कन ईकाई लगायतले काम पनि थालेका छन् ।

केन्द्र सञ्चालनसंगै सेवाग्राही पनि उत्साहित बनेर केन्द्रसम्म पुगेका छन् तर कार्यसम्पादन भने परम्परागत नै छ । सेवाग्राहीलाई लागेको छ कि सेवा केन्द्रको एउटा ढोकाबाट पसेर केही घण्टामा निस्कदा सबै काम सम्पन्न होस् । तर केन्द्रका कर्मचारी ठूला ठूला ढड्डा पल्टाउँदै प्रमाणित, अनुमति तथा कानुनी जटिलता लगायतका फाईल अध्ययन र निरिक्षण गर्न बाध्य छन् । जसले गर्दा सेवाग्राहीले परिकल्पना गरेको सेवा र कार्य सम्पादन प्रणाली मेल खादैन ।

केन्द्रको जटिलता

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह

नेपालको औद्योगिकीकरण अभियानलाई गतिशील बनाउन एकल विन्दु सेवा महत्वपूर्ण भएकाले यसको सफलता जरुरी र चूनौतीपूर्ण रहेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह बताउँछन् ।

‘भन्सार, अध्यगमन, राष्ट्र बैंकसहित केन्द्रका सबै ईकाईको भिन्न–भिन्न प्रणाली एकीकृत रुपमा केन्द्रमा जोड्नु अहिलेको मुख्य चुनौती छ,’ उनले भने, ‘टेबल अगाडि कम्प्यूटर राख्दैमा प्रविधिले पूर्ण भएको मान्न सकिँदैन ।’

उनले अटोमेशनका लागि सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सहयोग जरुरी भएको बताए । महानिर्देशक सिंहका अनुसार झण्डै दुई दर्जन कार्यालयहरुबाट फरक–फरक पृष्ठभूमीका कर्मचारी एउटै छानोमा बस्दा केही समन्वयात्मक र नैतिक जटिलता पनि केन्द्रमा देखिएको छ । जनशक्ति व्यवस्थापन पनि केन्द्रको मुख्य चूनौती रहेको उनको बुझाई छ ।

उद्योगको काम अद्र्धप्राविधिक हुने भन्दै उनले काममा पोख्त कर्मचारीको सरुवाले पनि केन्द्रमा जटिलता थपिने गरेको गुनासो गरे । सुरुवाती समयमा पनि झन्झटरहित ढंगबाट सेवाग्राहीका ९० प्रतिशत काम केन्द्रले सम्पादन गरेको भन्दै महानिर्देशक सिंहले यसलाई ९९ प्रतिशत पुर्याउन चाहेको बताए ।

विभागले माग्यो दुई करोड

केन्द्रलाई पूर्ण अटोमेशनमा लैजान करिब दुई करोड रुपैयाँ बजेट माग गरिएको उद्योग विभागले जनाएको छ । उक्त रकम केन्द्रसंग रहेका सबै ईकाईलाई जोडेर बन्ने अत्याधुनिक एकीकृत प्रणालीका लागि खर्च हुनेछ ।

यसका अलवा विभागमा रहेका पूराना ढड्डालाई डिजिटलाईज गर्न पनि सो रकम प्रयोग हुने विभागका महानिर्देशक सिंहले बताए । माग भए बमोजिमको रकम विभागले पाएको खण्डमा केन्द्रमा भएको फाईल सम्बन्धित मन्त्रालयका सचिवले आफ्नै कुर्सीबाट सदर गर्न सक्ने खालको संयन्त्र केन्द्रसंग हुनेछ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?