Comments Add Comment

शैलुङ कन्सट्रक्सनलाई कारबाही गर्ने तयारी

Photo Credit : शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदा अधिकारी

२१ असार, काठमाडौं । नगरकोट जाने सडकको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । शैलुङ कन्सट्रक्सन कम्पनीलाई सडक विभाग अन्तरगतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जरिवाना तिराउन लागेको हो ।

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक अलपत्र छ ।

सडक निर्माणमा ढिलासुस्ती र लापरवाही भएकाले शैलुङलाई ठेक्का रकमको १० प्रतिशत अर्थात झण्डै ३ करोड रुपैयाँ जरिवाना गर्न लागेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

०७१ को जेठबाट निर्माण सुरु भएको १६ किलोमिटर सडकको काम सम्झौताअनुसार ०७३ को जेठसम्म बन्नु पर्ने थियो । तर अहिलेसम्म आयोजनामा ५४ प्रतिशत मात्रै वित्तीय प्रगति भएको प्रजापतिले बताए ।

कम्पनीले भने ६५ प्रतिशत भन्दा बढी भौतिक प्रगति भइसकेको दाबी गरेको छ ।

आयोजनामा हालसम्म ४ पटक म्याद थप भएको छ । शैलुङले आगामी जेठसम्ममा सडक निर्माणको लागि पछिल्लो पटक म्याद पाएको छ ।

आयोजनाका अधिकारीहरु हालकै गतिमा काम भए थपिएको समयमा पनि सडक पुरा नहुने बताउँछन् ।

कम्पनीले भने आगामी कार्तिकसम्म सबै काम सकेर सडकलाई नयाँ स्वरुप दिइसक्ने दाबी गरेको छ ।

भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि सडकले यसअघि ७ लाख हर्जना पनि तिराएको थियो । सुरुमा २७ करोडमा ठेक्का सकारेको शैलुङले पछि आयोजना ढिलाई गर्दै भेरियसन गरेर ३० करोड पु¥याएको थियो ।

शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । ‘क’ वर्गको कम्पनी भएपनि शैलुङले ‘लो बिड’ गरेर ठेक्का हात पार्ने र मोबिलाइजेसन हात पारेपछि आयोजनाहरु वर्षौ अलपत्र पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment