Comments Add Comment

पाम आयलको निर्यातमा एकाएक उछाल, ३३ करोडबाट ११ अर्ब

२२ असार, काठमाडौं । नेपालबाट सर्वाधिक विदेश निर्यात हुने वस्तु कुन हो ? यसमा तपाईंको अनुमान नमिल्न सक्छ ।

यदि चालु आर्थिक वर्षको ११ महिनाको आँकडा हेर्ने हो भने नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु हो पाम आयल अर्थात् ताडीको तेल । रोचकचाहिँ के भने यो वनस्पति तेल नेपालमा उत्पादन भने हुँदैन ।

अघिल्लो आर्थिक वर्षको एघार महिनामा ३३ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात आकासिएर ११ अर्ब पुगेको छ । यो ३३ गुणा वृद्धी हो ।

यो तेल इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड लगायतका देशबाट ल्याएर व्यवसायीले भारतमा निर्यात गर्छन् । नेपालमा यो तेल कच्चा तथा रिफाइनरीका रुपमा भित्रिने र यहाँबाट केमिकलयुक्त प्रशोधनपछि भारतमा निर्यात हुने गरेको भन्सारको विवरणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको एघार महिनामा नेपालले कुल ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु तथा उत्पादन निर्यात गरेको थियो । जसमा सबैभन्दा धेरै ११ अर्ब रुपैयाँ बराबरको ४० करोड ५८ लाख किलो पाम आयल निर्यात भएको हो । आर्थिक वर्ष ०७४/७५ मा पाम आयल १२ करोड ५८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चालू आर्थिक वर्षमा उक्त तेलको कच्चा तथा रिफाईनरी ८ अर्ब ७० करोड बराबरको आयात भएको थियो ।

के हो पाम आयल ?

विश्व वन्यजन्तु कोषले पाम आयलबारे आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार यो एक प्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन गरिन्छ । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । यस्तो तेल कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ । तर यो तेलको उत्पादन विश्वका ४२ देशमा पनि हुने वेबसाइटमा जनाइएको छ ।

इन्डोनेसियाको बोर्नियो टापूमा पाम खेतिका लागि जंगल फडानी तीव्र हुँदा त्यहाँ पाइने गोरिल्ला लगायतका बन्यजन्तु लोप हुन थालेको भन्दै अन्तर्राष्ट्रिय संघ–संस्थाले आपत्ति जनाएका छन् ।

किन बढ्यो निर्यात ?

पाम आयलको सबैभन्दा ठूलो निर्यातक राष्ट्र भारत हो । भारतले एक वर्षमा करीब १ करोड ५० लाख टन पाम आयल आयत गर्ने गरेको द इकोनोमिक्स टाइम्सले लेखेको छ । तर, भारतमा पाम आयल तीन लाख टन मात्रै उत्पादन हुन्छ ।

बढ्दो आयतसँगै भारत सरकारले पाम आयल आयातको भन्सारदर तथा परिमाणलाई पटक पटक परिवर्तन गरिरहेको छ । अघिल्लो वर्षको मार्चमा भारतले एक दशककै सबैभन्दा उच्च मात्रामा करको दर पाम तेलमा बढाएको थियो । कच्चा तेलमा प्रतिटन ५ डलर र रिफाइनरीमा प्रतिटन ९ डलर भन्सार दर कायम गरिएको थियो ।

यस्तै गत पुष १६ गते भारतले एसिआन मुलुकबाट पाम तेल आयातको मात्रा घटाउने निर्णय गर्‍यो । दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसिया, मलेसियाबाट भइरहेको कुल कच्चा आयतको ४४ प्रतिशतको हिस्सालाई ४० र रिफाइनरीको ५४ प्रतिशतको हिस्सा ४५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

भारतमा पाम तेलको मागभन्दा आयातको सीमा र भन्सारदरमा पनि परिवर्तन भईरहेपछि व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका हुन् । नेपाली तेल व्यवसायीहरुले इन्डोनेसिया, मलेसिया र थाईल्याण्डबाट पाम आयल नेपाल ल्याएर भारत निकासी थालेपछि यो तेलको निर्यात आकासिएको देखिन्छ ।

पाम आयलको प्रयोग

सूर्यमूखी र सोयाबिन तेलजस्तै गरी पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक रहेको उक्त वेबसाइटमा उल्लेख छ । कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम आयल उपयोगी हुने बताइन्छ ।

पाम तेलको प्रयोगबाट पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन अत्यधिक प्रयोग हुन्छ । विश्वको कुल वनस्पतीजन्य तेल मागको ३५ प्रतिशत हिस्सा कुल १० प्रतिशत जमिनबाटै पाम आयलले गरिरहेको विश्ववन्य जन्तु कोषले जनाएको छ ।

नेपालमा प्रतिलिटर एक सय रुपैयाँभन्दा बढी पर्ने उक्त तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीहरुले आयात गरेर नेपाल तथा भारतमा निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment