Comments Add Comment

सेमिफाइनलअघि खेलाडीको चोटले अष्ट्रेलिया तनावमा

२२ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियाले ११ जुलाईमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । तर एकपछि अर्को राम्रा खेलाडी घाइते हुन थालेपछि तनावमा परेको छ ।

शनिबार राति लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलिया १० रनले पराजित हुन पुग्यो । यो हार भन्दा पनि अष्ट्रेलियालाई आफ्ना भरपर्दा दुई जना खेलाडी घाइते भएपछि समस्या परेको छ ।

दक्षिण अफ्रिकाको खेलमा उस्मान ख्वाजा र अलराउण्डर मार्कुस स्टोइनिस घाइते हुन पुगे । दक्षिण अफ्रिकाविरुद्ध ३२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले तेस्रो ओभरमै ख्वाजालाई मैदानमा उतार्नु पर्‍यो तर उनी पाँच बल खेल्दैमा घाइते हुन पुगे । खेलपछि कप्तान एरोन फिन्चले भनेका छन्, ‘ख्वाजाको स्थिति राम्रो छैन ।’

यता, मार्कुस स्टोइनिस पनि घाइते देखिएका छन् । दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गर्दै गर्दा उनलाई चोटले सताएको थियो । चोटबाट हैरान भएका उनलाई ब्याटिङ गर्दै गर्दा उपचार पनि गर्नु परेको थियो ।

स्टोइनिसबारे कप्तान फिन्चले भनेका छन्, ‘उनको आइतबार स्क्यान हुनेछ । त्यसपछि मात्रै थाहा हुन्छ कस्तो समस्या हो ।’

त्यसो त ग्लेन म्याक्सवेल पनि पूर्ण रुपमा फिट छैनन् । केही दिनअघि मात्रै सन मार्स घाइते हुदै विश्वकप खेल्न नसक्ने भएका थिए । उनको स्थानमा ह्यान्ड्सकोम्बलाई टिममा बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment