Comments Add Comment

आज म्याच छ, प्राक्टिस गर

बलिउड अभिनेत्री तथा टीम इन्डियाका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्मा यतिबेला बेलायतको मेनचेस्टरमा छिन् । आज त्यहाँ भारत विरुद्ध न्यूजील्याण्डको सेमीफाइनल खेल खेलिंदैछ । जसलाई विश्वभरीका क्रिकेट प्रेमिहरुले रुचीपूर्ण तरिकाले हेरिरहेका छन् । यही क्रममा अनुष्का आफ्ना श्रीमान् तथा भारतीय टोलीलाई समर्थन गर्न इङ्ल्याण्ड पुगेकी हुन् ।

नेपाली समय अनुसार यो म्याच मंगलबार दिउँसो सवा ३ बजेदेखि प्रारम्भ भएको छ । यद्यपि, म्याचभन्दा केही अघिमात्र विराट तथा अनुष्काको एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा दुबै उस्तै पहिरनमा देखिएका छन् । तस्बिरमा विराटले सेतो रंगको टीसर्ट तथा कालो पाइन्ट लगाएका छन् भने अनुष्काले पनि ठिक त्यस्तै पहिरन लगाएकी छिन् । तस्बिर हेरेर के अनुमान लगाउन सकिन्छ भने शायद दुबै जना होटलबाट बाहिर निस्किरहेका हुन् ।

विराट र अनुष्काको तस्बिर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल मात्र भएको छैन, विभिन्न प्रकारका ट्रोलहरु समेत बन्न थालेका छन् । सेमीफाइनलजस्तो महत्वपूर्ण खेलको पूर्व सन्ध्यामा उक्त तस्बिर बाहिरिएपछि विराटलाई लिएर ट्रोलहरु बनेका हुन् । प्रसंशकहरुको भनाइ छ-‘भाइ, अभ्यास गर, यीसँग त जिन्दगीभर बस्नु छँदैछ नि ।’ अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्-‘यदि म्याच खराव भयो भने तपाईंको क्याप्टेनी गयो, त्यसपछि जिन्दगीभरी अनुष्कासंगै घुमिरहनु ।’

रमाइलो कुरा के छ भने विगत धेरै दिनदेखि अनुष्का विराट कोहलीसंगै छिन् । भारत तथा श्रीलंकाबीच भएको म्याचमा पनि अनुष्का मैदानमै देखिएकी थिइन् । उनले खैरो रंगको पहिरन लगाएकी थिइन् । त्यसपछि विराट र अनुष्काका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरु मेनचेस्टरका सडकमा मस्ती गरिरहेको देखिएको थियो । त्यसक्रममा उनीहरुले प्रशंसकहरुसंग पनि तस्बिरहरु खिचाएका थिए ।

त्यसो त श्रीमान्लाई समर्थन गर्नका लागि अनुष्का मैदानमा पुगेको यो पहिलो घटना भने होइन । यसअघिका खेलहरुमा पनि उनी मैदानमा देखा परिसकेकी छिन् । त्यसो त मैदानमै पुगेका कारण उनी पटक-पटक ट्रोलसमेत भैसकेकी छिन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment