Comments Add Comment

बहस : कांग्रेस महाधिवेशन ०७७ भदौमा कि फागुनमा ?

शशांक निवासको त्यो बैठक

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठूलै रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको एजेण्डामा १४ औं महाधिवेशन घुसाउन सफल भएका छन् ।

पौडेलले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि ‘विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम संरचना बनेपछि १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा’ भन्ने एजेण्डा बनेको छ । यो सहितका १४ एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिमा छलफल हुन बाँकी नै छ ।

तर, पौडेल समूहले १४ औं महाधिवेशन बैठकको एजेण्डा बन्नुलाई उपलब्धी मानेका छन् । कांग्रेसकै नेताहरु भने योे सहमति पौडेलको लागि ‘फेससेभिङ’ मात्र भएको र पार्टी सभापति शेरबहादुर देउवाले केही नगुमाउने बताउँछन् ।

शशांक निवासको त्यो बैठक

वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका बनाउन माग गर्दै आएका थिए । केन्द्रीय समितिमा आफैंले कार्यतालिका पनि पेश गरेका थिए तर, बैठकको प्रस्ताव महामन्त्रीमार्फत आउनुपर्ने भन्दै उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेपछि पौडेलको प्रस्ताव एजेण्डा नै बन्न सकेन ।

२२ असारमा केन्द्रीय समिति बैठक बोलाएपछि पौडेल सहितका नेताहरुले पार्टी सभापति देउवामाथि अन्तरिम संरचनाको नाममा तदर्थ समिति बनाउन लागेको आरोप लगाए । गोंगबुमा बैठक नै गरेर तदर्थ समिति नमान्ने बताए ।

तर, बैठक अगाडि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै त्यसलाई खण्डन गरे । २२ गते केन्द्रीय समिति बैठकको पूर्वसध्यामा महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको बैठक बस्यो, जहाँ वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन माग गर्ने योजना सुनाए ।

तर, बैठकमा सहभागी नेताहरुले यसअघि पनि पौडेललाई सुरुमै बोल्ने दिने र त्यसपछि देउवाले आफ्नो अुनुकुल निर्णय गर्ने गरेको विगत सुनाए । र, भने १४ औं महाधिवेशनको कार्यतालिका नबनाउने हो भने बैठक बहिस्कार गर्छु भन्नुस् ।

नभन्दै पौडेलले केन्द्रीय समिति बैठकअघि पार्टी पदाधिकारीहरुबीच भएको छलफलमा त्यो अडान छाड्दै छाड्नेन् । अन्नतः देउवाले एजेण्डा बनाउने सहमति गर्नुपर्‍यो ।

त्यसोभए कांग्रेसको महाधिवेशन आगामी फागुन (वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल सकिनेछ) मै हुन्छ त ? यो सम्भव छैन । उसोभए कहिले हुन्छ त ?

दुई विकल्प : ०७७ को भदौ वा फागुन

नेताहरुका अनुसार २७ गते बस्ने बैठकले नियमावली पास गर्नेछ । त्यसपछि अन्तरिम संरचना बनाउने प्रक्रिया सुरु हुनेछ । वडा, स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र प्रदेश कमिटीमा अन्तरिम संरचना बनाउनुपर्नेछ ।

बैठकअघि अहिले निर्वाचन समिति र केन्द्रीय कार्यालयले अन्तरिम संरचना बनाउनुपर्ने तहहरुको विश्लेषण गर्दैछ । भूगोल हेरफेर भएका, भूगोल हेरफेर नभएको तर, स्थिति फेरिएका लगायतको विश्लेषण गर्दा निर्वाचन समितिले भदौ पहिलो साताभित्र अन्तरिम संरचना बनाउन सकिने अनुमान गरेको छ ।

यद्यपि २४ भदौबाट सुरु हुने भनिएको दोस्रो चरणको जागरण अभियानलाई नै अन्तरिम संरचना निर्माण अभियानका रुपमा लैजाने कि भन्ने बहस पनि भइरहेको छ । जे होस्, दशैं, तिहार अगाडि नै कांग्रेसको अन्तरिम संरचना बन्नेछ ।

त्यसपछि क्रियाशील सदस्यता नविकरण तथा वितरणको काम सुरु हुनेछ, जुन डेढ दुई महिनाको हुनेछ । यो सबै प्रक्रिया पूरा गर्दा फागुन नजिकै आइसक्नेछ । जबकी महाधिवेशन गर्नुपूर्व फेरि तल्लो तहबाटै अधिवेशन गर्नुपर्ने हुन्न्छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यसैले रामचन्द्र पौडेल मात्र होइन, शेरबहादुर देउवाले चाहेर पनि ०७६ फागुनमा १४ औं महाधिवेशन सम्भव छैन ।’

नेताहरुका अनुसार ०७६ फागुनमा महाधिवेशन नहुने अर्को कारण अन्तरिम संरचना पनि हो । किनकि भदौमा अन्तरिम संरचना बनाइसक्नासाथ फेरि अधिवेशन सुरु गर्नु न त व्यवहारिक छ, न सम्भव नै । त्यसैले उनीहरुलाई एक वर्ष काम गर्न दिने र पर्याप्त तयारी पछि ०७७ भदौमा महाधिवेशन हुन सक्छ ।

केही नेताले भने महाधिवेशन ०७७ भदौ नभई फागुनमा पुर्‍याइने वा पुर्‍याउनुपर्ने तर्क गरेका छन् । यसो गर्दा महाधिवेशन ०७७ फागुनमा पुग्ने उनीहरुको तर्क छ ।

यस्तो भएमा पार्टी सभापति देउवा तत्काल महाधिवेशन गर्ने पक्षमा छैनन् भन्ने आरोप लागिरहेका बेला पार्टी विधानअनुसार एक वर्ष (६/६ महिना) म्याद थप्दा महाधिवेशन हुने फागुनमै हो ।

पार्टीको महाधिवेशन ०७७ फागुनमा पुर्‍याउनुपर्छ भन्नेहरुको तर्कचाहिँ के छ भने ०७९ वैशाखबाट स्थानीय चुनाव सुरु हुन्छ । ०७७ फागुनमा पार्टीको महाधिवेशन भयो भने त्यसपछिको एक वर्षलाई ‘चुनावी तयारीको वर्ष’ बनाउन सकिन्छ र त्यो अवस्थामा पार्टीले राम्रो परिणाम ल्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment