Comments Add Comment

फोहोरवाला समाउने गस्तीवाला सम्मानित !

२६ असार, पोखरा । पोखरा ९ वडा नयाँ बजार क्षेत्रमा रातको समयमा सार्वजनिक क्षेत्रमा फोहोर फाल्ने अत्याधिक थिए । दिनदिनै महानगरले फोहोर उठाउने तर रात परेपछि भने सुटुक्क फोहोर फाल्नाले नयाँ बजार क्षेत्र नै दुर्घन्धित बन्न पुगेको थियो ।

बिहानै सडकमा निस्कँदा बाटो वरिपरि फोहोर नै फोहोरको डंगुर देखेपछि यात्रुले पनि आवाज उठाउँदै आएका थिए । सार्वजनिक ठाउँमा फोहोर नगर्न र नफाल्न वडाले पटकपटक सूचना निकाल्दा पनि अटेर गरेपछि भने गस्ती नै सुरु गर्‍यो ।

रातको समयमा गस्ती बस्न वडा सदस्य राममाया मानन्धरको नेतृत्वमा टोली खटिन्छ । गस्तीको टोलीमा वडाबासी पालैपालो आउने गर्छन् । कहिले १० जना त कहिले २० जना त्यसरी दैनिक साढे १० बजेसम्म सडकमै घुमिरहेका हुन्छन् । त्यसरी रात्रीकालीन गस्तीमा खटिने स्थानीयले तलब भने लिँदैनन् ।

यो पनि पढ्नुहोस फोहोरवाला समाउने गस्तीवाला सम्मानित !

‘वडाले नै छाता, ज्याकेट, ग्लोब्सजस्ता आवश्यक सामान दिइरहेको छ । त्यसबाहेक उहाँहरुले अन्य पारिश्रमिक लिनुहुँदैन,’ पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘सधैं एउटै घरको गस्तीमा हिँडेपछि कहिलेकाहीं त लाजै मानेर पनि कुनैकुनै घरधनी सडकमा आउनुहुन्छ ।’

सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जरिवानाको व्यवस्था पनि गरिएको छ । वडास्तरबाटै गस्ती सुरु गरेपछि फोहोर फाल्नेको संख्यामा उल्लेख्य कमी आएको वडाको दाबी छ । सार्वजनिक ठाउँमा फोहोर फाल्दा पटक पटक पक्राउ परेर पनि सधैं अटेरी गर्ने घरबेटी तथा व्यवसायीलाई वडाले घर तथा पसलमै यसरी पोस्टर टाँसेर सुसूचित गरिरहेको छ । अटेरी गर्नेलाई कारबाही गरिरहेको छ । त्यसपश्चात पनि अटेर गर्नेलाई प्रहरी प्रशासन नै लगाइरहेको छ ।

वडाले त्यसरी रात्रीकालीन गस्ती थालेको मंगलबार १ वर्ष पुग्यो । गस्ती थालेको १ वर्ष पुगेको अवसरमा वडा कार्यालयले सडकमै वार्षिकोत्सव मनायो । पोखरा ९ वडा सचिव लोेकदर्शन कोइरालाले १ वर्षावधिमा सार्वजनिक ठाउँमा फोहोर गर्ने ६२ जनालाई दन्डित गरिएको सुनाए । वडाले सार्वजनिक फोहोर फाल्नेलाई प्रकृति अनसुार सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।

‘दिनदिनै बाटोमा हाम्रो गस्ती टोली तैनाथ हुन्थ्यो । ती टोलीले बाटोमा फोहोर गरेको वा फालेको भेट्टाए जरिवाना गरिहाल्थ्यो,’ वडासचिव कोइरालाले भने । उनीहरुबाट वडाले १ लाख २१ हजार रुपैयाँ भन्दाबढी राजश्व उठाइसकेको उनले जानकारी दिए । रात्रीकालीन गस्ती वार्षिकोत्सवका अवसरमा गस्ती बस्ने ५० जनालाई सम्मान पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment