Comments Add Comment

भारतीय दूतावासले यस्तो पत्राचार गर्न पाउँदैन

कूटनीतिमा के हुन्छ भने कसैले जानाजानी प्रतिशोध साँध्न सक्छ । जस्तो नेपालले भारतको वस्तु नियतवस रोकिदियो भनेदेखि भारतले त्यसरी पत्र लेख्न पाउँछ । त्यो रोक हटाऊ भनेर लेख्न पाउँछ ।

तर, नियतवस त्यसो नगरिकन खाद्यान्नमा हुने विषादि त संसारको जुन देशले पनि जाँच गर्न पाउँछ । त्यसैले भारतबाट आयात हुने तरकारी र फलफूलको परीक्षण नेपालको आन्तरिक कुरो हो । किनभने आफ्ना देशका जनताको स्वास्थ्यको रक्षा गर्ने काम त्यस देशको सरकारको पहिलो जिम्मेवारीमध्ये हो । त्यसैले यो विषादि परीक्षण भारतको चासोभन्दा भन्दा पनि नेपाली जनताको स्वास्थ्यसँग सम्बन्धित कुरो हो ।

संसारमा यस्तो जहाँ पनि भएको छ । जहाँ पनि हुन पाउँछ । जस्तो- उत्तर कोरिया र चीनको बडो राम्रो सम्बन्ध थियो । तर, एकताका उत्तर कोरियाले केही-केही खाने चिजहरुमा प्रश्न उठायो । यसरी संसारभरि नै कुनै पनि देशले स्वास्थ्यको कारणले म तिम्रो तरकारी वा फलफूल लिन्न भन्न पाउँछ । त्यस्तो कुरामा कुनै देशले पत्राचार गर्न पाउँदैन ।

अब सरकारले भारतबाट आउने फलफूल र तरकारीको विषादि परीक्षण सुरु गर्नुपर्छ । सर्वोच्च अदालतले पनि अर्डर गरिसक्यो । अब सरकारले जनताको स्वास्थ्यको रक्षा गर्ने कि भारतले भनेको मान्ने ?

भारतले नेपाललाई तिमीले तरकारी र फलफूल रोक्नुको कारण के हो भनेर सोधेको भए पनि एउटा कुरा हुन्थ्यो । तर, सोझै त्यसरी परीक्षण नै गर्न पाइँदैन भनेर पत्र लेख्न मिल्दैन । मौखिकरुपले भारतीय दूताबासले भनेको भए पनि एउटा कुरा हुन्थ्यो, त्यो गोप्य पनि रहन्थ्यो होला । तर, लिखित पत्र नै पठाइदियो, त्यसैले गोप्य पनि रहेन ।खाद्यवस्तुमा मात्र होइन, औषधिमा पनि कैंयौं देशले परीक्षण नगरी जान दिँदैनन् । जस्तो-अमेरिकामा परीक्षण गरिएको चिजमात्रै लिइन्छ । किनभने जनताको स्वास्थ्यको कुरो हो यो । यो त मोटर, कार वा मोटर साइकल रोकेको जस्तो कुरो होइन । यो त खाद्यपदार्थको कुरो हो । जनस्वास्थ्यसँग जोडिएको कुरा हो ।

हो, कुनै पनि दूतावासले आफ्नो देशसँग जोडिएका कतिपय विषयमा आफ्नो सरोकार त्यसदेशको सरकारसँग राख्न पाउँछ । तर, नेपालले आफ्नो देशमा भित्रिने खानेकुरामा विषादी जाँच गरेर मात्रै आउन दिन्छु भन्दाखेरि यसमा भारतको बोल्ने बाटो छैन ।

प्रधानमन्त्रीले मलाई थाहै नदिइ पत्र आयो भन्नुभएको छ, अब के गर्दै हुनुहुन्छ, त्यो उहाँले जान्ने कुरा हो । यस्तो पनि हामीले देख्यौं कि प्रधानमन्त्रीलाई नै थाहा छैन ।

विषादी परीक्षण गर्ने निर्णय गर्‍यो क्याबिनेटले । तर, एउटा सचिवले वा एउटा मन्त्रीले यसलाई उल्ट्यायो । मन्त्रीले पनि मलाई सचिवले फसाए भन्छन्, यस्तो गैरजिम्मेवार कुरो अहिले आइराखेको छ । सबैभन्दा हाँसोलाग्दो त के छ भने यत्रो कुरा भयो, प्रधानमन्त्रीलाई थाहै भएन । क्याबिनेटले निर्णय गर्‍यो, कसले फुकुवा गर्‍यो भनेर त उहाँले सोध्नुपर्थ्यो नि । तुरन्तै थाहा हुँदैनथ्यो ?

हाम्रो परराष्ट्र मन्त्रालयको कमजोर कूटनीति छ । अब सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्नुपर्छ । यो विषादि परीक्षणको कुरो हो, हामीले अरु नियतले गरेको छैन भनेर सरकारले भन्नुपर्‍यो ।

अब दूतावासले पठाएको पत्रको जवाफ नेपाल सरकारले पठाउन पनि सक्छ । यो कारणले विषादि परीक्षण गरिएको हो भनेर जवाफ पठाइदिए पनि भयो । विषादियुक्त भएको हुँदाखेरि हामीले रोकेको हो भनेर पठाइदिए हुन्छ । नभए सरकारले चुपचाप आफ्नो काम गरे हुन्छ ।

अब सरकारले भारतबाट आउने फलफूल र तरकारीको विषादि परीक्षण सुरु गर्नुपर्छ । सर्वोच्च अदालतले पनि अर्डर गरिसक्यो । अब सरकारले जनताको स्वास्थ्यको रक्षा गर्ने कि भारतले भनेको मान्ने ? भारतीय दूतावासको पत्रलाई मान्ने कि जनताको स्वास्थ्यलाई ख्याल गर्ने ?

(पूर्वराजदूत कोइरालासँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment