Comments Add Comment

राष्ट्रिय चलचित्र पुरस्कार २०७३ मा विपिन र श्रृजना उत्कृष्ट नायक–नायिका

चलचित्र विकास बोर्डले विगत ३ बर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आज वितरण गरेको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा वि.सं २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको हो ।

वि.सं २०७३ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘कालोपोथी’ उत्कृष्ट चलचित्र बन्न सफल भयो । जसमा, उत्कृष्ट निर्देशकको अवार्ड ‘सेतो सूर्य’बाट दीपक रौनियारले जित्दा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘जात्रा’बाट नायक विपिन कार्कीले प्राप्त गरेका छन् । यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘निभ्न लागेको दियो’बाट श्रृजना सुब्बाले जितेकी छिन् ।

उत्कृष्ट लेखनतर्फ भने चलचित्र ‘कालो पोथी’बाट अविनाश विक्रम शाह शाह र मिन बहादुर भामले जितेका छन् । उत्कृष्ट छायांकनको अवार्ड ‘लभ सासा’बाट शिवराम श्रेष्ठले जिते भने ‘उत्कृष्ट सम्पादन’को अवार्ड चलचित्र ‘जात्रा’बाट मित्रदेव गुरुङले जिते ।

यस्तै, ‘उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी’तर्फको अवार्ड ‘क्यू प्ह्रो छे’ले जित्यो । उत्कृष्ट लोकप्रिय चलचित्रको अवार्ड ‘छक्का पन्जा’ले जित्न सफल भयो । यी सम्पूर्ण विधामा अवार्ड जित्ने चलचित्रकर्मीलाई जनही २१ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, ‘चलचित्र दीर्घ साधना सम्मान, २०७३’बाट चलचित्रकर्मी सुभद्रा अधिकारीलाई सम्मान गरिएको छ । उनलाई ३ लाख ५१ हजार, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रकर्मीलाई अवार्ड प्रदान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment