Comments Add Comment

दुई तिहाइको प्रधानमन्त्रीले भारतीय पत्रको जानकारी नपाउनु अनौठो : प्रकाशमान

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा सरकारको काम प्रभावकारी नभएको बताएका छन् । केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा काम प्रभावकारी नभएको उनको भनाइ छ ।

‘सबै काम म आफैं गर्छु भन्दा सरकारले झन् काम गर्न सकेन,’ आइतबार ठमेलस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने ।

दुई तिहाई बहुमतको प्रधानमन्त्रीले भारतीय तरकारीको विषादी परीक्षणसँग सम्बन्धित भारतीय पत्रको सूचना लिन नसक्नु अनौठो भएको भन्दै उनले सरकारको आलोचना पनि गरे ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पत्रबारे आफूलाई गुमराहमा राखिएको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका थिए ।

नेता सिंहले ठमेल पर्यटन विकास परिषदका अध्यक्ष प्रकाशनरसिंह राणालाई कांग्रेसमा प्रवेश गराएका थिए । राणालाई नेता सिंहले पार्टीको सदस्यता प्रदान गर्दै दोसल्ला र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा काठमाडौं कांग्रेस जिल्ला सभापति सबुज बानियाँ, कांग्रेस महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी, काठमाडौं महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाल, वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लिलाबल्लभ दाहाललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment