Comments Add Comment

महानगरले घटायो न्युरोडको स्मार्ट पार्किङ शुल्क

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ ।

पार्किङ शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।

दुई पांग्रे सवारी साधनको प्रति घण्टाको २५ रुपैयाँका दरले तोकिएको पार्किङ शुल्क घटाएर १५ रुपैयाँ बनाइएको छ ।

आइतबार नगरसभाको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा कार्यक्रममाथि समेत छलफल भएको छ । बजेटमाथिको छलफल सोमबार पनि हुनेछ ।

बैठकले उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वमा रहेको न्यायिक समितिले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको छ । न्यायिक समितिमा यो वर्ष विभिन्न विषयमा कुल २७१ वटा उजुरी दर्ता भएकोमा १७६ को मुद्दा फछ्र्यौट भएको छ भने ९५ वटा विचाराधीन अवस्थामा रहेको छ ।

त्यस्तै नगरसभाको चौथो अधिवेशनमा वडा सदस्यले विभिन्न विषयमा दर्ता गरेका माग सम्बोधन गर्न कामपा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनको अध्यक्षतामा गठन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन पनि बैठकले पारित गरेको छ ।

उक्त प्रतिवेदनमा कामपाका विभिन्न समितिहरूमा वडा सदस्यहरूलाई पनि सहभागी गराउने, नेपाल सरकारले प्रकाशित गरेको वरियताक्रममा वडा अध्यक्ष र वडा सदस्यहरूको स्थानसमेत स्पष्ट पार्न नेपाल सरकारको ध्यान आकृष्ट गर्ने विषयमा सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment