Comments Add Comment

स्मार्ट पार्किङ : चारचक्के सन्तुष्ट, दुईचक्के रुष्ट !

व्यवसायी भन्छन्– अचाक्ली महंगो भयो ।

‘ए दाई, त्यहाँ पार्किङ नगर्नुस् ।’

मोटरसाइकलको स्ट्यान्ड लगाउँदै गरेका युवा अलि परबाट आएको यस्तो आवाज सुनेनन् । आवाजले रोकिए । हातमा एउटा ‘पस’ मेसिन समेत बोकेका व्यक्ति दौडिदै मोटरसाइकलवालाको नजिक आएर भने, ‘दाइ, त्यहाँ पार्किङ नगर्नु भनेको सुन्नु भएन ? यहाँ त गाडी पार्किङ गर्ने हो ।’

‘मलाई २ मिनेट पनि लाग्दैन, एटिएमबाट पैसा निकाल्ने मात्र हो,’ बाइकवाला भन्दै थिए । तर, उनको केही लागेन । गन्गनाउँदै उनी मोटरसाइकल निकालेर अगाडि बढे ।

यो दृश्य सोमबार दिउसो करिब १२ बजे न्यूरोड परिसरको हो । यद्यपि, यस्तो दृष्य यहाँ दिनभर नै दोहोरिइरहन्छ । न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले ‘स्मार्ट पार्किङ’ सञ्चालन गरिरहेको छ । यसको व्यवस्थापनको जिम्मा महानगरले ह्वील्स ट्रुली योर्स नामक एक निजी कम्पनीलाई दिएको छ । स्मार्ट पार्किङ सुरु भएपछि चारचक्के सवारीधनीले राहत महसुस गरेका छन् भने मोटरसाइकल चालकले सास्ती पाएका छन् ।

अघिका मोटरसाइकलवाला आफ्नो मोटरसाइकल लिएर पार्किङ वेतर्फ हुत्तिए । मोटरसाइकल र चारचक्के गाडीका लागि छुट्टै पार्किङ वे बनाइएको उनले बुझे । न्यूरोडका दुई भित्री सडक किनारामा पहेँलो रङ्गको रेखांकनले पार्किङ वे छुट्याइएको छ ।
कार पार्किङ गर्ने ठाउँमा ३ जना युवा उभिइरहेका भेटिन्छन् । उनीहरुको हातमा ‘पस’ मेसिन छ । गाडी पार्किङ गरेपछि सोही मेसिनबाट गाडीवालाले बिल पाउँछन् । पार्किङबाट गाडी निकाल्ने बेलामा त्यही बिलामा लेखिएको समयअनुसार पैसा तिर्नुपर्छ । चारचक्केका लागि प्रतिघण्टा ८० रुपैयाँ अनि मोटरसाइकलले प्रतिघण्टा २५ रुपैयाँ ।

सोमबार हामी पार्किङ क्षेत्र, न्यूरोड परिस र केहिबेर घुम्यौं र केही सवारीचालकहरुको अनुभव बुझ्यौं । उनीहरुबाट दुईथरी जवाफ आए । कसैले एकदम राम्रो र सहज भएको भन्ने प्रतिक्रिया दिए भने कसैले पार्किङ शुल्क अत्यधिक महंगो भएको गुनासो गरे । राम्रो भएको भन्दै स्वागत गर्नेमा चारचक्के सवारीधनी थिए । दुईचक्के अर्थात मोटरसाइकल तथा स्कटुरवालाले भने महंगो भएको प्रतिक्रिया दिए ।

‘घरबाटै बुक गर्न पाउँदा ढुक्क’

काठमाडौं महानगरपालिकाले शुरु गरेको स्मार्ट पार्किङ न्यूरोडको खिचापोखरी, पाको, प्युखा र धर्मपथ क्षेत्रमा उपलब्ध छ । यि क्षेत्रमा ७ सयवटा मोटरसाइकल तथा स्कटुर अट्न सक्छन् भने एक सयभन्दा बढी कार, ट्क्यासी, जीपजस्ता सवारी साधनहरु पार्किङ गर्न सकिन्छ ।

स्मार्ट पार्किङको मूख्य विशेषता भनेको आफू पार्किङ स्थलमा पुग्नु अगावै ठाउँ रोक्न (बुक गर्न) सकिने सुविधा हो । एन्ड्रोइड मोवाइलमा ‘केटीएम पार्क’ नामक एप्लिकेशन डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सकिन्छ । यसबाहेक टेलिफोनबाट पनि बुक गर्न सकिन्छ ।
‘पहिले समाचारमा सुनेको थिएँ,’ धर्मपथ नजिकैको पार्किङ वेमा भेटिएका रोशन तण्डुकार भन्छन्, ‘तर आज आफैंले प्रयोग गर्दा गज्जब लाग्यो । करिब एक घण्टा पार्किङ गर्दा ८० रुपैयाँ तिरेँ ।’ उनले घरबाट निस्कने बेलामा पार्किङ बुक गरेर जाँदा धेरै सहज भएको सुनाए ।

‘कहिलेकाही न्यूरोड जानुपर्छ, पार्किङ गर्ने ठाउँ नपाएर धेरैबेर घुम्ने गरेको थिएँ,’ उनले भने, ‘आज आउनेवित्तिकै पार्किङ गर्ने ठाउँ भेटिएकोमा धेरै खुसी छु ।’

पार्किङ वेमै भेटिएका अर्का पाका व्यक्तिलाई हामीले सोध्यौं, ‘स्मार्ट पार्किङले कत्तिको सहज महशुस गर्नु भएको छ ?’

शुरुमा बोल्न आनाकानी गरेको ति व्यक्तिले अलि फरक अनुभव सुनाए । ‘सहजता र असहताभन्दा पनि मैले सुरक्षाको महशुस गरेको छु’ उनले भने, ‘म हप्तामा कम्तिमा पनि ३ पटक न्यूरोड आउने गरेको छु, गाडी पार्किङ गर्दा सँधै केही न केही क्षति भएको हुन्थ्यो ।’

उनले मोटरसाइकलका कारण आफ्नो गाडी सधै असुरक्षित हुने गरेको बताए । आफूले पार्किङ गरेको नजिकै मोटरसाइकल ल्याएर राखिदिने र पछि मोटरसाइकल निकाल्दा गाडीमा स्क्र्याच हुने गरेको उनको भनाइ छ ।

‘बाइकवालाले धुरुक्कै रुवाएका थिए, अब सुरक्षित भए जस्तो लागेको छ,’ उनले भने, ‘अब मोटरसाइकलसँगै पार्किङ गर्नु पर्दैन । यहाँमात्रै होइन काठमाडौंका जताततैका पार्किङ स्थलमा बाइकवालाको मनपरी हटाउनु पर्छ ।’
पार्किङ शुल्कको विषयमा प्रश्न गर्दा उनले कुनै गुनासो गरेनन् । थोरै पैसाको लोभले ठूलो क्षति बेहोर्नु पर्ने भन्दै उनले पैसा महत्वपूर्ण नभएको बताए ।

उनले भने, ‘यहाँ पार्किङ गर्दा ८० रुपैयाँ लिन्छ, बाहिर पार्किङ गर्‍यो भने कुन बेला बाइकले ठोक्काएर स्क्र्याच गर्छ अनि ५ हजार रुपैयाँ खर्च गर्नु पर्छ, त्यसैले मसँग यो पैसाको कुरै नगर्नुस ।’

यद्यपि, बुक नगरी आउनेले भने पार्किङ गर्ने ठाउँ भेट्न कठिन भएको देखिन्थ्यो । पुल्चोकबाट किनमेल गर्नका लागि मनोजकुमार न्यूरोड पुगेका थिए । उनले पार्किङ गर्नका लागि निकैबेर ठाउँ खोजे । स्मार्ट पार्किङ वे सवारीसाधनले भरिएका कारण उनले केहिबेर पर्खनु पर्ने भयो ।

‘एलइडीमा पार्किङ फुल भन्ने देखियो, खटिएको कर्मचारीलाई सोधेँ । केहीबेर पर्खनैपर्छ भन्ने जवाफ आयो,’ मनोजकुमार भन्छन्, ‘३ फन्का न्यूरोडमै घुमाएपछि बल्ल खाली भेटेर पार्किङ गरेँ ।’ उनले पार्किङका लागि पहिले नै बुक गरेका थिएनन् ।

एप डाउनलोड गर्नेबारे जानकारी नभएका कारण थोरै समस्या परेको उनले बताए । पहिले निःशुल्क हुने ठाउँमा अहिले एक्कासी ८० रुपैयाँ प्रतिघण्टा चार्ज लाग्नु ठिक नभएको पनि उनको भनाई छ ।

मोटरसाइकलवाला असन्तुष्ट

स्मार्ट पार्किङले मोटरसाइकलवाला भने सन्तुष्ट देखिएनन् । धेरैले स्मार्ट पार्किङका नाममा चर्को शुल्क उठाइएको गुनासो गरे । घण्टाकै २५ रुपैयाँ तिर्न बाध्य बनाइनु गलत भएको उनीहरुको प्रतिक्रिया थियो ।

‘पहिले पैसा लाग्दैन थियो, अहिले एक घण्टाकै २५ रुपैयाँ लिनु त लुट्नु जत्तिकै भइगयो नि’ भक्तपुरबाट मोवाइल मर्मतका लागि न्यूरोड पुगेका टंक कार्कीले भने, ‘नाम मात्रैको स्मार्ट हो, खासमा केही स्मार्ट नै छैन, पैसा मात्रै महंगो भयो ।’
उनले आफू ताम्राकार हाउसमा मोवाइल बनाउन आएको र २ घण्टा त्यता बिताउदा ५० रुपैयाँ तिर्नु परेको सुनाए । निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिएका कारण पनि महंगो भएको उनको बुझाई छ । महानगरले आफ्नै कर्मचारी खटाएर भए पनि शुल्क घटाउनु पर्ने उनी बताउँछन् ।

जोरपाटीबाट क्यामेराको ब्याट्री किन्न आएका रोहन घिसिङको पीडा पनि उस्तै छ । उनले पार्किङ शुल्क अत्यधिक भएको भन्दै यसलाई घटाउनुपर्ने बताए । पार्किङ वेमा भेटिएका दर्जन बढी व्यक्तिहरुलाई हामीले सोध्यौ, ‘स्मार्ट पार्किङबारे केहि भन्नु छ ?’ सोधिएका सबैजसोले संक्षिप्त उत्तर दिए, ‘पार्किङ शुल्क महंगो भयो ।’

व्यवसायी भन्छन् : आतंक मच्चाइयो

नरेश कटुवाल

न्यूरोड क्षेत्रमै व्यवसाय गर्दै आएका व्यवसायीहरु भने महानगरले कुनै एक व्यक्तिलाई पार्किङको जिम्मा दिएर लुट मच्चाइएको बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले न्यूरोड क्षेत्रका व्यापारीमा महानगरले आतंक सिर्जना गरेको गुनासो गरे ।

व्यवसायीहरुले एक दिनमा एउटा मोटरसाइकल पार्किङ गरेको मात्रै ३ सय रुपैयाँसम्म तिर्नु परेकोउनले सुनाए ।

‘व्यवसायिक भवनहरुले पार्किङको व्यवस्था गर्नुपर्नेमा ५ मिनेट राखेको पनि २५ रुपैयाँ तिर्नुपर्ने यो आतंक भएन ?’ उनले प्रश्न गरे, ‘५/१० लाख महिनाको उठाउने घरवालाले पार्किङको व्यवस्था गर्नु पर्छ कि पर्दैन ?’

१५ हजार तिरेर जागिर खाने कर्मचारीले दिनको ३०० बाइक पार्किङकै लागि तिर्नु परेको भन्दै उनले अत्याचारको सीमा नाघेको बताए ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment