Comments Add Comment

भरतपुर महानगरले फिर्ता गर्‍यो व्यवसायीलाई ४० लाख

१ साउन, चितवन । भरतपुर महानगरपालिकाले व्यवसाय दर्ताबापत उठाएको ४० लाख रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गरेको छ । व्यवसाय दर्ताबाट गत आर्थिक वर्ष २०७५–७६ मा ५ करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको महानगरपालिकाले ४० रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गरेको हो ।

व्यवसाय दर्ता दस्तुरबापत उठेको कूल रकमको पाँच प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई पाँच प्रतिशतले हुन आउने २३ लाख ७३ हजार नौ सय ७० रुपैयाँको चेक हस्तान्तरण गरिन् । त्यसैगरी, दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी, भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुरबापत संकलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन् । भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताइन् ।

उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment