+
+
Shares
विचार :

सद्गुरुलाई प्रश्न : केही मानिस ‘हाम्रा’ हुन् भने बाँकी मानिस कसका ?

मोक्ष खोज्नेको यात्रालाई मात्र आध्यात्मिक र जीवन धान्न खोज्नेको यात्रालाई केवल सांसारिक भनेर हेर्न मिल्छ?

आध्यात्मिक गुरुबाट ‘हाम्रा मान्छे’ भन्ने भाषा सुन्दा मनमा स्वाभाविक प्रश्न उठ्छ- हामी कुन आकाशको कुरा गरिरहेका छौं? आध्यात्मले तिम्रो र मेरो बीच भिन्नता पहिचान गर्ने कुनै सूचक दिएको छ र? यदि केही मानिस ‘हाम्रा’ हुन् भने, बाँकी मानिस को हुन्?

प्रकृति मैनाली प्रकृति मैनाली
२०८३ असोज १ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सद्गुरुले नेपालमा भएको दुर्घटनाबारे बोल्दै ‘७७ जना हाम्रा मान्छेहरू परे’ र ‘म क्षतिग्रस्त छु’ भन्नुभएको छ।
  • घटनापछि पनि उहाँले ‘हाम्रा ७७+३ जना मान्छे परे’ भनेको उल्लेख छ, तर बाँकी प्रभावित नेपालीबारे सम्बोधन नभएको भनिएको छ।
  • वर्षौंदेखि मानसरोवर–कैलाश यात्रासँग जोडिएर काम गर्ने नेपाली गाइड र सहयोगीहरू पनि प्रभावित भएको हुनसक्ने भन्दै उनीहरूका परिवारलाई सहयोगको माग गरिएको छ।

सद्गुरु बाइक चढेर हिंडिरहनुभएको एउटा भिडियो देखेको थिएँ। स्कूल जाँदै गरेका नानीहरूले ‘कस्तो छ तपाईंलाई?’ भनेर सोध्दा उहाँले नेपालमा भएको दुर्घटनाबारे बोल्दै ‘७७ जना हाम्रा मान्छेहरू परे’ भन्नुभएको थियो। उहाँले ‘म क्षतिग्रस्त छु’ पनि भन्नुभएको थियो। घटना भएको लगत्तै पनि उहाँले ‘हाम्रा ७७+३ जना मान्छे परे’ भन्नुभएको थियो।

यहींबाट प्रश्न उब्जिन्छ: आध्यात्मिक दृष्टिले ‘हाम्रा मान्छे’ भन्नाले कसलाई जनाउँछ? दुर्घटनाबाट प्रभावित सबै नेपालीलाई? त्यो यात्रासँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूलाई? वा कुनै विशेष समूहलाई मात्र? र यदि ७७ जना ‘हाम्रा’ हुन् भने, बाँकी मानिस को हुन्?

घटाकाश र महाकाशको कुरा गर्ने आध्यात्मले ‘मेरो–तिम्रो’, ‘हाम्रो–अरू’ को सीमा कहाँसम्म राख्छ?

कैलाशमा मोक्ष खोज्न जाने तीर्थयात्री र त्यही कैलाश यात्रासँग जोडिएर घरको चुलो बाल्न, छोराछोरी पढाउन वर्षौंदेखि श्रम गरिरहेका नेपाली गाइड बीच मानवीय पीडाको हिसाबले के भिन्नता छ? मैले बुझेको आध्यात्मको आकाश अलि फराकिलो हुन्छ— घटाकाश र महाकाश जस्तो।

एउटा घैंटोभित्र पनि आकाश हुन्छ। हामी त्यसलाई घटाकाश भन्छौं। तर घैंटो फुटेपछि त्यो आकाश कहाँ जान्छ? हराउँदैन। केवल ‘यो घैंटोभित्रको आकाश’ भन्ने सीमा समाप्त हुन्छ। बाँकी रहन्छ— महाकाश।

शायद आध्यात्मको यात्रा पनि त्यही हो- ‘म’, ‘तिमी’, ‘मेरो’, ‘तिम्रो’, ‘हाम्रो मान्छे’ भन्ने घैंटो विस्तारै फराकिलो हुँदै, अन्ततः सीमाहरू पग्लिंदै जानु। आफूलाई सीमित गर्ने भित्ताहरू नरहँदा बाँकी रहने कुरा एउटै सर्वव्यापक आकाश हो।

त्यसैले आध्यात्मिक गुरुबाट ‘हाम्रा मान्छे’ भन्ने भाषा सुन्दा मनमा स्वाभाविक प्रश्न उठ्छ- हामी कुन आकाशको कुरा गरिरहेका छौं? आध्यात्मले तिम्रो र मेरो बीच भिन्नता पहिचान गर्ने कुनै सूचक दिएको छ र? यदि केही मानिस ‘हाम्रा’ हुन् भने, बाँकी मानिस को हुन्?

मेरो बुझाइमा आध्यात्म भनेको आफूलाई अझ ठूलो संस्थासँग जोड्नु, आफ्नो आयतन वा परिधि विस्तार गर्नु मात्र पनि होइन; आफूले बनाएका सीमाहरूलाई क्रमशः भत्काउँदै जानु हो।

सार्वजनिक भएका विवरण अनुसार, उक्त घटनामा ७७ जनाभन्दा बढी थप नेपाली प्रभावित भएको हुनसक्ने देखिन्छ। तर अहिलेसम्म एउटै यात्राका साझेदार भएर पनि उहाँहरूका लागि सद्गुरुले कुनै सम्बोधन गर्नुभएको छैन।

वर्षौंदेखि नेपाली टोलीहरूलाई मानसरोवर–कैलाश यात्रामा लैजान सम्बन्धित अभियानसँग जोडिएर काम गरिरहेका अन्य नेपालीहरू पनि त्यहाँ रहेको बताइएको छ। उनीहरूको वास्तविक संख्या, भूमिका र अवस्थाबारे आधिकारिक पुष्टि आवश्यक छ।

तर यदि उनीहरू पनि त्यही यात्रासँग सम्बन्धित श्रमिक वा सहयोगी थिए भने, उनीहरूको योगदान, क्षति र परिवारको अवस्थालाई समान संवेदनशीलताका साथ सम्बोधन गरिनुपर्छ। किनकि घटनाबाट प्रभावित सबै मानिस हुन्। मानिसलाई पीडा हुन्छ। मानिसलाई डर लाग्छ। मानिसलाई बाँच्न मन लाग्छ।

संस्थासँगको सम्बन्ध, पेशा, राष्ट्रियता वा परिचय जे भए पनि, दुःख र मानवीय संवेदनाको आधारमा कसैको जीवनको मूल्य कम वा बढी हुनुहुँदैन। त्यसैले प्रश्न अझ गहिरो हुन्छ- यदि आध्यात्मिक संस्थासँग जोडिएको अभिव्यक्तिमा मानिसलाई ‘हाम्रो’ र ‘अरू’ भनेर छुट्याइएको अर्थ लाग्छ भने, त्यो ‘हाम्रो’ को घैंटो कहाँसम्म फैलिएको छ? आफ्नो संस्था? आफ्नो देश? आफ्नो समूह? आफ्नो परिचय?

मेरो बुझाइमा आध्यात्म भनेको आफूलाई अझ ठूलो संस्थासँग जोड्नु, आफ्नो आयतन वा परिधि विस्तार गर्नु मात्र पनि होइन; आफूले बनाएका सीमाहरूलाई क्रमशः भत्काउँदै जानु हो। घटाकाशबाट महाकाशतर्फको यात्रा गर्नु नै आध्यात्म हो।

यस घटनाको सन्दर्भमा भने एउटा कुरा स्पष्ट देखिए जस्तो लाग्यो- सद्गुरुको घैंटो ठूलो भएको छ, तर फुटेको छैन। किनकि घैंटो जति ठूलो बनाए पनि, त्यो घैंटो नै हो। घैंटो फुटेपछि मात्र आकाशको कुनै ‘हाम्रो’ हुँदैन। आकाश केवल आकाश हुन्छ।

घरमा चुलो बाल्न, बालबच्चालाई स्कूल पठाउन र परिवारको जीवन चलाउनकै लागि १२–१३ वर्षदेखि कैलाश यात्रासँग जोडिएर काम गरिरहेका नेपाली गाइड तथा सहयोगीहरू र मोक्षको खोजीमा कैलाश जाने तीर्थयात्री बीच तात्त्विक भिन्नता के हो?

दुवैको उद्देश्य फरक हुन सक्छ। एउटाले रोजगारी मार्फत जीवन धानिरहेको हुन्छ। अर्कोले आध्यात्मिक अर्थ वा मुक्ति खोजिरहेको हुन्छ। तर दुवैको जीवन समान रूपमा मूल्यवान् छ। एउटाको ‘प्राप्ति’ घरको चुलो बल्नु हुन सक्छ। अर्काको ‘प्राप्ति’ मोक्ष हुन सक्छ।

कैलाशमा मोक्ष खोज्ने गुरु र कैलाशमा जीवन धान्ने बाटो खोज्ने नेपाली बीचको सम्बन्धमा गुरुको करुणा, संस्थाको जिम्मेवारी र पारदर्शी सहयोग पुल बन्न सकोस्।

तर दुवै मानिस केही खोजिरहेका छन्। प्राप्तिको चाहनामै रुमल्लिएका छन्! यहाँ पनि फेरि अर्को प्रश्न उठ्छ- मोक्ष खोज्नेको यात्रालाई मात्र आध्यात्मिक र जीवन धान्न खोज्नेको यात्रालाई केवल सांसारिक भनेर हेर्न मिल्छ?

मोक्षको खोजीमा कैलाश जानेहरूले आफ्नो खोजको केही अर्थ पाए कि पाएनन्, त्यो मलाई थाहा छैन। तर यदि केही नेपालीहरू घरको चुलो बाल्न, छोराछोरी पढाउन र परिवारको जीवन धान्न १२–१३ वर्षदेखि त्यही यात्रामा आफ्नो श्रम, समय र जीवन लगाइरहेका थिए भने, दुर्घटनापछि उनीहरूका परिवारको आर्थिक अवस्था निश्चित रूपमा गम्भीर रूपमा प्रभावित भएको छ। यही कुरा सद्गुरु र सम्बन्धित संस्थाको ध्यानसम्म पुग्नुपर्छ।

७७ जनाको सूचीमा नपरेका थप नेपालीहरू पनि उक्त घटनाबाट प्रभावित भएको पुष्टि भएमा, उनीहरूको अवस्था र परिवारको आवश्यकतालाई पनि समान प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ।

यदि उनीहरू सम्बन्धित यात्रासँग कामका कारण जोडिएका थिए भने राहत, क्षतिपूर्ति, उपचार, रोजगारी पुनर्स्थापना वा परिवारलाई आवश्यक सहयोग बारे स्पष्ट योजना सार्वजनिक गरिनुपर्छ। किनकि उनीहरू त्यहाँ केवल कैलाश दर्शन गर्न गएका थिएनन्। उनीहरूका लागि त्यो रोजगारी थियो।त्यो परिवार पाल्ने माध्यम थियो।त्यो छोराछोरीको भविष्य थियो।

अन्ततः उनीहरूको जीवनको ‘प्राप्ति’ शायद यही थियो— घरको चुलो बलिरहोस्। आज त्यो चुलो निभ्ने अवस्था आएको छ भने, आध्यात्मिकताको सबैभन्दा ठूलो परीक्षा यहींबाट शुरु हुन्छ। करुणा केवल शब्दमा होइन, दुःखमा परेका मानिसको जीवनमा पुग्ने जिम्मेवारीमा देखिनुपर्छ।

कैलाशमा मोक्ष खोज्ने गुरु र कैलाशमा जीवन धान्ने बाटो खोज्ने नेपाली बीचको सम्बन्धमा गुरुको करुणा, संस्थाको जिम्मेवारी र पारदर्शी सहयोग पुल बन्न सकोस्। मोक्ष कसले पायो, कसले पाएन- त्यो अर्को प्रश्न हो।

तर अहिले एउटा कुरा स्पष्ट छ- ७७ जनाको सूचीमा नपरेका थप नेपालीहरू पनि उक्त घटनाबाट प्रभावित भएको पुष्टि भएमा, उनीहरूका परिवारको अवस्था निष्पक्ष रूपमा मूल्याङ्कन गरी आवश्यक सहयोग उपलब्ध गराइनुपर्छ। ती घरमा चुलो बलिरहनुपर्छ।

आध्यात्मिक यात्रा घैंटो ठूलो बनाउने यात्रा होइन, यो घैंटो फुटाउने यात्रा हो। यो प्राप्तिको होइन, यो विलयको यात्रा हो। सद्गुरुको घैंटो फुट्न सकोस्- सबै सीमा विलय होऊन्।

भवतु सर्वमङ्गलम्।

लेखक
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?