
२ साउन, काठमाडौं । सरकारले देशभरका ३१८ वटा स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म १ हजार ५ सय ७४ वटा वडा कार्यालयसम्म इन्टरनेट पुगेको छ ।
सरकारले देशका हरेक वडा, स्वास्थ्य केन्द्र र माध्यामिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य गत आवको बजेटमा लिएको थियो । यस अवधिमा १ हजार ५ सय ६७ स्वास्थ्य केन्द्र र १ हजार ८ सय ४९ सामुदायिक माध्यामिक विद्यालयसम्म इन्टरनेट सेवा बिस्तार भएको मन्त्रालयले बुधबार सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।
भर्खरै शुरु भएको नयाँ आर्थिक वर्षको अन्त्यसम्म बाँकी सबै वडा कार्यालय, सबै स्वास्थ्य केन्द्र र विद्यालयमा इन्टरनेट पुर्याइसक्ने लक्ष्य लिइएको छ । सरकारले चालु आवको बजेटमा पनि यस लक्ष्यलाई उल्लेख गरेको छ ।
३९३ स्थानीय तहको आफ्नै मोवाइल एप
स्थानीय तहलाई सर्वसाधारणसँग नजिक बनाउन, सुशासन कायम गर्न, पहुँच सहज बनाउन गत वर्षदेखि स्थानीय तहको मोवाइल एप निर्माण काम शुरु भएको थियो ।
प्रधानमन्त्री केपि शर्मा ओलीबाटै यसको शूरुवात भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म ३९३ वटा स्थानीय तहको आफ्नो मोवाइल एप निर्माण भइसकेको छ । मोवाइल एप संचालनबाट स्थानीय तहको वित्तीय तथ्यांक प्राप्तीमा पनि सहयोग पुगेको मन्त्रालयले उल्लेख गरेको छ । सबै स्थानीय तहको वेवसाइट पनि निर्माण भई संचालनमा छन् ।
यसैगरी, सरकारले सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्दैछ । त्यसका लागि अहिले देशभरका ९३० विद्यालय छनोट भइसकेको मन्त्रालयले उल्लेख गरेको छ । ती विद्यालयमा उपकरण जडान गरी विद्यालयलाई सुविधा सम्पन्न बनाउने योजना सरकारको छ ।
प्रतिक्रिया 4