Comments Add Comment

पोखरा रंगशालामा रमिता : म्याद मिति नाघिसक्दा डिजाइन छैन, छरेको गिटी उठाउनुपर्ने

कात्तिक १५ भित्र काम सक्न निर्देशन

२ साउन, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नेतृत्व सम्हालेपछि शनिबार पोखरा पुगेका सदस्य सचिव रमेश सिलवालले भने, ‘कसले बुद्धि दियो मलाई थाहा छैन । पोखरा जस्तो प्रकृतिको सुन्दर नगरीमा आर्टिफिसियल ग्राउण्ड (कृतिम घाँसे मैदान) बनाउन गइरहेका छौं । यस्तो पनि कहि हुन्छ ?’

पोखरेलीहरु पहिलेदेखि नै कृतिम घाँसे मैदानको विपक्षमा थिए । त्यसलाई बुझेका सिलवालले काठमाडौं फर्किए लगतै खेलकुद मन्त्रालय, राखेप पदाधिकारी र ठेकदार कम्पनीको बैठक राखेर निर्णय गराए, प्राकृतिक घासे मैदान बनाउने ।

एक त निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजि्रँदा पनि डिजाइन फाइनल नहुँदा अडि्एकको काम, त्यसमाथि कृतिम घाँसे मैदान नराख्ने निर्णयपछि अन्यौल थपिएको छ ।

मंसिरमा हुने भनिएको दक्षिण एशियाली खेलकुद (साग)सम्म मैदान तयार हुनेमा शंका उब्जिएको छ ।

२६ फागुनमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिकले फुटबल मैदान निर्माणको शिलान्यास गर्दा असारभित्रै काम सक्ने भनिएको थियो । भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिले ४ महिनामा सक्ने गरी १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता गरेका थिए ।

तर अहिलेसम्म राखेपले डिजाइन नै पास गरेको छैन । ठेकदार कम्पनीले नाली र एथलेटिक्स ट्रयाकको बेस बनाउनुका साथै कृतिम घाँसे मैदान राख्न गिट्टी विच्छाएको छ ।

आर्टिफिसियल वा प्राकृतिक जे बनाए पनि हुने भन्ने खालको कुरा भएकाले आर्टिफिसियल बनाउन गिटी बिच्छ्याइएको प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले बताए ।

नयाँ निर्णयपछि बिच्छाइएको गिटी उठाउनु पर्ने भएको छ । ठेकेदार कम्पनीले नै जोखिम लिएर गिटी हालको पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रमिस ताम्राकारले बताए । परिषदले डिजाइन पास गरेपछि मात्रै मैदान कस्तो बन्छ भन्न सकिने समेत उनले बताए । ‘निर्माण सम्झौताअनुसार अहिलेसम्म काम सकिनुपथ्र्यो तर, डिजाइन पास नभएकै कारण ढिलाइ भएको हो,’ ताम्राकारले भने, ‘छिट्टै डिजाइन पास हुने कुरा छ ।’

शुक्रबार बस्ने बैठकले फुटबल मैदानको डिजाइन पास गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए ।

मंगिर १५ गतेबाट हुने साग खेलअन्तर्गत महिला फुटबल यही मैदानमा गर्ने तय भएको छ ।

साग सुरु हुनुभन्दा अघिल्लो महिना (कात्तिक १५ भित्र) रंगशाला निर्माण सक्ने भनिएको छ ।

नयाँ बन्ने पोखरा रंगशाला १५ हजार ५ सय दर्शक क्षमताको हुनेछ । रंगशालाको चारैतिर छानासहित प्यारापिट रहने छ । मैदानको छेउमा सिन्थेटिक ट्रयाक रहने छ ।

नयाँ बन्ने फुटबल मैदानमा विशिष्ट कक्षसहित चेन्जिङ रुम र कन्फ्रेन्स हलसमेत हुने छ ।

विसं २०३९ बनेको रंगशालाको विशिष्ट कक्ष ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment