Comments Add Comment

छापामा आज : जग्गा सरकारी, दर्ता निजी, मोही बाग्मती खोलो

३ साउन, काठमाडौं । ५ जना घाइते हुनेगरी धनगढीमा भएको बम विस्फोट आजका सबैजसो दैनिक पत्रिकाहरूको पहिलो पृष्ठमा समेटिएको छ । त्यस्तै, पेट्रोलियम पाइपलाइन, न्यायाधीश सरुवा पनि पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेकका सामग्रीहरूमा भने विविधता छ ।

पेट्रोलियम पाइपलाइनबाट आउने इन्धन भण्डारण गर्न पर्साको अमलेखगञ्जमा बनाइएको डिपोको तस्वीर छापेको कान्तिपुरले सिनामंगलको सरकारी जग्गा दुरुपयोगबारे आज सोधीखोजी गरेको छ । समाचार अनुसार, काठमाडौं सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । काठमाडौं मेडिकल कलेज अघिल्तिर पर्ने साविक कित्ता नं. ३६५ को उक्त जग्गाको विवरण मालपोत कर्याालय डिल्लीबजारको ढड्डाबाट भने गायब पारिएको छ ।

कान्तिपुर लेख्छ– सिनामंगलको फाँटमा बागमती खोला पसेपछि गुठी संस्थानले ०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलाई विभिन्न मुद्दा मामिला गरेर नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए । सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् ।

पहिरोपीडितको भावुक तस्वीर छापेको अन्नपूर्णले ‘गण्डकीमा बढे पर्यटक’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन् । एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो । अन्नपूर्ण, धौलागिरी, नीलगिरीलगायत हिमाली क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउँछन् ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको स्रोत नखुलेको ६१ करोड रुपैयाँ राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा भेटिएको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ ।

राजधानी र गोरखापत्रले पेट्रोलियम पाइपलाइनबारे प्राथमिकतापूर्वक समाचार बनाएका छन् भने कारोबारले खाडीका तीन देशमा एक वर्षमै दोब्बर कामदार पुगेको तथ्यांक प्रस्तुत गरेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment