Comments Add Comment

आजका पत्रपत्रिका : गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै भ्रष्टाचार मुद्दा दर्ता

कहाँका कर्मचारीले कोमार्फत खान्छन् घुस ?

४ साउन, काठमाडौं । शनिबारीय सामग्रीका साथ बजारमा आएका आजका अधिकांश दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा अनियमितता र बेथिति परेको छ । यद्यपि, केही दैनिक पत्रिकामा आशाको सञ्चार गराउने सकारात्मक खबर पनि छन् ।

कान्तिपुरले ‘चेपुवामा साना’ शीर्षक दिएर पृथ्वी राजमार्गको ट्राफिक अव्यवस्था र त्यसले निम्त्याएको दुर्घटनाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, नियमविपरीत राजमार्ग क्षेत्रमा सवारी सञ्चालन हुँदै आए पनि ट्राफिक प्रहरीले नजरअन्दाज गर्दै आइरहेको छ । ठूला सवारीले सानालाई हेप्दा दुर्घटनामा ज्यान गुमाउनेको संख्या उकालो लागेको कान्तिपुरको ठम्याइ छ ।

संयुक्त राष्ट्रसंघका ६ जना विशेष प्रतिवेदकले राष्ट्रिय मानव अधिकार आयोगको प्रस्तावित विधेयकको क्षेत्राधिकार नघटाउन गरेको आग्रहलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेको छ ।

आयोगको सिफारिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानूनको मान्यताविपरीत सरकारले विधेयक बनाएको भन्दै उनीहरूले चासो देखाएका हुन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत मणिप्रसाद भट्टराईमार्फत उनीहरूले विधेयकका त्रुटि औंल्याउँदै हालै सरकारलाई असहमतिपत्र बुझाएका हुन् ।

अन्नपूर्णले पुस्तकालयमाथि केन्द्रित रहेर रिपोर्ट छापेको छ । रिपोर्टअनुसार सरकारले स्थापना गरेका अधिकांश पुस्तकालय लथालिंग अवस्थामा छन् ।

जागिरको प्रलोभनमा पारेर मानव तस्करले ६ नेपाली अलपत्र पारेको खबर पनि पनि अन्नपूर्णमा छ । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडियामा अलपत्र परेका हुन् ।

भ्रष्टाचार बढेकोसम्बन्धी खबरलाई अन्नपूर्णले दोस्रो पृष्ठमा समेटेको छ । समाचार अनुसार भ्रष्टाचारमा दिनैपिच्छे मुद्दा दर्ता हुने गरेको छ ।

अन्नपूर्णमा सुरेन्द्र काफ्ले लेख्छन्– गत आर्थिक वर्ष (आव) मा कुनै दिन यस्तो रहेन, भ्रष्टाचारका मुद्दा अदालतमा दर्ता नभएको होस् । अख्तियारले स्थापनाको २९ वर्षे अवधिमा गत आवमा सर्वाधिक मुद्दा दर्ता गरी इतिहासै रचेको छ ।

पछिल्लो वर्ष ३ सय ५१ मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । औसतमा प्रतिकार्य दिन १.१९ वटा मुद्दा विशेषमा दर्ता गरिएको अख्तियारको प्रगति विवरणले देखाएको छ ।

अख्तियार कार्यालय एक वर्षमा २ सय ९४ दिन खुल्यो । ०७५–७६ मा प्रत्येक दिन कम्तीमा एक मुद्दा दर्ता भएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताएको समाचारमा उल्लेख छ ।

राजधानीले पनि ‘फेरिएन घुस्याहा कर्मचारीको प्रवृत्ति’ शीर्षकमा मुख्य समाचार बनाएको छ । राजधानीका अनुसार सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ । घुस्याहा कर्मचारीका कारण सरकाको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने राजधानीको ठम्याइ छ ।

राजधानीले कहाँका कर्मचारीले कोमार्फत घुस खान्छन् भन्ने तथ्यसमेत प्रस्तुत गरेको छ ।
गोरखापत्रले नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज) बारे समाचार बनाएको छ । समाचार अनुसार, यसलाई दशैंदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment