Comments Add Comment

कुबेतमा अलपत्र महिला नेपाल फिर्ता

४ साउन, काठमाडौं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका कि अनु तामाङलाई नेपाल फर्काइएको छ ।

तामाङ राम्रो काम लगाइदिने आशमा छ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी थिइन् । तर, उनीमाथि शारीरिक तथा मानसिक यातना दिइएको थियो । यसबारे तामाङले सामाजिक सञ्जालमा गुनासो गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई शुक्रबार बिहान ११ः०० बजे एयरअरबिया एयरलायन्सबाट नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माले जानकारी दिइन् ।

पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए । अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ ।

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुबेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment