Comments Add Comment

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना

प्रयोगकर्ताको गोपनीयताबारे अध्ययन गर्न स्वतन्त्र समिति गठन हुने

९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो ।

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् ।

पछिल्लो समय फेसबुकको गोपनीयतालाई लिएर अनेक प्रश्न उठेका छन् । राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषयले त ठूलै हलचल आएको थियो । यो प्रकरणपछि एफटीसीले आरोपबारे छानबिन गरेको थियो । छानबिनका क्रममा फेसियल रिकग्निसन भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि प्रयोग गरिएको थियो ।

यो पनि पढ्नुहोस ‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! यसकारण छ खतरनाक

अनुसन्धानका क्रममा प्रयोगकर्ताका डाटाहरु एउटा अनलाइन क्विजमार्फत जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको पुष्टि भएको थियो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र बेलायतको ब्रेक्जिट जनमत संग्रहको नतिजा प्रभावित पार्न पनि यस्ता डाटा प्रयोग गरिएको अभियोग लाग्दै आएको छ ।

गएको अक्टुबरमा क्याम्ब्रिज एनालिटीको डाटा विवादमा फेसबुकको भूमिकालाई जिम्मेवार ठहर्‍याउँदै बेलायतको डाटा संरक्षण गर्ने एक सरकारी निकायले ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

फेसबुकले समिति बनाउने

फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताको गोपनीयताप्रति सचेत रहेको बताउँदै आएका छन् । उनले विगतका कमजोरी सच्याउने प्रतिबद्धता पनि जनाइसकेका छन् ।

तर, अब यो प्रतिबद्धताले मात्रै नपुग्ने भएको छ । एफटीसीले फेसबुकमाथि जरिवाना गराउँदै एक समिति पनि निर्माण हुने जनाएको छ, जसले प्रयोगकर्ताको गोपनीयताबारे जाँच गर्नेछ ।

यसरी निर्माण हुने समिति स्वतन्त्र हुनेछ । बीबीसी समाचारमा उल्लेख भएअनुसार यसमा फेसबुकका संस्थापक मार्क जुकरवर्गको कुनै पनि नियन्त्रण रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment