Comments Add Comment

जापानी भाषा प्रशिक्षकलाई जापानमै तालिम, कात्तिकमा भाषा परीक्षा !

९ साउन, काठमाडौं । नेपालका जापानी भाषा प्रशिक्षकहरुलाई तालिमका लागि जापान लगिने भएको छ । त्यसका लागि श्रम मन्त्रालयमार्फत आवेदन खुला गरेको छ ।

नेपालबाट कामदार आपूर्तिका लागि तयारी गरिरहेको जापानले नेपालका भाषा प्रशिक्षण दिने संस्थाका प्रशिक्षकहरुलाई भाषाका न्युन्तम् पक्षहरुबारे जानकारी दिन लागेको हो । उनीहरुले तालिम लिएर फर्किएपछि नेपालमा भाषासँगै कामको प्रकृतिअनुसार भाषा परीक्षाका मापदण्डहरुबारे प्रशिक्षण चलाउनेछन् ।

श्रम मन्त्रालयका एक अधिकारीकाअनुसार भाषा परीक्षाका लागि विभिन्न तयारीहरु भइरहेको छ ।

जापानले नेपालमा प्रोमेट्रिक नामक संस्थालाई भाषा परीक्षा सञ्चालन गर्ने अनुमति दिइसकेको छ । जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा नेपालमा कात्तिकको १०, ११, १८ र १९ गते भाषा तथा सीप परीक्षा गर्न प्रस्ताव गरेको छ तर, यसबारे श्रम मन्त्रालयलाई लिखित रुपमा जानकारी आइसकेको छैन ।

मन्त्रालयले दिएको जानकारीअनुसार पहिलो चरणमा जापानले नेपालबाट नर्सिङ केयरमा कामदार आपूर्ति गर्दैछ ।

जापानले पहिलो चरणमा नेपालसहित कम्बोडिया, फिलिपिन्स, म्यान्मार र मंगोलियाबाट कामदार लैजाने बताएको छ । जापानले यिनै देशबाट ३ सिजनमा ४०÷४० जना भाषा प्रशक्षिकलाई लगेर तालिम दिन लागेको छ । यसमध्ये २ वटा चरणको प्रशिक्षणमा नेपाली भाषा प्रशिक्षकहरु सहभागी हुन पाउनेछन् ।

नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ । दोस्रो वर्ग (एसएसडब्लू (आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । १४ मध्ये दुई वटा क्षेत्रमा मात्रै विशिष्टीकृत सिप परीक्षण हुने मन्त्रायका एक अधिकारीले बताए ।

बाँकी छनोटमा मुख्य रुपमा भाषालाई नै आधार मानिने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

१४ ‘क्याटेगोरी’ का लागि जापानी भाषा र सीप परीक्षा अलग–अलग समयमा हुने बताइएको छ ।

कम्प्यूटरमा आधारित परीक्षा हुने भएकाले त्यसैअनुसार कामदारले तयारी गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ । र, भिसा आएपछि मात्रै कामदारले जापानलाई श्रम गन्तब्य बनाउन पाउनेछन् ।

जापानले नेपाल सरकारलाई दिएको अनौपचारिक जानकारीअनुसार २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए–नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् ।

जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । ‘एन–४’ तहको भाषा परीक्षा लिइन्छ ।

कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यावधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने अनुमान छ ।

त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ । जापान जना शैक्षिक योग्यता तोकिएको छैन । उमेर भने १७ वर्ष माथि हुनुपर्छ । जापानले नेपालबाट कति काकदार लैजाने भन्ने संख्या तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment