+
+
Shares

दशगजाको बस्ती : वर्षेनी डुवानले सास्ती

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १९:४८

१० साउन, वीरगञ्ज । वर्षा रोकिएपछि तराई मधेसका अधिकांश स्थानको डुवान हटेको छ । तर, पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं ४ धोविया टोलामा पानी हटेको छैन ।

११० घरधुरी मुस्लिम समुदाय बस्ती दशगजामा छ । बस्तीमै ४०५ नम्बरको पिलर छ ।

सीमा पारी पूर्व पश्चिम फैलिएको गण्डक नहर र रेल्वे लिकले बाँधको काम गरिदिँदा वर्षाको पानीको निकास हुन नसकेको हो ।

पानी पर्ने वित्तिकै धोवियाटोलाका बासिन्दाको सास्ती शुरु हुन्छ । गत असार २४ गतेपछि निरन्तर भएको वर्षापछि पनि बस्ती डुबानमा परेको छ ।

अहिलेसम्म बस्तीको चारैतिर पानी नै पानी जमेर बसेकोे स्थानीय बताउँछन् । गण्डक नहरका लागि झकडा मसिहानी स्थित गंगोल (पुराना) खोलामा बनाएको पुलबाट गाउँमा पानी पस्ने गरेको छ । तर, पानीको निकासका लागि कुनै व्यवस्था छैन ।

बस्ती डुबानमा परेको भएपनि उनीहरुले अहिलेसम्म राहत पाएका छैनन् । कतिपयको घर नै लडेको छ, घर नलडे पनि पानी पसेर खत्तम पारेको छ तर राहत मिलेको छैन । स्थानीयको गुनासो छ ।

वडा नं ४ का अध्यक्ष ढेडी यादव सीमा क्षेत्रमा भएको बस्ती वर्षेनी डुबानमा पर्ने गरेको बताउँछन् । ‘अहिले पनि धोविया टोलालाई चारैतिर पानीले घेरेको छ ,’ उनले भने ।

कतिपयले पक्की घर निर्माण गरेर बसेकोले उनीहरुसँग स्थानान्तरण गर्नेबारे कुरा गर्ने बित्तिकै पन्छिने गरेको उनी बताउँछन् । ‘बाउ बाजेको पालादेखि बसेको ठाउँभनेर छोड्न मान्दैनन् । पछिल्लो वर्षामा पनि नजिकैको स्कुलमा गएर बसिदिनुस, खानेकुराको म बन्दोबस्त गर्छु भन्दा पनि मानेनन्,’ उनले भने ।

बस्तीमा पहिलो दिन आफूले चिउरा, दालमोठ, पानी बाढेको भएपनि त्यसपछि कुनै राहत वितरण नभएको उनको भनाइ छ ।

बस्तीको स्थलगत अवलोकनका लागि पुगेका सामाजिक अभियन्ता प्रकाश थारु कुटनीतिक पहलका माध्यमबाट पानीको निकास खोलाउने वा बस्ती सार्ने बाहेक अर्को विकल्प त्यहाँ नदेखिएको बताउँछन् । ‘घर घरमा पानी पस्ने रहेछ, भागेर जाने ठाउँ पनि कतै देखिन्न,’ उनले भने, ‘कि त बस्ती छार्नुपर्छ, कि कुटनीतिक पहल गरेर पानीको निकासका लागि प्रबन्ध गर्नुपर्छ ।’

असल छिमेकी नेपालका पर्सा प्रतिनीधि प्रेम घिमिरेले स्थलगत अवलोकनका क्रममा पर्साको भेलाही, लवाहर थकरी, खेस्राहालगायतका स्थानमा बाढी प्रभावितले राहत नपाएको गुनासो गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?