Comments Add Comment

के तपाईंले समय र अवसर अनुसार मेकअप गरिरहनु भएको छ ?

राम्री हुनु हरेक नारीको चाहना हो । हरेक उमेरका महिलाहरु आफू सुन्दर देखियोस् भन्ने चाहान्छन् । यद्यपि, मौसम, समय, उमेर तथा अवसर अनुसार मेकअप गर्न नजानेर उनीहरु निरास समेत हुन्छन् ।

जाडो र गर्मी मौसममा गरिने मेकअपमै धेरै अन्तर हुन्छ । अझ तपाईंको उमेर अनुसार तपाईंले गर्ने मेकअप सुहाउने अथवा नसुहाउने भन्ने हुन्छ । यहाँ हामी महिलाहरुले अवसर र मौका अनुसार कस्तो र कसरी मेकअप गर्ने भन्ने बारेमा चर्चा गर्दैछौं ।

यदि तपाईं आफ्नो अनुहारलाई र्फमल लूक दिन चाहानु हुन्छ भने तपाईंले हल्का मेकअप गरे पुग्छ । यस्तो लूकका लागि सकेसम्म थोरै मेकअप गर्नु पर्छ । हल्का मेकअप गरेपछि तपाईंले आफ्नो कपाललाई पछाडि राखेर बाँध्नु भयो भने अझ राम्री देखिन्छ ।

यदि तपाईं पार्टी जाँदै हुनुहुन्छ भने पार्टी मेकअप गर्नु पर्छ । त्यसका लागि तपाईंले लाइट मेकअप गर्नु पर्छ । मेकअप गर्दा गाजल, ब्लसर तथा न्यूड लिपस्टिकको प्रयोग गर्न सकिन्छ । तपाईंको कपाल छोटो छ भने खुल्लै राख्न सक्नु हुन्छ । लामो छ भने पछाडि पोनीटेल बनाउन सकिन्छ ।

क्याजुअल लुकका लागि पनि हल्का मेकअप नै पर्याप्त हुन्छ । त्यसका लागि तपाईंले आँखामा हल्का गाजल तथा ओठमा लिपग्लस उपयुक्त हुन्छ ।

यदि तपाईं कुनै जागिरको लागि अन्तर्वाता दिन जाँदै हुनुहन्छ भने तपाईं स्मार्ट देखिनु पर्छ । यसका लागि पनि तपाईंले साधारण मेकअप गर्दा पुग्छ । धेरै भद्दा मेकअप तथा गाढा रंगका सौन्दर्य सामाग्रीको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन ।

चाडपर्वको अवसरमा हामी प्राय परम्परागत पहिरनहरु लगाउँछौं । त्यसैले आफ्नो रुपलाई परम्परागत शैलीमा ढाल्नका लागि आँखामा गाढा तरिकाले गाजल लगाउनु पर्छ । यसका साथै तपाईंले आईस्याडो पनि राम्ररी नै लगाउन सक्नु हुन्छ । ओठमा भने न्यूड कलरकै लिपस्टिक राम्रो देखिन्छ ।

आफ्नो लुकलाई अरु भन्दा पृथक देखाउनका लागि आँखालाई विशेष तरिकाले सजाउन सक्नु हुन्छ । त्यसका लागि आँखाका विभिन्न तरिकाका मेकअप रोज्न सकिन्छ ।

हिजोआज बजारमा स्मोकी लुकको चर्चा हुन्छ । आफूलाई स्मोकी लूकमा सिगार्नका लागि इयर बडको सहायताले गाजललाई आँखाको माथिल्लो डिलमा दल्नु पर्छ । त्यसपछि एउटा राम्रो लिप पेन्सिलमा गाजल लगाएर हल्का दल्नु पर्छ ।

कलेज जाने किशोरी तथा युवतीहरुले आँखामाथि फाउन्डेसन पनि लगाउन सक्छन् । यसले उनीहरुको आँखाको वरिपरिको भाग घामबाट सुरक्षित हुन्छ । कलेज जाने छात्राहरुले आइस्याडो लगाउनु हुँदैन । उनीहरुले पातलो आइलाइनर तथा मस्काराको प्रयोग गर्न सक्छन् ।

यदि तपाईं कामकाजी हुनुहुन्छ र नियमित अफिस जानुहुन्छ भने हरेक दिन अनुहारमा हल्का फाउन्डेसन लगाउनु पर्छ । आँखाको परेलालाई हल्का हातले कर्ल गर्न सक्नु हुन्छ । हल्का मस्कारा लगाउन बिर्सनु हुँदैन । आँखाको माथिल्लो भागमा पातलो आइलाइनर लगाउन सक्नु हुन्छ । आँखाको लागि तपाईंले आई पेन्सिल पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यदि तपाईं हतारमा हुनुहुन्छ र आँखाको मेकअपलाई समय दिन भ्याउनु हुन्न भने खैरो रंगको आइस्याडो प्रयोग गर्नु पर्छ । त्यसलाई आँखाको माथिल्लो डिललमा हल्का तरिकाले लगाउनु पर्छ । तपाईं आवश्यकताभन्दा बढि मस्कारा समेत लगाउन सक्नु हुनेछ । आँखाको तल्लो भागमा गाजल लगाउन सकिन्छ ।

दुई मिनेटमै मेकअप

यदि तपाईं दुई मिनेटमै तयार हुन चाहानु हुन्छ भने त्यो पनि सम्भव छ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो अनुहार सफा गरेर अनुहार र गर्धनमा फाउन्डेसन लगाउनु पर्छ । त्यसपछि कम्प्याक्ट अथवा ट्रान्सलुसेन्ट पाउडर लगाउनु पर्छ ।
कालो रंगको आइलाइनरबाट आँखालाई सजाउनु पर्छ । त्यसपछि मस्कारा लगाउनु पर्छ । यदि तपाईं आफूलाई जवान देखाउन चाहानु हुन्छ भने अनुहार (गाला) मा गुलावी रंगको ब्लस लगाउनु सक्नु हुन्छ ।

पाँच मिनेटको मेकअप

अनुहार राम्ररी सफा गरेपछि मोइस्चराइजर लगाउनु पर्छ । त्यसपछि मात्र फाउन्डेसन लगाउनु पर्छ । त्यसपछि फाउन्डेसन ब्रसबाट ब्लेन्ड गर्नु पर्छ । त्यसले अनुहारलाई राम्ररी ढाक्छ र अनुहारको सबै भाग कभर हुन्छ । आइलाइनर र आफूले लगाएको पहिरन अनुसारको आइस्याडो लगाउनु पर्छ । मस्काराले आँखालाई थप सुन्दर बनाउन सकिन्छ । ओठलाई आकर्षक बनाउन लिप ब्रसले हल्का रंग लगाउन सकिन्छ ।

पन्द्र मिनेटको मेकअप

अनुहार सफा गरेपछि फाउन्डेसन लगाउनु पर्छ । यदि तपाईंको अनुहारमा डार्क सर्कल तथा दागहरु छन् भने तीनलाई कन्सिलरको सहयोगबाट लुकाउनु पर्छ । अनुहारमा टान्सलुसेन्ट पाउडर प्रयोग गर्नुपर्छ । आँखामा गुलावी आइस्याडो लगाउनु पर्छ र साथसाथै आइलाइनर र गाजल पनि लगाउनु पर्छ ।

मस्काराको प्रयोगले आँखालाई थप आकर्षक बनाउन सकिन्छ । गुलाबी रंगको ब्लस अनुहारमा लगाउनु पर्छ । ओठको आकर्षण बढाउन कलर ग्लस प्रयोग गर्नु पर्छ ।

तीस मिनेटको मेकअप

सामान्यतया ३० मिनेटमा एउटी महिलाले पूर्ण रुपमले मेकअप गर्न सक्छिन् भन्ने मान्यता छ । त्यसका लागि सबैभन्दा पहिला कन्सिलरबाट अनुहारको दाग अथवा डार्क सर्कललाई हटाउनु पर्छ । तपाईंको अनुहारको छालाको रंगभन्दा एक सेड हल्का फाउन्डेसन लगाउनु पर्छ । आँखामा हल्का हरियो आइस्याडो लगाउन सकिन्छ । आँखालाई आकर्षक बनाउनका लागि आँखाको तल्लो भागमा नीलो रंगको आई पेन्सिल प्रयोग गर्नु पर्छ । मस्कारालाई दुई-तीन तहसम्म प्रयोग गर्न सकिन्छ ।

ओठमा कलर ब्लस लगाउन छुटाउनु हुँदैन । यदि तपाईंको कपाल छोटो छ भने त्यसै छाडिडिँदा पनि तपाईंलाई राम्री देखिन्छ । अथवा तपाईंले चल्तिको हेयर स्टायलले आफ्नो कपाल सजाउन सक्नु हुनेछ ।

यसबाहेक निम्न लिखित उपायहरु अपनाएर पनि तपाईं राम्री बन्न सक्नु हुनेछ ।

-यदि तपाईंको अनुहारमा दागहरु छन् भने गाढा पहेंलो अथवा सुनौलो रंगको फाउन्डेसन प्रयोग गर्नुपर्छ । यदि तपाईंको अनुहार सफा छन भने मोइस्जराइजर तथा सियर फाउन्डेसन लगाउनु पर्छ । यसले तपाईंको लुकलाई प्राकृतिक बनाउँछ ।

-यदि तपाईंको आँखामुनि डार्क सर्कल छ भने त्यसलाई हटाउन अथवा लुकाउनका लागि हल्का सेड भएको फाउन्डेसन लगाउनुपर्छ र त्यसलाई डार्क सर्कल आएको भागतिर फैलाउनु पर्छ ।

-यदि तपाईंका ओठहरु समान आकारका छैनन, एउटा ओठ पातलो तथा अर्को ओठ मोटो छ भने पातलो ओठलाई मोटो बनाउन ओठभन्दा थोरै माथितर्फ आउटलाइन गरी मोटो ओठसित सन्तुलन मिलाउन सकिन्छ । तपाईंको अनुहारको तुलनामा ओठको आकार सानो छ भने ओठको भागभन्दा थोरी बाहिरतर्फ आउटलाइन गरेर लिपस्टिक लगाउन सकिन्छ ।

-यदि तपाईंको निधनर धेरै चौडा छ र त्यसलाई सानो देखाउन चाहानु हुन्छ भने अनुहारमा प्रयोग गरिने रंगभन्दा तीन सेड गाढा रंग छनोट गर्नुपर्छ । त्यसलाई निधारको अन्तिम भाग अर्थात हेयर लाइनबाट प्रारम्भ गर्नुपर्छ । त्यसपछि मुनितिर ल्याउँदै अनुहारको रंगसंग मिलाउनु पर्छ ।

-यदि तपाईंको अनुहार छाला सफा छ भने गाढा रंगको लिपिस्टिक लगाउनु हुँदैन । सफा छालामा हल्का रंग नै सुहाउँछ । तपाईंको छाला हल्का खस्रो छ भने रातो अथवा गाढा रंगको लिपस्टिक तपाईंलाई सुहाउँछ । तपाईंको ओठ मोटो छ भने पनि गाढा लिपिस्टिक नै सुहाउँछ । हल्का लिपिस्टिकले ओठ झन् मोटो देखिन्छ । गाढा लिपिस्टिकले भने ओठ पातलो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment