Comments Add Comment

राहत प्याकेजसहित प्रधानमन्त्रीले बाढी पीडितलाई भेट्ने

पीडितलाई घर र रोजगारी दिने घोषणा

१७ साउन, काठमाडौं । प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने भएका छन् । शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जानेछन् ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी लिएका ओलीले आफू राहतको विशेष प्याकेज लिएर बाढीपीडित जनतालाई प्रत्यक्ष भेट्न जाने बताए ।

प्रधानमन्त्रीले प्रदेश सरकारमार्फत पठाइएको तत्कालको राहत प्रभावकारी रुपमा वितरण नभएको गुनासो आएको भन्दै अब संघीय सरकार आफैं जाने बताए । उनले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारीसमेत दिइने बताए ।

प्रधानमन्त्री समक्ष बाढीपीडित क्षेत्रका सांसदको तर्फबाट नेकपाका प्रदेश २ अध्यक्षसमेत रहेका सांसद प्रभु साहले बाढीपीडित जनतामा संघीय सरकार नदेखिएको बताए । उनले संघीय सरकारले राहतका लागि प्रदेश सरकारमार्फत पठाएको पैसा मधेसवादी दलका कार्यकर्तामार्फत बाँडिदा वास्तविक पीडितले नपाएको दावी गरे ।

नेकपा प्रदेश अध्यक्ष साहले जनताले आफ्नै घर आँगनमा कम्युनिस्ट पार्टीको सरकार देख्नका लागि पनि संघीय सरकारले नै बाढीपीडित जनतालाई राहत दिनुपर्ने बताएका थिए ।

नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलसहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेटेर मधेसका बाढीपीडितको अवस्थाबारे जानकारी गराएका थिए । भेटमा नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment