Comments Add Comment

भीमदत्तको किसान विद्रोह र अहिलेका कम्युनिस्ट नेता

“कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो ।” एक साहसिक योद्धा, किसान आन्दोलनका सुत्रधार भीमदत्त पन्तले आज भन्दा ६९ वर्ष पहिले लगाएको नारा हो यो । नेपालको किसान आन्दोलनको यात्रामा समेटिएको एक विद्रोही नाम हो भीमदत्त पन्त ।

डडेलधुरा जिल्ला सदरमुकाम नजिकै कारीगाँउमा तारानाथ पन्तकी धर्मपत्नी सरस्वती पन्तको कोखबाट वि.सं. १९८३ साल मङसिर १० गते जन्मिएका पन्तको तत्कालीन प्रजातान्त्रिक सरकारले ६७ वर्ष पहिले ०१० साल श्रावण १७ गते षड्यन्त्रपूर्ण हत्या गरेको थियो । गरिब, किसान र निमुखाको मुक्तिका लागि टाउकोमा कात्रो बाँधेर आन्दोलनमा हिँडेका एक साहसिक योद्धा आज हाम्रा बीचमा नरहे पनि स्मरण भने ताजै छ ।

झुटा तमसुक च्यात्ने, महिला जागरण, शैक्षिक आन्दोलन, नुन आन्दोलन र किसान मुक्ति आन्दोलनका नायक पन्त सानैदेखि जुझारू, संघर्षशील, अत्याचार र समाजिक कूरीति तथा रूढीवादी परम्परा तोडन अग्रसर भए।

मुक्तिको आन्दोलनमा लागेकै कारण जालिफटाहाको आँखाको कसिङ्गर वनेका पन्त अन्ततः सरकारी गोलीबाटै शाहदत भए । पाँच वर्षमै आमाको न्यानो कोख गुमाएका पन्तले सीमावर्ती भारतीय भूमि सिगाँईमा आफन्तको संरक्षणमा अध्ययन सुरु गरे । भारतमा स्वतन्त्रता आन्दोलन चर्केको र नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दशरथ चन्दको फाँसी दिएको घटनाले विद्रोही स्वभावका भीमदत्तलाई प्रभावित बनायो ।

आज सहीद भीमदत्त पन्त जिउँदा हुन्थे भने कम्युनिस्टकाे खोल ओडेर कमिसनको खेलमा लागेका नव कम्युनिस्टहरुविरुद्ध पनि त्यसैखालको विद्रोह गर्ने थिए होलान्, जुन विद्रोह उनले जाली फटाहविरुद्ध चलाएका थिए

१५ वर्षको उमेरमा १९९८ सालमा म्याट्रिक पास गरी नेपाल फर्केका पन्तले डडेलधुराको वीरखान, सोरठ र रूपालमा संस्कृत पाठशाला खोले। थप अध्ययन गर्न २००१ मा भारत पसेका पन्त पढाइ छोडेर भारतीय स्वतन्त्रता संग्राममा लागे । उनी १८ महिना इलाहावाद जेल बसे । भारतीय जेलबाट रिहाइ भएपछि नेपाल आएर राणा विरोधी सशस्त्र आन्दोलनमा सहभागी भए ।

२००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिएका पन्तले २००७ सालमा राजा, राणा र कांग्रेसका बीचमा भएको त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गरे । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि कांग्रेस छाडे र कम्युनिष्ट पार्टीमा लागे । २००७ साल पौष २६ गते डडेल्धुरालाई मुक्तिसेनाले कब्जामा लिएपछि भीमदत्त पन्त गभर्नर बने।

बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो
गरिबका दिन आयो ठालुको काल आयो

यो गीत गाउँदै पन्तले देशमा प्रजातन्त्र प्राप्त भए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखा परेका असमानता कायमै रहेको भन्दै आन्दोलन सुरू गरे। वि.सं. २००८ सालको अन्त्यतिर ‘कि त जोत हलो, कि त छोड थलो यदि होइन भने अब छैन भलो’, ‘किसान राज जिन्दावाद’, ‘शोषक सामन्त मुर्दावाद’, भन्दै कैलाली, कञ्चनपुर र डडेल्धुरालाई केन्द्र सशस्त्र किसान विद्रोह सुरु गरे ।उक्त विद्रोहले सामन्त, जमिन्दार र सरकारलाई निकै त्रसित बनायो । ‘तमसुक फाड आन्दोलन’ सुरु भयो । तमसुक नच्यात्नेलाई निशाना बनाइयो । ‘रोजिरोटी कपडा दे, नत्र गद्धी छोडिदे’ जस्ता नारा लगाउँदै ती क्षेत्रहरू किसानहरूको नियन्त्रणमा आए ।

रामहरि ओझा

२००९ सालमा सुदूरपश्चिम क्षेत्रमा नुनको अभाव भएका बेला ब्रह्मदेव मण्डीमा लुकाएको नुन गोदाममा आक्रमण गरी बजारमा बितरण गरे । आन्दोलन चर्किंदै जाँदा उनलाई ००९ साल चैत्र २७ गते गिरफ्तार गर्ने प्रयास गर्‍यो ।

नेपालको प्रजातान्त्रिक लडाइँ मात्रै नभएर भारतको स्वतन्त्रता संग्रामको आन्दोलनमा समेत महत्त्वपूर्ण योगदान दिएका पन्तको जनमुखी अभियान नेपालको प्रजातान्त्रिक सरकारलाई अपाच्य भयो । उनको टाउकोको मूल्य तोकियो ।

अन्ततः उनका आफ्नै मितलाई सरकारले उनी विरुद्धको हतियार बनायो । ०१० साल श्रावण १७ गते साउने झरीमा बुडर नजिकैको गैलेकको जगंलमा ओत लिइरहेका भीमदत्त एकाएक सेनाको घेराबन्दीमा पर्छन् । आफ्नै मित लालबहादुर थापा र भिम दयाल निर्धक्क मन बनाएर उनले मितसँग कुरा गर्न खोजेछन् ।

‘मितले मारी त हाल्दैनन् होला’ भन्ने सोचे होलान् उनले । तर आफ्नै मित यति लोभी होलान्,  दुई पैसाको लागि मितकै हत्या गर्लान् भन्ने उनले सोचेनन् ।आफ्ना कुरा राख्न नपाउँदै एक्कासि लाल बहादुरको बन्दुक पडकियो र रगतको फोहरा हमजाली मगरको घरसम्म पुग्यो रे । पाँच हजार कम्पनी रूपैयाँको लोभमा फसेर एउटा लम्पट आफ्नै मित किसान आन्दोनका नेता कमाण्डर र मुक्तिदाताको हत्या गर्‍यो ।

गोली हानी हत्याले मात्रै उनीहरुको भीमदत्तप्रतिको आक्रोस मत्थर भएन छ । लालबहादुका सहयोगी भिमवा दयालले कम्मरमा भिरेको खुकुरी निकालेर पन्तको मृत शरीरबाट टाउको छुट्याएछन् । छुट्टिएको टाउको स्थानीय किसानलाई बोकाएर सो समूह १८ गते डडेल्धुराको खलङ्गा पुगे ।

उनको हत्यापछि ठालुहरू जस्न मनाए । निमुखा, गरिब, किसानहरु शाेकाकुल भए । विष्ट, कठायत, ठकुराठी र थापाहरू ठूलो भोजको आयोजना गरे । गरिब निमुखाहरुले आँसु बगाए । पन्तको टाउकोलाई बासको लिङ्गोमा उनियो ।

डडेल्धुराको गौंडा गोस्वारा अगाडि बाँसको लिङ्गो गाडियो, पन्तको टाउकाका बन्द आँखा खुला गरियो । “देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै सजाय हुन्छ” भन्ने लेखेर टाउकोसंगै झुन्डाइयो । सार्वजनिक प्रदर्शनमा टाउको झुन्डाएपछि बडा हाकिम मोहनबहादुर सिंहले लालबहादुर थापालाई आफ्नै मितको हत्या गरी टाउको बुझाएको भन्दै पाँच हजार इनाम दिए ।

श्रीमानकाे टाउको माग्दै अनुनय विनय गर्दै रोईकराई रहेकी पन्तकी श्रीमती पार्वती देवी पन्तलाई तीन दिनपछि ३१ वटा सर्तमा औंठा छाप लगाएर अन्त्यष्टिका  लागि टाउको दियो। किसान आन्दोलनका कमाण्डरको अन्त्यष्टिमा सहभागी हुनबाट सर्वसाधरणलाई रोकियो । डडेल्धुराको घटाल (गैरी डोटी) बाबा मन्दिर छेउमा उनको अन्तिम संस्कार गरियो । षड्यन्त्रपूर्ण ढङ्गले मारिएका पन्तलाई सरकारले जंगलमा सेनासंगको दोहोरो भिडन्तमा मारिएको सार्वनजिक गर्‍यो। सो कारबाहीका लागि नेपाल आएको भारतीय सेना श्रावण २४ गते फर्किएको थियो ।

६७ वर्ष अघि भीमदत्त पन्तले अनुभव गरेको समाज आज पनि उस्तै छ । विभिन्न प्रकारका विभेदहरू कायमै छन्, समान्ती उत्पीडन कायमै छ, भ्रष्टाचार र महँगी मौलाएको छ, लाभान्स र निर्णय प्रक्रियामा अहिले पनि हुने खानेहरुकै बोलबाला छ । प्राकृतिक स्रोत र साधनमा आम जनताको पँहुच छैन । यो वा त्यो वहानामा आजसम्म पनि राष्ट्रियतामाथि प्रहार भइरहेको छ । अर्थात् नेपाली जनताले अहिले पनि स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् ।

देशमा संघात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । भीमदत्त पन्त आवद्ध भएको पार्टी नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमत प्राप्त सरकार छ । सातवटा प्रदेशममध्ये ६ प्रदेशमा नेकपाकै सरकार छ । बहुसंख्यक स्थानीय तहहरुमा नेकपाकै नेतृत्व छ । तर भीमदत्तको सपना साकार बनाउनेतिर न संघीय, न प्रादेशिक, न स्थानीय तहका सरकारहरुको नै ध्यान गएकाे छ । नेताहरुले भीमदत्त पन्तको नाम जोडेर थुप्रै भाषण गर्छन, उपसर्ग र प्रत्यय जोडेर थुप्रै भाषणहरु गर्छन । धेरैले उनको विषयमा लेखहरु लेख्छन्, सामाजिक सञ्जालमा भीमदत्त पन्तको गुणगान गाउँछन् तर के भीमदत्त पन्तले देखेका सपनाहरु, लिएको लक्ष पूरा गर्नका लागि अहिलेको नेकपा वा अहिलेको नेकपाबाट सरकारको नेतृत्व गरिरहेका नेताहरु, जनप्रतिनिधिहरु वा नेकपा हाँकिरहेका नेता कार्यकर्ताहरुले उनको सपना साकार गर्ने गरी वा उनीजस्ता तमाम योद्धाहरु जसले क्रान्तिको बिगुल फुक्दै युद्ध मैदानमा शाहदत प्राप्त गरेकोहरुको सपना साकार गर्ने गरी कुनै योजना बनाएका छन् ?

सत्तालिप्सा, चिल्ला गाडी र महलको जोहोमा लागिरहँदा, हिजोको कम्युनिस्ट शैलीबाट अहिलेको नवकम्युनिस्ट शैलीमा प्रवेश गरिरहँदा, कार्यकर्ताको फौज बनाउनुको सट्टा चाकरहरुको फौज बनाउने दौडमा लागिरहेका नेताहरुले प्रजातान्त्रिक सरकारबाटै टाउको छिनालिएका ती योद्धाको योगदान, वलिदान र सपनाको पनि एकपटक ख्याल गर्ने कि ?

यदि आज सहीद भीमदत्त पन्त जिउँदा हुन्थे भने कम्युनिस्टकाे खोल ओडेर कमिसनको खेलमा लागेका नव कम्युनिस्टहरुविरुद्ध पनि त्यसैखालको विद्रोह गर्ने थिए होलान्, जुन विद्रोह उनले जाली फटाहविरुद्ध चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment