Comments Add Comment

बिहेको खर्च कलेज र पुस्तकालयलाई

२१ साउन, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा. क्षमता सुवेदीले बिहेबाट बचेको पैसा छात्रवृत्ति र अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार उनीहरुले  प्रगतिशील बिहे गरेका थिए । दाङ तुलसीपुरका रेग्मी साविक माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने झापा दमककी सुवेदी क्रान्तिकारीकी समर्थक हुन् । उनीहरुले मैनबत्ती बालेर विवाह गरेका थिए ।

उनीहरुले झापाको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थी, झापाकै दमक अपाङ्ग सहयोग समिति र झापाकै बाल-वृद्ध आश्रमका लागि ५०-५० हजार नगद दिने घोषणा गरे । झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालय र सार्वजनिक पुस्तकालयलाई १०-१० हजार बराबरका पुस्तक दिने घोषणा पनि विवाह समारोहबाट गरिएको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको विवाह समारोहमा वर-वधुलाई बधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेतृ पम्फा भुसाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेता-कार्यकर्ताहरु पेरिसडाँडा पुगेका थिए ।

प्रगतिशील मान्यताअनुसार विवाहको मूल कर्म करिब ५ मिनेटमा सकिन्छ । मञ्च अगाडिको टेबलमा तीनवटा मैनबत्ती राखिएको हुन्छ । बीचको मैनबत्ती ठूलो हुन्छ । शुरुमा छेउँछेउँका एक-एकवटा मैनबत्ती वर र वधुका अभिभावकले सल्काउँछन् । त्यसपछि आ-आफ्ना अभिभावकले सल्काएको मैनबत्तीबाट वर-वधु दुवैले एकैसाथ बीचको ठूलो मैनबत्ती बाल्छन् । विवाह समारोहमा उपस्थित दर्शकले ताली बजाउँछन् । अनि वर-वधुले एकअर्कालाई फूलको माला लगाइदिन्छन् र प्रगतिशिल बिहे सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment