Comments Add Comment

एक्लो जीवन कति सहज ?

मानिसलाई आवश्यक पर्ने कुराहरु मध्ये समाज पनि एक हो । मानिस समाजमा बस्न चाहान्छ र रमाउछ पनि । समाजमा बस्न उसले धेरै नियम-कानूनहरु पनि पालना गर्नु पर्छ । त्यहि नियम-कानून भित्र विवाह पनि पर्दछ । कतिपय अवस्थामा हामी एक्लै जीवन बिताउन सक्षम र चाहाना हुँदाहुँदै पनि समाजका लागि विवाह गर्नु पर्ने बाध्यता हुन्छ ।

हाम्रो समाजमा विवाहलाई महत्वपुर्ण मानिन्छ, विवाह बिना जीवन अधुरो हुन्छ भन्ने धारणा पनि रहँदै  आएको छ । यस अर्थमा विवाह समाजको एउटा रुप नै हो । समाजमा विषेश गरेर महिलाहरुको लागि विवाह गर्नु पर्ने दवाव नै हुन्छ ।

समाजमा त्यो आमा-बुवालाई असफल मानिन्छ, जसले आफ्नो अन्तिम जिम्मेबारी अर्थात छोरीलाई विदा गरी अरुको घर पठाउन सक्दैनन् । कुनै कारणले छोरीको विवाह हुन ढिला भएको छ भने आमा-बुवाले त्यस्ता धेरै विधि अथवा उपायहरु अपनाउँछन्, जसको सहयोगले विवाह छिट्टो हुन्छ भन्ने धारणा हुन्छ ।

उनीहरु आफ्नो छोरीको लागि पत्रिकामा विज्ञापन दिएर वरको खोजी गर्नेदेखि लिएर कसरी हुन्छ छोरीलाई सुन्दर देखाउने, पण्डित र लमीको खल्ति भर्ने र मांगलिक छोरीको रुखसंग विवाह गराउने जस्ता अनेक उपायहरु गर्छन् । यी सबै कुरा आफ्नी छोरीको विवाह छिट्टो र राम्रो पुरुषसँग भए समाजमा आफ्नो इज्जत र प्रतिष्ठा कायम रहन्छ भन्नाका लागि पनि हो ।

पुरुषबिना महिलाको जीवन

त्यो महिलालाई पुर्णरुपमा असफल मानिन्छ, जुन महिलाको जीवनमा पुरुषको कमी हुन्छ । मानौं महिलाको जन्म नै साथी पाउने अन्धो दौडको एउटा हिस्साको लागि भएको जस्तो ।

महिलाहरुमा उनीहरुको शारीरिक अवस्था नराम्रो हुनु अगाडि, महिनावारी रोकिनु भन्दा पहिले नै, आमा बन्ने समय नकट्दै तथा यौन इच्छा घट्नुभन्दा अगाडि नै कुनै पुरुषलाई आफ्नो जीवन सुम्पिनु पर्ने बाध्यता रहेको छ । त्यो पुरुष राम्रो जीवन साथी बन्न योग्य छ कि छैन, उसले आफुलाई माया गर्छ कि गर्दैन जस्ता कुराहरु त्यति महत्व राख्दैन, जति एउटी महिला विवाहिता हुन जरुरी छ ।

रुढीवादी समाज

हाम्रो रुढिबादी समाजले महिलालाई हरेक प्रकारले तल पार्ने गर्छ । समाजले सधैं महिलालाई पुरुषभन्दा कमजोर बनाउन खोज्छ । महिलाको सौन्दर्यदेखि स्वास्थ्य रक्षाका निमित्त धेरै उपायहरु भनिन्छ, यसले के सोच्न बाध्य बनाउँछ भने स्त्रीत्व र यौवनको एक्सपायरी डेट आयो भने ठुलो समस्या हुन्छ । श्रीमान् बिना महिलाको जीवन अर्थहिन र अधुरो हुन्छ भन्ने धारणा समाजको हुन्छ ।

प्रायः महिलाहरु जसको श्रीमान् विवाहको केहि समयमा नै आफुलाई माया गर्न छोड्छन्, दुबैका बीचमा सधै झैं-झगडा भैरहन्छ, बच्चाले पनि सताएर दिक्क बनाएको हुन्छ, सासुको पनि आफुप्रतिको व्यवहार राम्रो हुँदैन अनि कामको बोझले गर्दा शरीर कमजोर भैसकेका महिलाहरु पनि आफ्ना साथीभाई र आफन्तलाई विवाह गर्न आवश्यक छ, विवाह गर्नु पर्छ भन्ने सल्लाह दिने गर्छन् ।

अनुसन्धानले के भन्छ ?

अमेरिकन टाइम युज सर्वेद्वारा गरिएको एक अध्ययन अनुसार विवाहित, अविवाहित, विधुवा र सम्बन्ध विच्छेद भएका व्यक्तिहरुको सुख र दुःखको स्तर तुलना गरिएको थियो । जसमा विवाहित व्यक्तिको तुलनामा अविवाहित व्यक्ति बढि खुशी भएको पाइयो । आश्चर्यजनक कुरा के हो भने विवाहित व्यक्तिको खुशीको सुचना त्यस समयमा पाइयो जुन समयमा उसको साथीको उपस्थितिमा यो प्रश्न सोधिएको थियो ।

विवाहले पुरुषलाई फाइदा हुन्छ भने महिलाहरु विवाह पूर्व नै धेरै खुशी रहन्छिन् । पुरुष विवाह गरेपछि शान्त रहन्छन् र लामो समयसम्म बाँच्छन् । तर महिलाको बारेमा भन्नु पर्दा विवाहले उनीहरुको स्वास्थ्यमा दवाव पर्छ । विवाहिता महिला भन्दा अविवाहित महिला स्वस्थ र खुशी रहन्छन् ।

माकेटि्ङ इन्टेलिजेन्स कम्पनीद्वारा गरिएको एउटा अध्ययनमा एकल महिलाहरुसँग साक्षतकार गरिएको थियो । जसमा ६१ प्रतिशत महिलाहरु एकल हुन पाएकोमा खुशी रहेको निष्कर्ष निस्केकेा छ । यति मात्र नभए ७५ प्रतिशत महिलाहरु त साथी खोज्दा पनि खोज्दैनन् ।

एकल जीवनप्रति अन्य धारणा

प्रायः मानिसले अविवाहित महिलालाई विचरा भनेर सहानभुतिको नजरले हेर्छन् । उनीहरु मौका पाउँदा उनीहरुसंग नाजायज सम्बन्ध पनि कायम राख्नपछि पदैनन् । त्यति मात्र हैन, विवाहिता महिलाहरु पनि आफ्नो अविवाहित साथीसंग आफ्नो श्रीमान्को कुनै नराम्रो सम्बन्ध हुने हो कि भन्ने त्रासमा रहन्छन् ।

यसले के प्रमाणित गर्छ भने एकल महिला बाँकि सबै विवाहिताका लागि खतरा बन्छिन् । सम्बन्धमा बाँधिएर पनि जब कोहि तपाईको रहिरहँदैन भने सम्बन्धको ठुला कुरा गर्नु र विवाहले नै समाजको मान, प्रतिष्ठा दिन्छ भन्ने चर्चा गर्नु गलत कुरा हो ।

सामान्यतयाः जुन महिला विवाह नगरि बसेका हुन्छन्, उनीहरुलाई मानिसले प्रश्नवाचक नजरले हेर्छन् । यो उमेरसम्म पनि घरजम गर्न नसकेको भन्ने धारणा राख्छन् ।

यदि तपाईं ४० वर्षको उमेरमा पनि तपाईंको विवाह भएको छैन र तपाईं कामकाजी हुनु हन्छ भने तपाई जीवन एक्लै पनि राम्रो र खुशीका साथ बित्न सक्छ । तपाईको जीवनमा खुशी र स्व्ातन्त्रता धेरै अनि जिम्मेबारीहरु कम हुन्छन् । तपाई आफ्नो इच्छाले बाँच्न सक्नु हुन्छ  । साथीभाई र आफ्न्तसँग धेरै समय बिताउन सक्नु हुन्छ ।

धेरै महिलाहरु आफ्नो आमा-बुवाको अगाडि विवाह गर्न नचाहेको कुरा बताउने हिम्मत गर्दैनन् । एउटा महिला भएर जन्मेपछि समयमा विवाह गरेर बच्चा जन्माउनु उनीहरुको जीवनको पहिलो उदेश्य हो भन्ने कुरा बाल्यवस्थाबाट नै शिक्षा र संस्कार दिइएको हुन्छ । अभिभावकहरु छोरीको विवाहको काम एउटा जिम्मदारीको रुपम लिन्छन् र छोरीहरु पनि टाउको निहुराएर आमा-बुवाको कुरा मान्छन् । धेरै पढ्ने र आफ्नो करियर बनाउने इच्छा हुँदाहुँदै पनि उनीहरु आमा-बुवाको कुरा मान्न बाध्य हुन्छन् ।

महिलालाई विवाह गर्ने चाहाना हुँदाहुँदै पनि सामाजिक दवावका कारण वैवाहिक बन्धनमा बाँधिन्छन । त्यस्तो स्थितिमा कहिले काहीँ महिला अयोग्य पुरुषसंग विवाह गर्न पुग्छन् र जीवनभर दुःख र पिडाका जीवन बिताउँछन् ।

त्यसो त विवाह एक महिला र पुरुषबीच मात्र हुने सम्बन्ध होईन । विवाहले दुई परिवारलाई जोड्ने गर्छ, विभिन्न किसिमका जिम्मेदारीहरु हुन्छन् । श्रीमतीले हरेक कुरामा श्रीमानको आज्ञा लिनु पर्ने, आफुलाई मन परेको र आवश्यक परेको सामान किन्न पनि सासु र श्रीमान्लाई सोध्न पर्ने । श्रीमान् संग-संगै सासु, ससुरा, नन्द, देवरको पनि फरमाइसहरु पुरा गर्नु पर्ने, बच्चाको रेखदेख जस्ता कामहरुका कारण महिलाले आफ्नो लागि समय निकाल्न कठिन हुन्छ ।

सबैको खुशीको कारण एउटै हुँदैन । हरेक व्यक्तिका लागि खुशीको कारण फरक-फरक हुन सक्छ । कसैलाई विवाह गर्नु भन्दा आफ्नो शिक्षा र करियरमा खुशी प्राप्त हुन्छ । यदि उनलाई विवाहले खुशी दिन सक्दैन भने विवाह गर्न दवाव दिनु गलत हो । यदि उ आफ्नो एकल जीवनमा खुशी र रमाएकी छिन् भने अनावश्यक बन्धनमा बाँध्न खोज्नु पनि गलत हो ।

यदि उनी आफ्नो जीवन आफ्नो तरिकाले बाँच्न खोज्छिन् भने उनको जीवनमा हस्तक्षेप गर्नु पनि गलत हो । उनलाई समाजको डर देखाएर उनको इच्छा विपरीत बाँच्न लगाउनु पनि गलत हो ।

यी सबै गल्ति गर्नुभन्दा उनलाई आफुलाई बलियो साबित गर्न हौसला दिनुपर्छ । यति गर्नु भयो भने उनीहरु आफ्नो जीवनमा अति नै खुशी र सुखी हुन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment