Comments Add Comment

प्रदेश २ मा प्रदेश लोकसेवासम्बन्धी विधेयक पारित

२१ साउन, जनकपुरधाम । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

गत जेठ १२ गते प्रदेश सभा बैठकमा टेबल भएको यो विधेयक झण्डै अढाई महिनापछि पारित भएको हो । मंगलबार बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको हो ।

यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्वान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।

सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव र् गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताएका छन् । समितिका संयोजकको जिम्मेबारी पाएका परमेश्वर साहले बिभिन्न पटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।

मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै उनले साउनमा मात्रै पाँच पटक बैठक बसेको र मंगलबार बिहान बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए ।

यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ माथि मंगलबार सैद्विान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिँदै नेकपाका सांसद गोबिन्द न्यौपाने र कांग्रेसका सांसद शिबचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्चयाउनु जरुरी रहेको बताए ।

मन्त्री साहले गुण नसिकी हजारौं युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा खोलेर उनीहरुलाई बिभिन्न किसिमको तालिम दिन र आफैं रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment