News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुममा श्रमिक अभाव, युवाको बसाइँसराइ र नगदेबालीतर्फको आकर्षणले परम्परागत कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ।
- छथर गाउँपालिका–२ फयाकका टंकबहादुर कार्कीका अनुसार पहिले खेतला र पर्मले सजिलै काम हुने गरे पनि अहिले खेतीका लागि मानिस पाउन कठिन छ।
- धनकुटाको नुनथला भिलेज एन्ड रिसोर्टमा कोदोको ढिँडो, म:म: र बिस्कुट पर्यटकले रुचाउने र कोशेलीका रूपमा लैजाने गरेको सञ्चालक लोकेन्द्र कार्कीले बताए।
१० कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो । किसानका खेतबारीमा खेतला र पर्म गर्नेहरूको चहलपहल देखिन्थ्यो ।
एक किसानको खेतमा कोदो रोप्न जम्मा भएका गाउँले अर्को दिन अर्काको खेतमा पुगेर काम सघाउँथे । त्यतिबेला किसानले दुईदेखि ७०–८० रोपनीसम्मको जमिनमा कोदो खेती गर्ने गर्थे । मकैसँगै कोदो लगाउने चलन थियो । उत्पादित कोदोबाट ढिँडो, रोटी र खोले बनाएर खाने र बिक्री गर्ने गरिन्थ्यो ।
तर, अहिले गाउँको कृषि प्रणालीमा परिवर्तन आएको छ । कोदो रोप्ने समयमा खेतला पाउन कठिन छ भने पर्म खेल्ने चलनसमेत हराउँदै गएको छ । रोजगारी र शिक्षाका लागि युवा जनशक्ति सहर तथा विदेश जाने क्रम बढेको छ । खेतीमा धेरै श्रम र मिहिनेत लाग्ने तर नगदेबालीबाट आम्दानी लिन सकिने भएपछि किसानको आकर्षण अन्य बालीतर्फ बढेको छ । यसले परम्परागत कोदो खेतीको क्षेत्रफल घटाउँदै लगेको छ ।
तेह्रथुमको छथर गाउँपालिका २ फयाकका किसान टंकबहादुर कार्कीका अनुसार पहिले असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्न खेतला र पर्म गर्ने मानिस सहजै पाइन्थे । गाउँलेहरू पालैपालो एकअर्काको खेतमा काम गरेर खेतीपातीका काम सम्पन्न गर्थे । अहिले भने खेतीका लागि श्रमिक पाउन कठिन हुन थालेको छ । पर्म खेलेर एकअर्कालाई सघाउने चलन हराउँदै गएको छ । गाउँमा श्रम गर्ने मानिसको अभावले परम्परागत खेती गर्न कठिन भएको उनको अनुभव छ ।

त्यस्तै, अग्रबहादुर कार्की गाउँमा खेती गर्ने युवा नहुँदा र कोदो खेतीमा धेरै मिहिनेत लाग्ने भएकाले किसानले यसको खेती घटाउँदै लगेको बताउँछन् । ‘गाउँमा खेती गर्नका लागि युवाहरू छैनन् । कोदो खेती गर्न धेरै मेहनत र श्रम लाग्छ । नगदेबालीबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू कोदो खेती घटाएर अन्य बालीतर्फ आकर्षित हुँदै गएका छन्’, उनी भन्छन् ।
किसानका अनुभवले कोदो खेती घट्नुमा श्रमिक अभाव, बदलिँदो जीवनशैली र आर्थिक प्राथमिकतामा आएको परिवर्तन मुख्य कारण रहेको देखाउँछन् । परिवारको दैनिक खर्च, बालबालिकाको शिक्षा र स्वास्थ्य उपचारलगायत आवश्यकता पूरा गर्न नगद आम्दानी आवश्यक पर्ने भएकाले किसानले अलैँची, अदुवा, अम्लिसो, तरकारी तथा अन्य नगदेबालीलाई प्राथमिकता दिन थालेका छन् ।
कोदो परम्परागत खानामा मात्र सीमित रहनुपर्ने अन्न होइन । यसको पिठोबाट ढिँडो, रोटी, बिस्कुट, केक तथा अन्य खाद्य सामग्री बनाउन सकिन्छ । पछिल्लो समय लोकप्रिय खाजाका रूपमा रहेको म:म:मा समेत कोदोको पिठो प्रयोग गर्ने सम्भावना छ । गहुँको पिठोमा निश्चित अनुपातमा कोदोको पिठो मिसाएर म:म:को बाहिरी खोल तयार गर्न सकिन्छ । यसका लागि उपयुक्त अनुपात, स्वाद र बनावट मिलाउनु आवश्यक हुन्छ ।

कोदोबाट बनेका परिकारको माग बढाउन सके किसानको उत्पादनलाई बजारसँग जोड्न सकिन्छ भन्ने उदाहरण धनकुटाको नुनथला भिलेज एन्ड रिसोर्टमा देखिन्छ । रिसोर्टमा आउने पर्यटकले कोदोको ढिँडो र म:म: रुचाउने गरेको सञ्चालक लोकेन्द्र कार्की बताउँछन् । उनका अनुसार पर्यटकले त्यहाँ कोदोबाट बनेका परिकार खाने गरेका छन् भने कोदोको बिस्कुट कोशेलीका रूपमा समेत लैजाने गरेका छन् । ‘यहाँ आउने पर्यटकले कोदोको म:म: र ढिँडो रुचाउँछन् । बिस्कुट पनि कोशेलीका रूपमा लैजाने गरेका छन’, कार्की भन्छन् ।
कुनै समय खेतला र पर्मको सहायताले रोपिने कोदो आज गाउँको बदलिँदो सामाजिक र आर्थिक जीवन धानेको थियो । खेती गर्ने जनशक्ति घट्दै जाँदा र किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा यसको उत्पादन र खेतीको निरन्तरतामा चुनौती थपिएको छ । तर कोदोबाट बनेका ढिँडो, म:म: र बिस्कुटजस्ता परिकारले बजारमा स्थान पाउन थालेको अनुभवले नयाँ सम्भावनासमेत देखाएको छ ।

प्रतिक्रिया 4