+
+
Shares
विचार :

जब च्याटजीपीटीले मेरो हात हेर्‍यो

केही समयअघि मैले च्याटजीपीटीलाई मेरो हातको तस्बिर पठाएर हस्तरेखा हेर्न भनेँ। यस घटनाले मलाई नेपाली समाजमा विद्यमान भाग्य, भविष्य र कर्मप्रतिको विरोधाभासपूर्ण सोचमाथि गम्भीर प्रश्न उठाउन प्रेरित गर्‍यो। हामी कर्मभन्दा भाग्यमाथि किन यति धेरै भरोसा गर्छौँ ?’

डा. लीलाकुमार खतिवडा डा. लीलाकुमार खतिवडा
२०८३ कात्तिक ११ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले च्याटजीपीटीलाई हस्तरेखा देखाउँदा गरिएको सामान्य भविष्यवाणी धेरै कुरा मेल खाएजस्तो देखिए पनि ती अत्यन्त सामान्य भएकाले मिलेको निष्कर्ष निकाले।
  • लेखले नेपाली समाजमा ज्योतिष, राशिफल र शुभसाइतप्रतिको आकर्षणलाई प्रश्न गर्दै भाग्यमाथिको भरोसाभन्दा कर्म, योजना र जिम्मेवारी महत्त्वपूर्ण भएको तर्क गरेको छ।
  • लेखकले नेपालमा प्रधानमन्त्री, सरकारी निकाय र वायुसेवा निगममा समेत ज्योतिषीय परामर्श र शुभमुहूर्तको अभ्यास रहेको उल्लेख गर्दै संस्थागत सफलताको आधार व्यवस्थापन र जवाफदेहिता भएको बताए।

केही समयअघि मैले एउटा रोचक प्रयोग गरेँ। मोबाइलले एउटा हातको फोटो खिचेर च्याटजीपीटीमा अपलोड गरेँ र त्यसलाई हस्तरेखा हेर्न भनेँ।

च्याटजीपीटीले हात त हेर्‍यो, तर ‘पूरा विश्लेषणका लागि अर्को हातको फोटो पनि आवश्यक पर्छ’ भन्यो। त्यसपछि मैले अर्को हातको फोटो पनि पठाएँ। एउटा कुरामा भने म सचेत थिएँ। मैले त्यो हात मेरो आफ्नै हो भनेर भनेको थिइनँ; किनकि यदि मैले मेरो हात हो भनेको भए, च्याटजीपीटीले सायद मसँग भएका अघिल्ला कुराकानी र मेरो प्रोफाइलमा सुरक्षित जानकारीका आधारमा मेरो बारेमा धेरै कुरा अनुमान गर्न सक्थ्यो।

हातको तस्बिर हेरेपछि च्याटजीपीटीले उक्त व्यक्तिको बारेमा यस्तो मूल्याङ्कन गर्‍यो- ‘आफ्नै प्रयासले अघि बढेको, बौद्धिक रुचि भएको व्यक्ति, जसका प्रमुख उपलब्धिहरू जीवनको प्रारम्भिक चरणभन्दा पछि प्राप्त हुने सम्भावना बढी छ। परिवारप्रति महत्त्वपूर्ण जिम्मेवारी बोकेको र आफ्नो जन्मथलोभन्दा बाहिरको काम वा यात्रासँग गहिरो सम्बन्ध भएको व्यक्ति।’

यससँगै उसले उक्त व्यक्तिको पेसा अनुसन्धान, शिक्षण, परामर्श, सरकारी वा विकाससम्बन्धी काम, प्रशासन, नीति निर्माण, लेखन, विश्लेषण वा अन्तर्राष्ट्रिय काममध्ये कुनै क्षेत्रमा हुन सक्ने बतायो।

उसले यो व्यक्ति परिवारबाट टाढा बसेको वा विदेशसँग सम्बन्धित जीवन बिताएको हुन सक्ने पनि बताएको थियो। त्यस्तै सफलता बिस्तारै प्राप्त हुने र जीवनको उत्तरार्धमा अझ राम्रो उपलब्धि हासिल गर्न सक्ने कुरा पनि भन्यो। ती कुरा पढ्दा धेरै हदसम्म मेरो जीवनसँग मेल खाएजस्तो लाग्यो।

तर प्रश्न यो हो कि के च्याटजीपीटीले हस्तरेखाका आधारमा भनेका सबै कुरा सही थिए ?

उत्तर सरल छ। धेरै कुरा मिलेका जस्ता देखिए। तर यसको मुख्य कारण ती भनाइहरू अत्यन्त सामान्य प्रकृतिका थिए। उदाहरणका लागि, आजका दिनमा धेरै मानिस आफ्नो जन्मथलो वा परिवारबाट टाढा बसेका छन्। विदेश जाने चलन झन् बढ्दो छ। त्यसैले ‘परिवारबाट टाढा बस्ने’ वा ‘विदेशसँग सम्बन्ध हुने’ जस्ता कुरा धेरै मानिसमा लागू हुन्छन्।

त्यसैगरी पेसाका बारेमा पनि कुनै निश्चित क्षेत्र नबताई लामो सूची दिइएको थियो, जसमा अधिकांश शिक्षित मानिस कुनै न कुनै रूपमा मेल खान सक्छन्।

यो लेखको उद्देश्य ज्योतिष विज्ञानको आलोचना गर्नु वा कसैको आस्थामाथि प्रहार गर्नु होइन। बरु एउटा प्रश्न उठाउनु हो- किन नेपाली समाजमा भविष्यका बारेमा यति धेरै चासो र चिन्ता छ ?

जीवनमा सफलता र असफलता, स्वास्थ्य समस्या, आर्थिक उतारचढाव वा सम्बन्धका चुनौतीहरू आउनु स्वाभाविक कुरा हुन्। त्यसैले यस्ता सामान्य भविष्यवाणी सुन्दा ती हाम्रो जीवनसँग मेल खाएजस्ता लाग्छन्।

के हामी असफल हुने डरले पहिले नै भविष्य जान्न खोजिरहेका छौँ ? वा सम्भावित समस्याबाट बच्न अग्रिम योजना बनाउन चाहन्छौँ ?

नेपालमा सामान्य नागरिकदेखि प्रधानमन्त्रीसम्म ज्योतिषको परामर्श लिने चलन छ। नयाँ प्रधानमन्त्री नियुक्त भएपछि शुभसाइत हेरेर सरकारी निवासमा प्रवेश गर्ने परम्परा अझै जीवित छ। तर विडम्बना के छ भने, नेपालले लोकतान्त्रिक अभ्यास सुरु गरेको दशकौँ बितिसक्दा पनि धेरै प्रधानमन्त्रीले आफ्नो पूरा कार्यकाल पूरा गर्न सकेका छैनन्।

त्यस्तै, नेपाल वायुसेवा निगमले नयाँ जहाज भित्र्याउँदा पूजा, साइत र शुभमुहूर्तको व्यवस्था गर्छ। तर यस्ता धार्मिक कर्मकाण्ड नगरी सञ्चालन सुरु गरेका विश्वका धेरै वायुसेवा कम्पनीहरू अत्यन्त सफल छन्। हामीले आफ्नै राष्ट्रिय वायुसेवाको अवस्था पनि देखिरहेकै छौँ।

यसको अर्थ परम्परा र संस्कृतिको कुनै मूल्य छैन भन्ने होइन। यस्ता अभ्यासले धेरै मानिसलाई मानसिक सान्त्वना र आत्मविश्वास दिन सक्छन्। तर कुनै संस्था, व्यवसाय वा राष्ट्र सफल हुनुको आधार राम्रो व्यवस्थापन, स्पष्ट योजना, योग्य जनशक्ति र जवाफदेहिता हो।

देवता खुसी छन् कि छैनन् भन्दा पनि निर्णय सही छन् कि छैनन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। इतिहास हेर्दा सफल सङ्गठनहरू दक्ष व्यवस्थापन, कठोर परिश्रम र संस्थागत सुधारका कारण अगाडि बढेका छन्, पूजापाठका कारण मात्र होइन।

मलाई सधैँ एउटा कुरा बुझ्न कठिन लाग्छ।

हामी प्रायः भन्छौँ, ‘भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ।’

यदि साँच्चै त्यही हुन्छ भने फेरि हामी किन आफ्नो दशा काट्न, ग्रहशान्ति गर्न, पूजापाठ गर्न, दान–दक्षिणा दिन वा भविष्य परिवर्तन गर्ने उपाय खोज्न पुजारी र ज्योतिषीकहाँ जान्छौँ ? यदि भाग्यमा लेखिएको कुरा कसैले बदल्न सक्दैन भने त्यसलाई बदल्ने प्रयास किन ? र, यदि बदल्न सकिन्छ भने ‘जे लेखिएको छ त्यही हुन्छ’ भन्ने मान्यता कसरी सही हुन सक्छ ?

मेरो विचारमा यो हाम्रो समाजको सबैभन्दा ठूलो वैचारिक विरोधाभास हो। एकातिर हामी भविष्य पूर्वनिर्धारित छ भन्छौँ, अर्कोतिर त्यही भविष्यलाई बदल्न अनेक उपाय खोज्छौँ।

त्यसैगरी नेपालमा राशिफललाई पनि ठूलो महत्त्व दिइन्छ। तपाईं जहाँतहीँ राशिफल पाउन सक्नुहुन्छ- टेलिभिजनमा, रेडियोमा, सामाजिक सञ्जालमा, पत्रपत्रिकामा आदि आदि। राशिफलको विषयमा पनि मेरा केही अनुभव छन्।

केही वर्षअघि म सुन किन्न झापाको एक सुनपसलमा पुगेको थिएँ। त्यही बेला मेरो नजर एउटा राष्ट्रिय दैनिकको राशिफल स्तम्भमा पर्‍यो। मेरो राशि मेष हो। त्यस दिन मेष राशिका लागि ‘आज तपाईंले पहेँलो धातु किन्न सक्ने योग छ’ भनेर लेखिएको थियो। त्यो पढ्दा म छक्क परेँ। संयोग यति मिलेको जस्तो लाग्यो कि केही क्षणका लागि राशिफलको विश्वसनीयता वास्तविक नै हो कि जस्तो लाग्यो।

त्यस्तै अर्को घटना पनि छ।

एकपटक कामको सिलसिलामा अमेरिका हुँदै दक्षिण अफ्रिकाको जोहानेसबर्ग जाँदै थिएँ। विमानस्थलमा पुगेर चेक–इन गर्न लाग्दा थाहा भयो कि मैले आफ्नै पासपोर्टको सट्टा छोराको पासपोर्ट बोकेर आएको रहेछु। हतारमा गलत पासपोर्ट उठेको थियो। घर विमानस्थलनजिकै भएकाले दौडधुप गरेर सही पासपोर्ट ल्याउन सफल भएँ र जहाज छुट्नबाट जोगिएँ।

संयोगले त्यस दिनको राशिफलमा ‘विदेश यात्रा गर्दा कागजातका कारण समस्या आउन सक्छ’ भनेर लेखिएको थियो। यी दुई घटनाले मलाई पनि एकछिन सोच्न बाध्य बनायो। के राशिफल वास्तवमै यति सही हुन्छ ?

तर पछि विचार गर्दा मलाई लाग्यो, यी घटना शुद्ध संयोग मात्र थिए। सुन किनेको घटना भएको हप्तामा सुनको मूल्य निकै घटेको रहेछ। यस्तो अवस्थामा धेरै मानिस सुन किन्न जानु स्वाभाविक हो। राशिफल लेख्ने व्यक्तिले कुनै राशिमा यस्तै सामान्य अनुमान लेखेका हुन सक्छन्।

कागजातको समस्याको कुरा पनि यस्तै हो। हरेक दिन हजारौँ मानिस अन्तर्राष्ट्रिय यात्रा गरिरहेका हुन्छन्। तीमध्ये धेरैलाई भिसा, टिकट, राहदानी वा अन्य कागजातसम्बन्धी समस्या पर्नु सामान्य हो। हजारौँ भविष्यवाणीमध्ये केही संयोगवश मिल्न सक्छन् भन्ने तथ्यलाई हामी प्रायः बिर्सन्छौँ। तर नमिलेका सयौँ भविष्यवाणी हाम्रो स्मृतिमा रहँदैनन्। मानिसको मनोविज्ञानले मिलेको घटना विशेष रूपमा सम्झन्छ र नमिलेका घटना छिट्टै बिर्सिन्छ।

त्यसैगरी, हामी जब कुनै हवाई वा सडक दुर्घटनाको समाचार सुन्छौँ, धेरैजसो अवस्थामा तुरुन्तै त्यसलाई भाग्यसँग जोड्छौँ। ‘उनीहरूको भाग्यमै त्यस्तो लेखिएको थियो’, ‘गलत साइतमा घरबाट निस्किएका रहेछन्’ वा ‘साइत हेरेर यात्रा गरेको भए यस्तो हुने थिएन’ भन्ने खालका टिप्पणीहरू अक्सर सुनिन्छन्।

भाग्यमा विश्वास गर्न पाइन्छ, तर भाग्यकै भरमा बस्न मिल्दैन। हामीले गर्नुपर्ने काम नगरी ग्रह–नक्षत्रले मात्र जीवन बदलिदिन्छन् भन्ने अपेक्षा गर्नु वास्तविकताबाट टाढा भाग्नु हो।

तर त्यही समयमा हामी दुर्घटनाको वास्तविक कारणबारे भने निकै कम चर्चा गर्छौँ। विमान दुर्घटना भए पाइलटको त्रुटि, नेभिगेसन प्रणालीको कमजोरी, मौसमको अवस्था, प्राविधिक खराबी वा नजिकको भूगोलको प्रभावबारे कम बहस हुन्छ। त्यसैगरी सडक दुर्घटना भए चालकको लापरबाही, थकान, मदिरा सेवन, सवारीसाधनको अवस्था वा सडकको गुणस्तरजस्ता विषय प्रायः ओझेलमा पर्छन्।

वास्तवमा, अघिल्ला दुर्घटनाहरूको कारण पहिचान गरेर तिनको समाधान गरिएको भए, साइत नहेरिकन यात्रा गरेका मानिसहरू पनि सुरक्षित रहन सक्थे। संसारभर हवाई र सडक यातायात आज पहिलेभन्दा सुरक्षित हुनुको कारण शुभसाइतको खोजी होइन, बरु प्रत्येक दुर्घटनाबाट पाठ सिकेर प्रविधि, नियम र व्यवस्थापनमा सुधार गर्नु हो। यदि हामीले समस्याको जड कारण खोज्नुको साटो सबै कुरा भाग्यको नाममा टारिदियौँ भने, भविष्यमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधार गर्ने अवसर गुमाउनेछौँ।

मैले माथि उल्लेख गरेझैँ, मेरो उद्देश्य ज्योतिष विज्ञानको खण्डन गर्नु होइन। सम्भव छ, मैले यस विषयमा पर्याप्त अध्ययन नगरेको पनि हुन सक्छु। त्यसैले मेरा विचारले कसैको भावना आहत भएमा क्षमाप्रार्थी छु। तर एउटा कुरा भने स्पष्ट देखिन्छ- हामी धेरैजसो अवस्थामा कर्मभन्दा भाग्यमाथि बढी भरोसा गर्छौँ। त्यसैले मेहनत, सीप विकास, योजना र अनुशासनको कठिन बाटो छाडेर सजिलो समाधान खोज्ने प्रवृत्ति बढेको देखिन्छ।

अर्को कुरा, ज्योतिषीहरूले गर्ने धेरै भविष्यवाणीहरू सन्तुलित र सामान्य प्रकृतिका हुन्छन्। जस्तै, ‘तपाईंले पैसा त कमाउनुहुन्छ तर जोगाउन सक्नुहुन्न’, ‘केही वर्षभित्र ठूलो चुनौती आउँदै छ’ वा ‘सङ्घर्षपछि सफलता प्राप्त हुनेछ’। यस्ता भनाइहरू प्रायः सबै मानिसको जीवनमा कुनै न कुनै रूपमा मिल्न सक्छन्।

जीवनमा सफलता र असफलता, स्वास्थ्य समस्या, आर्थिक उतारचढाव वा सम्बन्धका चुनौतीहरू आउनु स्वाभाविक कुरा हुन्। त्यसैले यस्ता सामान्य भविष्यवाणी सुन्दा ती हाम्रो जीवनसँग मेल खाएजस्ता लाग्छन्।

ज्योतिषीकहाँ जाँदा अर्को रोचक कुरा पनि हुन्छ। कतिपय अवस्थामा ज्योतिषीले तपाईंको हात वा जन्मकुण्डलीभन्दा बढी तपाईंलाई पढिरहेका हुन्छन्। तपाईंको चिन्ता, बोली, अनुहारको भाव, सोध्ने प्रश्न र तपाईंले आफैँ दिएका जानकारीका आधारमा पनि धेरै अनुमान गर्न सकिन्छ। त्यसपछि ती अवलोकनलाई ज्योतिषीय व्याख्यासँग मिसाएर प्रस्तुत गरिन्छ, जसले भविष्यवाणी अझ सटीक भएजस्तो अनुभूति गराउन सक्छ।

अन्ततः भविष्यको चिन्ताभन्दा वर्तमानको कर्म महत्त्वपूर्ण हुन्छ। सफलता भाग्यले होइन, निरन्तर प्रयास, सही निर्णय, सीप र अनुशासनले निर्धारण गर्छ। यदि सफलता केवल ज्योतिष, साइत वा भाग्यकै परिणाम हुने भए, ज्योतिषीकहाँ कहिल्यै नजाने संसारका धेरै सफल र समृद्ध व्यक्तिहरू कसरी सफल भए ?

भाग्यमा विश्वास गर्न पाइन्छ, तर भाग्यकै भरमा बस्न मिल्दैन। हामीले गर्नुपर्ने काम नगरी ग्रह–नक्षत्रले मात्र जीवन बदलिदिन्छन् भन्ने अपेक्षा गर्नु वास्तविकताबाट टाढा भाग्नु हो। समाज, संस्था र व्यक्तिको प्रगति भविष्यवाणीले होइन, सही निर्णय, ज्ञान, अनुशासन र कठिन परिश्रमले सम्भव हुन्छ। अन्ततः मानिसलाई अघि बढाउने शक्ति भाग्यभन्दा बढी उसको कर्म र प्रयास नै हो।

(लेखक अमेरिकास्थित युनिभर्सिटी अफ नोट्र डेममा कार्यरत एक नेपाली अनुसन्धाता हुन्, जो समाज, नीति र विकासमा गहिरो रुचि राख्छन्।)

लेखक
डा. लीलाकुमार खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?