Comments Add Comment

भारततको विमान कम्पनी बिस्ताराले नेपालमा उडान थाल्ने

२१ साउन, काठमाडौं । भारतीय वायुसेवा कम्पनी विस्ताराले नेपालमा उडानको तयारी गरेको छ । सन् २०१९ को अन्त्यसम्ममा कम्पनीले नेपालमा उडान थाल्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्भवतः काठमाडौं यो कम्पनीको चौथो अन्तरर्राष्ट्रिय गन्तब्य हुनेछ । भारतीय आन्तरिक वायुसेवाका रुपमा सेवा शुरु गरेको यो कम्पनीले बिहीबार राति ११ः४५ मा दिल्ली-सिंगापुर रुटमा पहिलो अन्तर्राष्ट्रिय उडान थाल्दैछ ।

कम्पनीले भारतको दिल्ली र मुम्बईबाट सिंगापुर उडानको तयारी गरेको हो । कम्पनीको दोस्रो गन्तब्य दुबई तोकिएको छ । विस्ताराले आगामी २१ अगस्टबाट मुम्बई-दुबई रुटमा उडान थाल्दैछ ।

तेस्रो गन्तब्य भने थाइल्याण्डको बैंकक हुने पक्का भएको छ । आगामी २७ अगस्टबाट दिल्ली-बैंकक रुटमा उडान शुरु हुने भएको छ । चौथो गन्तब्य भने काठमाडौं बनाउने घोषणा कम्पनीले गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

काठमाडौंमा भारतबाट जेट एयरवेजले निकै नाफामा उडान गरिरहेको थियो । जेटको उडान बन्द भएपछि दिल्ली-काठमाडौं रुटमा नेपाल वायुसेवा निगमले राम्रो अक्कुपेन्सीमा उडान गरिरहेको छ । यस रुटमा निगमले साताको १७ उडान गर्छ ।

कम्पनीले सिधा उडानबाहेक कोड शेयरका माध्यमबाट पनि आफ्नो सेवा बिस्तारको योजना बनाइरहेको छ । सिंगापुर एयरलाइन्स, सिल्क एयर, बि्रटिस एयरवेज, जापान एयर र यूनाइटेड एयरलाइन्ससँग कोड शेयर गरी सेवा बिस्तारको योजनामा विस्तारा एयरलाइन्स रहेको छ । कम्पनीले मध्यम र लामो रुटमा उडान बिस्तार आक्रामक बनाएको हो ।

जुन २०१९ मा मात्र यस कम्पनीले दिल्ली र मुम्बईबाट ६० थप उडान शुरु गरिसकेको छ । यो कम्पनीले एयरबस कम्पनीसँग ५० वटा विमान एकैपटक अर्डर गरेको छ । सन् २०१९-२०२३ को बीचमा यी जहाज आइसक्ने गरी योजना तय गरेको कम्पनीले नयाँ गन्तब्यमा यी जहाज प्रयोग गर्ने भएको छ ।

यसबाहेक कम्पनीले ६ वटा बोइङ ड्रीमलाइनरसमेत खरिद गरिसकेको छ । अहिले २६ गन्तव्यमा साताको १२ सय उडान गरिरहेको छ । सन् २०१५ मा सेवा थालेको यो कम्पनी टाटा सन्स र सिंगापुर एयरलाइन्सबीचको ज्वाइन भेन्चरमा संचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment