Comments Add Comment

मुस्किलले जोगियो जितेन्द्रको ज्यान, समातिए सुटर

२१ साउन, विराटनगर । विराटनगरका एक व्यापारीको हत्याका लागि पाँच लाख भारुको सुपारी लिएर भारतबाट आएका सुटर पक्राउ परेका छन् ।

विराटनगर हाटखोलाका जितु भनिने जितेन्द्र रायको हत्याका लागि भारु पाँच लाखको डिल गरेका दुई जना सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा र साफसुटर कुलानकुमार सिंह छन् ।

सिंह र गुप्ता विराटनगर र झा सर्लाहीबाट पक्राउ परेका हुन् ।

प्रहरीले गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोली सहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । सिंहमाथि अनुसन्धानका क्रममा पाएको सूचनाका आधारमा मुख्य योजनाकार मन्नु गुप्ता र कन्ट्रयाक किलर हरिनारायण झालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ परेका झा हत्या अभियोगमा क्षेत्रिय कारागार झुम्का बसिसकेका व्यक्ति हुन् । मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका थिए ।

उनीहरुबीच कारागारमै चिनजान भएपछि मित्रता सुरु भएको थियो । प्रहरीका अनुसार मन्नुले हरिनारायणमार्फत हत्याको सुपारी दिएका थिए ।

सुपारी लिएर विराटनगर आएकामध्ये राज भनिने राजुकुमार रौनियार र राकेश झा फरार छन् । दुबैजना भारतीय नागरिक हुन् । फरार अभियुक्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । कुलानको बयान र प्रमाणहरु अध्ययन गर्ने क्रममा हत्याको योजना बनेको खुलेको उनले बताए ।

पाँच लाखको सुपारी, पहिलो किस्तामा छ हजार

प्रहरीकाअनुसार मन्नुले हरिनारायणसँग समन्वय गरी पाँच लाखमा हत्याको सुपारी दिएका थिए । त्यसपछि हत्या योजना सीतामढीमा बनेको थियो ।

हरिनारायणले राकेश झासँग समन्वय गरेपछि झाले कुलानकुमार सिंह र राजुकुमार रौनियारलाई हत्याका लागि विराटनगरसम्म लिएर आएका थिए । हत्या गरे बापत जनही एक लाख ६७ हजार भारु पाउने मौखिम सम्झौता थियो ।

प्रहरी उपरीक्षक अधिकारी हत्याको योजना बनाएर आएका सबैको सबैसँग चिनजान छैन् । मन्नुको हरिनारायणसँग चिनजान छ । हरिनारायणको राकेशसँग छ भने राकेशको लिङ्केज कुलान र राजुकुमारसँग छ ।

२६ जेठमा बिहारको सितामढीमा भेट भएपछि हत्याका योजनाकार भएपछि सिंह र रौनियार रौतहटको गौर हुँदै नेपाल प्रवेश गरे । सोही दिन बेलुका राकेशसँग भेटपछि उनीहरु बिराटनगरको होटल प्यासफिकमा बसे ।

भोलिपल्ट बिहान राकेशले सुटर सिंह र रौनियारलाई विराटनगर हाटखोलाका जितुको घरको रेकी गराएका थिए । बिहान करिब ६ बजे रेकी गरेर फर्किएका दुईजनालाई भारु ६–६ हजार दिएको र हत्यापछि तीन जनालाई जनही १ लाख ६७ हजार सीतामढीमा दिने सहमति भएको थियो ।

सहमतिपछि दिउँसो जितुलाई गोली प्रहार गर्न भन्दै लोड गरिएको पेस्तोलसहित दुई युवा उनको घरसम्मै पुगे । तर संयोगबस जितु घरमा थिएनन् । जितुलाई नभेटेपछि उनीहरुले चामल किन्नु थियो भन्दै आमालाई भेटेर फर्किए ।

जितुको घर जानु अघि दुबैले होटलबाट चेकआउट लिएका थिए । भाग्न सजिलो होस भन्दै चेकआउट गरेका कारण उनीहरुले होटलको बिल तिरेको प्रहरी बताउँछ ।

तर जितुलाई नभेटेपछि होटल मेट्रोसिटी गीत गजल पुगे । मदिरा सेवन गरेर नाजगान गर्दा हतियार बोकेको देखियो । यो सूचना पाएको प्रहरीले सिंलाई नियन्त्रणमा लियो । रौनियार भने भाग्न सफल भएका थिए ।

प्रहरीको सक्रियताले जितुको ज्यान बचेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार कुलान पक्राउ नपरेको भए २८ गते घटना हुनसक्थ्यो ।

पक्राउ परेकाहरुलाई संगठित अपराध र हात हतियार तथा खरखजना मुद्दामा अनुसन्धान गर्न अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment