Comments Add Comment

‘संविधान पुनर्लेखन गर्नुपर्छ, ओली सरकार असफल भइसक्यो’

२२ साउन, बुटवल । राजनीतिक विश्लेषक सीके लाल र लेखक युग पाठकले २०७२ को संविधान अपूरो र विभेदकारी भएको भन्दै संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

सबै समुदायका अधिकार र समावेशी प्रतिनिधित्व हुने गरी संविधान पुनर्लेखन नभए मुलुकमा दिगो शान्ति र समृद्धि हासिल हुन नसक्ने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा आयोजना गरेको ‘वर्तमान राज्य व्यवस्थामा पहिचानको अवस्था’ विषयक अन्तर्क्रिया बोल्दै उनीहरुले २०७२ सालको संविधानले पहिचानलाई मेटाएको बताए । विश्लेषक सीके लालले जनजाति, मधेशी, मुस्लिमका भाषा, संस्कृति पहिचान संकटमा परेको औंल्याए ।

प्रदेशहरुको सीमांकनले आदिवासी जनजातिको पहिचान मेटाउने र उनीहरुलाई राज्यसत्तामा पुग्न नदिने गरी सुनियोजित ढंगले गरिएको भन्दै मगरात र थरुहट क्षेत्रलाई ३–४ प्रदेशमा विभाजन गर्नुको कारण त्यही भएको बताए ।

‘यो सीमांकनले अब मगर र थारुहरुलाई राज्यसत्ताको नेतृत्वमा कहिल्यै पुग्न दिंदैन’–लालले भने, ‘जातीय पोशाक लगाएर नाच्दैमा पहिचान र अधिकार संरक्षण भएको छ भन्ने भ्रममा जनजाति छन् ।’

लेखक युग पाठकले अन्तरिम संविधानमा लेखिएका पहिचानका अधिकार २०७२ संविधानले खोसेको टिप्पणी गर्दै पहिचान मेटाएर दिगो शान्ति र समृद्धि हासिल हुन नसक्ने ठोकुवा गरे ।

तत्कालीन माओवादी र त्यसका नेता प्रचण्डले अडान छाडेपछि पहिचानका मुद्दा संविधानमा नलेखिएको स्मरण गर्दै उनले त्यहीबाट प्रचण्डको अवनति शुरु भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको समृद्धि र राष्ट्रवाद पञ्चायती शैलीको भएको आरोप लगाउंदै पाठकले अस्थिर सरकारका कारण विकास नभएको भ्रम छरेर दुई तिहाईमा पुग्नेहरुबाट नै पहिचान मुद्दाको हत्या भएको बताए ।

प्रधानमन्त्री ओली पहिचान र गणतन्त्रविरोधी भएकाले उनको नेतृत्व रहेसम्म शान्ति र समृद्धि नआउने पाठकले ठोकुवा गरे । ‘ओलीको राष्ट्रवाद र समृद्धि पञ्चायती कालमा राजा महेन्द्रको शैलीको हो’ उनले भने–‘प्रधानमन्त्री ओली पहिचान, संघीयता र गणतन्त्रका विरोधी हुन्,त्यसैले उनको नेतृत्वको सरकार असफल भइसक्यो ।’

पूर्वसभासद विनोद पहाडीले अन्याय र बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिंग र समुदायको अधिकारका लागि तिनकै प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले कुरा नउठाउनु दुर्भाग्य रहेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले नेपालको राज्य व्यवस्था बहुजातीय लोकतान्त्रिक समाजवाद बाहेक अरु उपयुक्त हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment