
२३ साउन, काठमाडौं । एक महिनाअघि झुण्डिएको अवस्थामा मृत भेटिएकी अमृता बोहोरा कुँवरसम्बन्धी घटनामा नयाँ तथ्य बाहिर आएको छ ।
उनका श्रीमान् राजन पाकिस्तानी युवतीसँग प्रेम सम्बन्धमा हुनसक्ने आधार अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको हो ।
यसअघि २० असारमा काठमाडौंको बूढानीलकण्ठमा बोहराको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृत भन्छन्, ‘हामीले अनुसन्धानका सिलसिलामा बरामद गरेको कुँवरको मोबाइलले उनको पाकिस्तानी युवतीसँग निरन्तर सम्पर्क भइरहेको देखाउँछ ।’
विवाहेत्तर सम्बन्धबारे चाल पाएपछि घटना भएको दिन राति फेसबुक म्यासेन्जरमा दुवैबीच विवाद भएको पनि भेटिएको छ । हाल प्रहरी हिरासतमा रहेका राजनले पनि यो कुरालाई पुष्टि गर्ने गरी बयान दिएको अनुसन्धान अधिकृत बताउँछन् ।
‘झगडा भएकै समयमा उनले डिभोर्स भनेर पोष्ट गरेको पनि देखिन्छ’, ती अधिकृत थप्छन्, ‘त्यसपछि दुईबीचको झगडा उत्कर्षमा पुगेको च्याटबाट बुझ्न सकिन्छ ।’
परिवारको दाबी हत्या
अमृताको परिवारले पनि उनको हत्या गरिएको आशंका गर्दै ज्यान मुद्दामा किटानी जाहेरी दिएको छ । श्रीमान् राजनसहित ससुरा खड्ग, सासू पवित्रा र आमाजू गोमाविरुद्ध जाहेरी दिएका छन् ।
राजन यसअघि नै पक्राउ परिसकेको भए पनि परिवारका अन्य सदस्य भने समातिएका छैनन् ।
प्रहरीले भने घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बताउँछ ।
प्रतिक्रिया 4